After SEE Portal

बालबालिका अझै विकासको लयबाहिरः युनिसेफ

Bridge Course

कोभिड-१९ महामारीबीच नेपालका २ देखि ४ वर्ष उमेर समूहका प्रत्येक पाँच जना बालबालिकामध्ये एक जना विकासको लयभन्दा बाहिर रहेको युनिसेफको नयाँ तथ्याङ्कले जनाएको छ महामारीले विशेष गरी बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको छ।

अगस्ट महिनामा गरिएको प्रारम्भिक बाल विकास सूचकांक (इसिडिआइ) सर्वेक्षणले देखाएअनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताहरूको देखभालमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका विकासको लयभन्दा टाढिने उच्च जोखिममा रहेका छन्।

प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका माझ पनि, निजी कार्यक्रममा भाग लिनेको तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिनेहरु विकासको लयभन्दा बाहिर हुने अधिक जोखिममा थिए । सर्वेक्षण फोनमा आधारित हो । २ देखि ४ वर्ष उमेर समूहका बालबालिकाको विकास आवश्यकता र स्थिति बुझ्नको लागि राष्ट्रव्यापी रूपमा यो सर्वेक्षण बालबालिका भएका दुइ हजार ८५३ घरधुरीमा गरिएको थियो ।

हेरचाहकर्तासँग किताब पढ्ने, कथा सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलाप उनीहरूको विकास र सिकाइको लागि महत्त्वपूर्ण भएको पाइयो । यद्यपि, तथ्याङ्कले पूर्वमहामारी अवस्थाको तुलनामा अभिभावकको संलग्नतामा कमी आएको खुलासा गरेको छ । गतिशील अवस्थाअन्तर्गत र विशेष गरी अगस्ट २०२१ मा निषेधाज्ञा खुकुलो पार्दा मानिसहरूको जीवन प्रभावित भएको समयमा, २०१९ मा  ७३ प्रतिशतको तुलनामा २०२१ मा ३१ प्रतिशत बालबालिकाले मात्रै घरमा यस्ता प्रारम्भिक क्रियाकलापमा सङ्लग्न भएका थिए । अक्टोबर महिनामा गरिएको थप सर्वेक्षणअनुसार कडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाहरूको संलग्नतामा सुधार भएको देखियो । यद्यपि, सामाजिक मानक कायम राख्दै, बुबाहरूको अभिभावकत्वको संलग्नता भने न्यून (६ प्रतिशत) कायम रह्यो।  

सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ । यद्यपि, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिबाट सिकाइमा संलग्न भएका थिएनन् । धेरै जसो बालबालिकाको घरमै ट्यूसनमा पहुँच थियो, जबकि अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षण जस्ता सरकारको आपतकालीन कार्ययोजनाद्वारा निर्दिष्ट वैकल्पिक सिकाइ माध्यम कम प्रयोग भएका थिए । रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाइ जस्ता न्यून प्रविधिसहितका समाधान पनि कम मात्रै प्रयोग भए । अनलाइन कक्षा जस्ता उच्च प्रविधिसहितका समाधान निजी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिकाबीच मात्र प्रयोगमा आयो । कम प्रविधिसहितका समाधान र उच्च प्रविधिसहितका समाधानमा असमान पहुँचले गर्दा निजी प्रारम्भिक बाल शिक्षामा र अन्य बालबालिकाबीचको विकासात्मक अन्तर देखिएको हुनसक्छ ।

सबै बालबालिकाले आफ्नो विकासका सम्भावना महसुस गर्न र थप सिक्नको लागि तयार हुने कुरा सुनिश्चित गर्न, सर्वेक्षणको नतिजाको आधारमा, युनिसेफले सरकार, विकास साझेदार, शिक्षक, अभिभावक र अन्य सरोकारवालालाई निम्न कुराहरू गर्न आह्वान गरेको छ :

  • उपचारात्मक सिकाइको लागि प्रभावकारी हस्तक्षेपमार्फत विकासको लयभन्दा बाहिर हुने उच्च जोखिममा रहेका बालबालिकालाई लक्षित गर्ने। ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको देखभालमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा सहभागी नभएका बालबालिका वा सरकारी सहयोगमा चलेका प्रारम्भिक बाल शिक्षा कार्यक्रममा भाग लिने बालबालिकालाई विशेष ध्यान दिनु आवश्यक छ ।

 

  • घर र विद्यालयमा सिकाइलाई सक्षम बनाउन प्रयोगकर्तामैत्री मूल्याङ्कन तथा पढाइ सिकाइ निर्देशिकामार्फत प्रत्येक बालबालिकाको व्यक्तिगत विकास र सिकाइस्तर बुझ्न शिक्षक र अभिभावकलाई सहयोग पुग्ने प्रणालीको विकास गर्ने। 

 

  • विद्यालय बन्द हुने समयमा राष्ट्रिय आपतकालीन कार्ययोजनामा ​​तोकिएका वैकल्पिक सिकाइ माध्यम प्रयोग गर्ने । तथ्याङ्कले यी सिकाइ माध्यमको प्रभावकारिता देखाए पनि परिवारद्वारा यी माध्यम कम प्रयोग भएको कुरा पनि देखाउँछ ।

 

  • आमाबाबु र हेरचाहकर्ताले घरमा बालबालिकाको सिकाइलाई सहयोग गर्न चाहिने निरन्तर प्रोत्साहन र मार्गदर्शन पाउने गरि, बाबुको संलग्नतामा ध्यान केन्द्रित गर्दै, गर्भधारणको अवस्थाबाट नै सुरु हुने गरी बहु-क्षेत्रीय सहकार्यमार्फत अभिभावक शिक्षालाई सुदृढ बनाउने ।

 

  • अभिभावकले बालमैत्री पुस्तकहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, बालबालिकालाई घुमाउन लैजाने, उनीहरूसँग खेल्ने, वस्तुहरूको नामकरण गर्ने, चिजहरू गन्ने वा सँगै चित्र कोर्ने जस्ता गतिविधि गरेर बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलापमा वृद्धि गर्ने ।

 

A Levels MA
Thuprai - Books and E-books