After SEE Portal

अध्ययनका लागि क्यानडा जाने विद्यार्थीका लागि दूतावासको सूचना

Bridge Course

अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सचेतनाका लागि क्यानडास्थित नेपाली दूतावासले सूचना जारी गरेको छ । 

सूचनामा विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेज र विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेशका बारेमा पूर्वजानकारी लिएर आवश्यक तयारी गर्नुपर्ने सुझाव दिइएको छ । भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गरी जानकारी लिएर आवश्यक तयारी र सोको प्रबन्ध गरी आउनुपर्ने सूचना उल्लेख छ ।

कलेज र विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ भन्दै सूचनामा डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्ने भनिएको छ । सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ भनी दूतावासले सचेत गरेको छ ।

क्यानडामा अध्ययन गर्ने सोच भएमा धेरै सूचना सम्बन्धित वेबसाइटमा उपलब्ध रहेको चर्चा गर्दै नेपाली दूतावासले पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज र विश्वविद्यालय, ती कलेजरविश्वविद्यालयमा पाइने छात्रवृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्न खान लाग्ने खर्च, हावापानी आदिबारे विद्यार्थी स्वयं वा अभिभावकले यथेष्ट खोजी गरी सुसूचित हुनुपर्ने सल्लाह दिएको छ ।

त्यस्तै केही विषयमा प्रष्ट हुन चाहेमा आफूले चिनेका, सम्पर्कमा रहेका क्यानडामा रहेका इष्टमित्र, साथीभाइ, क्यानडामा अध्ययनरत विद्यार्थी, गैरआवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्था, तिनका पदाधिकारीसँग सम्पर्क गरी थप जानकारी लिन उचित हुने पनि सुझाइएको छ ।

"अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ। पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के कस्ता समस्यासँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ। क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राखेर त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ" सूचनामा भनिएको छ ।

यसैगरी शैक्षिक परामर्शदाता संस्थाहरूले विद्यार्थीहरूको रुची अनुसारको रोजेको विषय पढ्न पाउने गरी गुणस्तरीय कलेज र विश्वविद्यालयको छनौट, पढाइमा दिनुपर्ने समय, कलेज र विश्वविद्यालयको लोकेसन, जीवनयापन खर्च, कामको अवसर, सम्भावना र चुनौति, कार्यघण्टा,थप अध्ययनका अवसर र सम्भावना एवं आवासीय अनुमति आदिबारे कानुन सम्मत, तथ्यपूर्ण र यथार्थपरक सूचना र जानकारी विद्यार्थी र तिनका अभिभावकलाई दिनुपर्ने दूतावासले प्रष्ट गरेको छ । अपर्याप्त, अवास्तविक र यथार्थभन्दा बाहिर बढाइ चढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राख्न सचेत तुल्याइएको छ ।

क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नयाँ नीति लिएको उल्लेख गर्दै त्यहाँस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको तथा त्यसबाहेक निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सोभन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति र वर्क परमिट जारी नगर्ने नीति लिएको जानकारी दिएको छ । 

यस्तै कार्यस्थलमा श्रम शोषण र दुर्व्यवहार र ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानुनी उपचार खोज्नुपर्दछ भन्दै विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा र आउँदा, पैदल हिँड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसँग पालना गर्नुपर्दछ भनिएको छ । 

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो कलेजरयुनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिल, मेन्टल हेल्थ र करिअर काउन्सिल आदिमा सम्पर्क गरी विभिन्न सूचना तथा अवसरबारेमा जानकारी प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

A Levels MA