
राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि सञ्चालित कक्षा १२ को परीक्षामा कोभिड १९ संक्रमण भएर परीक्षा दिन नसकेका विद्यार्थीको परीक्षा आजदेखि सञ्चालन गरेको छ ।
कोभिडका कारण परीक्षा दिन छुटेका ४५ जना विद्यार्थीको परीक्षा बोर्डले सञ्चालन गरेको हो । एक हप्ताभित्र नतिजा प्रकाशन गर्नेगरी बोर्डले परीक्षा सञ्चालन गरेको जानकारी दियो ।
बोर्ड गोप्यसुत्रका अनुसार कक्षा १२ को आज प्रकाशन गर्ने भनिएको नतिजा प्राविधिक कठिनाइका कारण प्रकाशन नहुने भएको छ ।बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर १८ गतेभित्र मात्र सार्वजनिक गर्ने भएको छ । इडियुपत्रले पाएको जानकारी अनुसार सबै काम सकेर प्राविधिक काम भईरहेको भए पनि केही आन्तरिक तयारी नपुगेका कारण आज नतिजा सार्वजनिक नभएको हो । “कुनै प्राविधिक समस्या नआए मङ्सिर १८ गते भित्रै नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेका छौ” बोर्ड स्रोतले भन्यो । बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका भएपनि परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएका थिए ।