A Levels MA

रोकिएन प्रिरजिष्ट्रेसन

काठमाडौँ महानगरपालिकाको निर्देशनको अवज्ञा गर्दै निजी विद्यालयहरुले कक्षा ११ मा भर्ना कार्य अझै रोकेका छैनन् ।

प्रिरजिष्ट्रेसनका नाममा विद्यार्थीको स्थान सुरक्षित राख्ने भन्दै अमुक रुपमा भर्ना लिँदै आएको बारेमा ईडीयूपत्र डटकमले समाचार सार्वजनिक गरेपछि काठमाडौँ महानगरपालिकाले एसईईको नतिजा सार्वजनिक नहुञ्जेल भर्नासम्बन्धी क्रियाकलाप अगाडि नबढाउन निर्देशन दिएको थियो । कामपाको सो निर्देशनका कारण अभिभावकलाई अब विद्यालयसम्म पुग्नुपर्दैन, घरैबाट ईबैँकिङ् सेवाबाट रकम बुझाउनुपर्ने सुविधा विद्यालयहरुले दिएका छन् ।

बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आफ्ना छोरालाई प्रिरजिष्ट्रेसन गराउन फोन आएको बताउँदै एक अभिभावकले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “महानगरपालिकाले अहिले भर्ना नगर्नू भनेकाले तपाईँहरु कलेज आउनुपर्दैन, घरैबाट ईबैँकिङ् सेवाबाट कलेजको खातामा रकम जम्मा गरिदिनुहोला भनेर फोन आएको छ ।” उनले कलेजले ३० हजार रुपियाँ जम्मा गर्न भनेको सुनाए ।

यो प्रवृत्ति देशैभरि झाङ्गिएको छ । भरतपुर महानगरपालिकाले यस कार्यलाई रोक्न अनुगमनलाई सक्रिय बनाएको छ । सो महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले भरतपुर–१० स्थित अर्किड मावि र भरतपुर–४ स्थित बाल्मीकी माविले भर्ना गरिरहेको फेला पारेर स्पष्टीकरण सोधिएको जानकारी दिए ।

उनका अनुसार ती विद्यालयले कक्षा ११ मा नयाँ भर्नाका लागि प्रतिविद्यार्थी पाँच हजार रुपियाँ उठाइरहेको र दुवैले करिव ५० जना विद्यार्थी भर्ना गरिसकेका थिए । “चार वटामा म आफै गएर अनुगमन गरेको थिए । तीमध्ये दुई वटामा यस्तो कार्य गरिरहेको फेला पारे । उनीहरुलाई अभिभावकसँग लिएको रकम तत्काल फिर्ता गर्न निर्देशन दिएका छौँ” उनले भने, “अनुगमन जारी छ । दुई वटा विद्यालयमाथि कारवाही प्रक्रिया अगाडि बढाइएकाले अरुले आँट गर्न सकेका छैनन् ।”

 

Thuprai - Books and E-books