कक्षा १२ को परीक्षा मङ्सिरमा

कक्षा १२ को परीक्षा आगामी मङ्सिरको दोस्रो साताबाट सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जानकारी दिँदै भने, “छठ लगत्तै परीक्षा सञ्चालन गरिनेछ ।” 

परीक्षाका लागि विभिन्न तीन विधिलाई अपनाइने भएको छ । उनका अनुसार ४० प्रतिशतका लागि छोटो परीक्षा सञ्चालन गरिने, ४० प्रतिशत कक्षा ११ कै मूल्याङ्कनलाई गणना गरिने र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई समावेश गरिनेछ । विद्यार्थीको हाजिरी, विद्यालयले बेलाबखत लिएको आन्तरिक फरीक्षा, गृहकार्य, अतिरिक्त त्रियाकलाप आदिलाई आन्तरिक मूल्याङ्कनको आधार बनाइने छ र यसका लागि फाराम तयार गरी विद्यालयमा पठाइने भएको छ ।

बोर्डका अध्यक्ष डा. पौडेलले लिखित ४० प्रतिशतको प्रश्नपत्रको ढाँचालाई विगतकोभन्दा खुम्च्याइने बताए । “कार्यविधि तयार गर्दैछौँ” उनले थपे, “दसैँको विदा अगावै परीक्षा तालिका सार्वजनिक गर्नेछौँ ।”

उनले विद्यार्थीलाई तिहारपछि विद्यालयसम्म फिर्ता हुनका लागि समय दिने उद्देश्यले आगामी मङ्सिरमा परीक्षा सञ्चालन गर्न लागिएको बताए । उनले लिखित परीक्षा कक्षाकोठाभित्र सञ्चालन गरिने स्पष्ट गरे ।

“परीक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम गरिनेछ” बोर्डका अध्यक्ष डा. पौडेलले भने, “दुई मिटरको दूरीमा परीक्षार्थीलाई राखिनेछ । एउटा कोठामा बढीमा २० जना विद्यार्थी रहनसक्नेछन् ।”

विगतमा छापेका प्रश्नपत्र अब काम नलाग्ने भएकाले बोर्डले पुनः नयाँ प्रश्नपत्र तयार गर्नेछ । उनका अनुसार समयले भ्याएमा छापिएको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रसम्म पठाइनेछ र नभ्याइने अवस्था रहेमा प्रश्नपत्र पठाउन सूचना प्रविधि लगायतका उपाय अवलम्बन गरिनेछ ।बन्दाबन्दी अघि नै प्रयाेगात्मक अङ्क विद्यालयले पठाइसकेकाेले साेही अङ्कलाइ मान्यता दिइने भएकाे छ । 

 

 

Thuprai - Books and E-books