A Levels MA

शिक्षामन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत हुन सकेन

शिक्षामन्त्री नियुक्त हुन नसक्दा प्राविधिक धारका पाठ्यक्रम स्वीकृत हुन सकेको छैन ।

प्राविधिक धारका कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम तर्जुमा गरिएको छ । यतिबेला विद्यार्थीहरु कक्षा ११ मा धमाधम भर्ना भइरहेका छन् । तर न पाठ्यक्रमको पत्तो छ नत पाठ्यपुस्तकको अत्तोपत्तो छ ।

पाठ्यक्रम विकास केन्द्रका उपसचिव गणेश भट्टराईले भने, “राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को बैठक बस्न नसक्दा प्राविधिक धारका पाठ्यक्रम स्वीकृत हुन सकेको छैन । परिषद्को अध्यक्षता शिक्षामन्त्रीले गर्नुपर्ने भएकाले सो रोकिएको हो ।”

नयाँ सरकार गठनपछि शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिएका छन् । शिक्षामन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्को बैठक डाकेर बाधा अड्काउ फुकाउ गर्न समस्या नभए पनि हालसम्म त्यस्तो चलन नभएकाले नयाँ शिक्षामन्त्रीको प्रतीक्षा गर्नुपर्ने भनाइ केन्द्रका पदाधिकारीहरुको छ ।

प्राविधिक धारका कक्षा ११ र १२ का पाठ्यक्रम तयार भइसकेको छ । त्यसमा ४० प्रतिशत सैद्धान्तिक र बाँकी ६० प्रतिशत प्रयोगात्मक विषय समेटिएको छ । यस वर्ष कक्षा ११ का विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने हुन्छ भने कक्षा १२ मा आगामी वर्षबाट लागू हुनेछ ।

बजेट अभावले गाँज्यो

बजेट अभावले पाठ्यपुस्तक तयारीमा निकै समस्या पर्ने गरेको छ । यसले गर्दा धेरै विषयका पाठ्यपुस्तक सरकारले छाप्न नसक्दा विद्यार्थीले निजी प्रकाशकले छापेका चर्काे मूल्यका सन्दर्भ सामग्री किन्न वाध्य भएका छन् । 

गत वर्ष कक्षा ११ को नयाँ पाठ्यपुस्तक र यस वर्ष कक्षा १२ मा नयाँ पाठ्यपुस्तक अध्यापन गरिँदैछ । गत वर्ष बजेट अभावकै कारण पाठ्यक्रम विकास केन्द्रले गणित विषयको पाठ्यपुस्तक प्रकाशित गर्न सकेन । यस वर्ष जनक शिक्षा सामग्री केन्द्रले सो विषयको पाठ्यपुस्तक आफैले तयार गरी छाप्ने भएको छ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले पाठ्यक्रम विकास केन्द्रले रकम अभाव भएको भनेपछि आफूहरुले लेखकहरुको खर्च व्यहोरेर तयार गर्न लगाइएको बताउँदै भने, “गणित विषयका पाठ्यपुस्तकको लेखन कार्य भइरहेको छ । लेखन कार्य सक्किए लगत्तै छाप्नेछौँ ।”

२०७५ साल कात्तिक १५ गते तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जनक शिक्षालाई कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने तथा निजी मुद्रकलाई कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने अधिकारको निर्णय गरेका थिए । 

बजेट अभावको कारण देखाउँदै पाठ्यक्रम विकास केन्द्रले अनिवार्य विषयका पाठ्यपुस्तक समयमा तयार नगरिदिँदा निजी प्रकाशकले सन्दर्भ सामग्री बजारमा ल्याएका छन् जसले गर्दा जनक शिक्षा घाटामा जाने अर्काे कारण बन्ने गरेको छ । गत वर्ष कक्षा ११ को अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा छापेको जनक शिक्षालाई कक्षा १२ को हालसम्म नेपाली विषयको मात्र छाप्न दिइएको छ । निजी प्रकाशकले सो कक्षाको गणित, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाका सन्दर्भ सामग्री बजारमा ल्याइसकेका छन् । निजीले सन्दर्भ सामग्री भने पनि पाठ्यक्रमकै आधारमा लेख्ने भएकाले तिनलाई पाठ्यपुस्तक नै भन्न सकिन्छ । जनक शिक्षाले छाप्दासम्ममा विद्यार्थीहरुले निजीका किनिसकेका हुन्छन् ।

नेपाली र अङ्ग्रेजी विषयमा प्रसिद्ध साहित्यकारहरुद्वारा सिर्जित कथा, कविता, निबन्ध आदि समावेश हुने भएकाले यी विषयका सन्दर्भ सामग्री तयार गर्न अनुमति दिने गरिएको छैन ।

पाठ्यक्रम विकास केन्द्रका उपसचिव गणेश भट्टराईले कक्षा ११ र १२ मा ऐच्छिक विषय १०४ वटा रहेको बताउँदै भने, “ती सबै विषयका पाठ्यपुस्तक तयार गर्न बजेट अभावका कारण सम्भव भएको छैन । त्यसैले सन्दर्भ सामग्रीका रुपमा तयार गर्न निजी प्रकाशकलाई दिनुबाहेक विकल्प छैन ।” 

Thuprai - Books and E-books