
मधेश प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार र शिक्षकको पेसागत क्षमता अभिवृद्धिका लागि सञ्चालित टेक्सेस परियोजनाले मधेश प्रदेशमा आफ्नो कामलाई गति दिएको छ ।
टेक्सेस परियोजना अन्तर्गत सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा शिक्षकको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी क्षमता विकासका लागि भएको अभिमुखीकरणमा विज्ञले परियोजनाले मधेश प्रदेशको शिक्षा क्षेत्रमा सुधारका लागि गरिएको कामको प्रशंसा गरेका थिए ।
शिक्षक र विभिन्न पालिकाका शिक्षा शाखा प्रमुखलाई शिक्षकको कार्यसम्पादन मूल्याङ्कनमा देखिएका त्रुटि न्यूनीकरणका लागि प्रशिक्षण दिइएको थियो । मधेश प्रदेशका जिल्लामा अधिकांश सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर भएको र शिक्षकहरू योग्य भए पनि शिक्षणमा ध्यान नदिने गरेको गुनासो समेत सुनिने गरेको समयमा शिक्षकलाई पठनपाठन प्रति प्रोत्साहित गर्न परियोजनाले यस प्रकारको अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको प्रशिक्षक हरिप्रसाद निरौलाले जानकारी दिनुभयो ।
प्रशिक्षणका क्रममा शिक्षकको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी नीतिगत व्यवस्था र अभ्यास, विद्यमान समस्या र चुनौती समाधान बारेमा छलफल गरिएको थियो । नेपाल सरकारसँगको समन्वय, फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक सहयोगमा सुरु भएको परियोजनाले नमुनाका रूपमा मधेशप्रदेशका आठ जिल्लाका आठ पालिकामा कार्यक्रम सञ्चालन गरिरहेको टेक्सेस परियोजना मधेश प्रदेशका प्रमुख मन्दिरा न्यौपानेले जानकारी दिनुभयो ।
परियोजनाले मधेश प्रदेशको सप्तरीको बलानबिहुल, सिराहाको बरियारपट्टी, बाराको सुवर्ण र पर्सा कोठोरी गाउँपालिका, धनुषाको धनुषाधाम, महोत्तरीको रामगोपालपुर, सर्लाहीको बलरा, रौतहट जिल्लाको कटहरिया नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सुधार सुरु गरेको जनाएको छ । त्यसका शिक्षकको क्षमता विकास, सेवाकालीन तालिम, आधुनिक शिक्षणसामग्रीको व्यवस्थापन र आवश्यकता अनुसार आधुनिक प्रशिक्षण केन्द्र स्थापना गरी सञ्चालनका लागि सहयोग गर्ने छ ।




