सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिने

मधेश प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र शिक्षकको पेसागत क्षमता विकासका लागि सञ्चालित टेक्सेस परियोजनाले आफ्नो कामलाई तीव्रता दिएको छ। परियोजनाअन्तर्गत सोमबार जनकपुरधाममा शिक्षकको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विज्ञहरूले मधेश प्रदेशको शैक्षिक सुधारका लागि परियोजनाले गरिरहेको कामको प्रशंसा गरेका थिए।
कार्यक्रममा शिक्षक र विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई कार्यसम्पादन मूल्याङ्कनमा देखिएका त्रुटि कम गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षक हरिप्रसाद निरौलाका अनुसार शिक्षकलाई पठनपाठनप्रति थप जिम्मेवार र प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रशिक्षणमा कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी नीतिगत व्यवस्था, अभ्यास, विद्यमान समस्या र समाधानका उपायबारे छलफल गरिएको थियो।
नेपाल सरकारसँगको समन्वयमा फिनल्यान्ड सरकार र युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले मधेश प्रदेशका आठ जिल्लाका आठ स्थानीय तहमा नमुनाका रूपमा कार्यक्रम सञ्चालन गरिरहेको परियोजनाकी प्रदेश प्रमुख मन्दिरा न्यौपानेले जानकारी दिइन्।
परियोजनाले सप्तरीको बलानबिहुल, सिराहाको बरियारपट्टी, बाराको सुवर्ण, पर्साको कोठोरी, धनुषाको धनुषाधाम, महोत्तरीको रामगोपालपुर, सर्लाहीको बलरा र रौतहटको कटहरिया नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिरहेको छ। यसअन्तर्गत शिक्षकको क्षमता विकास, सेवाकालीन तालिम, आधुनिक शिक्षण सामग्रीको व्यवस्थापन तथा आवश्यकताअनुसार आधुनिक प्रशिक्षण केन्द्र स्थापना र सञ्चालनमा सहयोग गरिनेछ।