एसईईमा दृष्टिविहीन र प्राविधिक धारका परीक्षार्थीलाई सहज

दृष्टिविहीन विद्यार्थीले आफू अध्ययन गरेकै विद्यालयबाट एसईईमा सम्मिलित हुन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले यसपटकबाट यस्तो व्यवस्था गर्दैछ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले दृष्टिविहीन विद्यार्थीका लागि स्रोतकेन्द्र सञ्चालन भइरहेका विद्यालयलाई नै उपकेन्द्र कायम गरी परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

“यस्तो व्यवस्थाले दृष्टिविहीन विद्यार्थीलाई निकै सहज हुनेछ । अर्काे परीक्षा केन्द्रमा जाँदा त्यहाँको परिवेस र वातावरण बुझ्न कठिन हुन्छ । त्यसैले उनीहरुलाई सजिलो बनाइदिन खोजेका छौँ” उनले भने ।

त्यस्ता विद्यार्थी करिब ५० जना हुनसक्ने अनुमान गरिएको छ । त्यस्ता विद्यालय सङ्ख्याका बारेमा पनिकासँग जानकारी उपलब्ध भइसकेको छैन । विगतमा होम सेन्टर राख्न नपाउने व्यवस्थाका कारण दृष्टिविहीन परीक्षार्थीले अन्य परीक्षा केन्द्रमा गई परीक्षामा सम्मिलित हुनुपथ्र्याे ।

यसैगरी यसपटकबाट प्राविधिक धारका परीक्षार्थीले नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

विगतमा यस्ता विद्यार्थीका लागि जिल्लामा एउटा परीक्षा केन्द्र कायम गरिन्थ्यो र सबै परीक्षार्थी जिल्ला सदरमुकाम आएर परीक्षा दिनुपर्ने हुँदा कतिपयले डेरा नै लिएर बस्नुपर्ने अवस्था थियो ।

परीक्षा नियन्त्रक श्रेष्ठले भने, “प्राविधिक धारका परीक्षार्थी टाढा टाढाबाट परीक्षा केन्द्रमा आउनुपर्ने वाध्यता अन्त्य गर्न खोजेका छौँ । उनीहरुका लागि साधारणधारका विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिनेछ । यसले गर्दा परीक्षा दिन जिल्ला सदरमुकाम आइराख्नुपर्ने छैन ।”

पनिकाले अनिवार्य विज्ञान विषयका लागि पनि एक दिन बिदा दिएको छ । अनिवार्य विज्ञान विषयको परीक्षा चैत २२ गते छ । चैत २१ गते कुनै पनि परीक्षा राखिएको छैन । विशेष गरी अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञानमा सबैभन्दा कमजोर नतिजा आउने भएकाले त्यसरी बिदा दिइएको हो ।

२०७९ सालको एसईई चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुँदैछ । परीक्षा विहान ८ बजेबाट सुरु हुनेछ । 

यो वर्ष पुरानो पाठ्यक्रमको अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि कक्षा १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ ।

परीक्षा नियन्त्रक श्रेष्ठले अनिवार्य विषयमा प्रश्नपत्रका समानान्तर सेट तयार गरिएको जानकारी दिए । कठिनाइस्तर समान तर प्रश्न फरक रहेका प्रश्नपत्र प्रादेशिकस्तरमा समानान्तर रहेको छ ।

उनले उपत्यकाबाहेक सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका जानकारी दिए ।

परीक्षामा पाँच लाख १६ हजार ५७७ जना सहभागी हुँदैछन्र । यसका लागि देशभर दुइ हजार ३७ परीक्षा केन्द्र कायम गरिएकाे छ ।

Thuprai - Books and E-books