अतिरिक्त गणित अघिल्लो वर्ष नै परिमार्जन

कक्षा ९ र १० मा पढाइ हुने अतिरिक्त गणित गत वर्ष नै परिमार्जन भएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दियो । परिर्माजित पाठ्यक्रम अनुसार यो वर्षदेखि नै पठनपाठन  भइरहेको छ ।

केन्द्रका अनुसार विद्यालय तहको सबै कक्षाको पाठ्यक्रम २०८० सम्ममा परिवर्तन गर्ने गरी काम अघि बढाएको छ । यसका लागि केन्द्रले गत वर्षदेखि नै कार्यारम्भ गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराइले जानकारी दिए । ‘कक्षा ९ र १० को अतिरिक्त गणितको पाठ्यक्रम हामीले अघिल्लो वर्ष नै परिमार्जन गरेका छौं ।’ निर्देशक भट्टराइले भने, ‘हामीले २०७६ पुस ९ गते सार्वजनिक गरेको सूचनामा यो वर्ष परिवर्तन गरेका पाठ्यपुस्तकको मात्र नाम सार्वजनिक गरेका हौं, अघिल्लो वर्ष नै परिमार्जन गरेर कार्यान्वयनमा ल्याइसकेको पाठ्यपुस्तक नयाँ शैक्षिक सत्र २०७७ देखि लागु हुँदै छ भन्ने कुरै भएन ।’ पुस ९ गतेको सूचनाका आधारमा वास्तविकता नै नबुझी केही संचार माध्यमले अनग्रल हल्ला गरेको उनले बताए ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को अनुसूची १ को (क) को (अ) को एक नम्बरमा ऐच्छिक प्रथम पत्र अन्तर्गत गणितलाई राखिएको निर्देशक भट्टराइले जानकारी दिए ।

भट्टराइका अनुसार ऐच्छिक पहिलो पत्रमा गणित, बजारशास्त्र, वाणिज्य गणित, हिब्रू, हिन्दी,प्राकृतिक चिकित्सा, आर्युवेद लगायत ४२ वटा विषय निर्धारण गरिएको छ । यो समूहबाट विद्यार्थीले आफूले चाहेको विषय पढ्न पाउने छन् । तर यी कक्षा १० सम्म परिमार्जित पाठ्यक्रमले निर्धारण गरेको विषय विद्यार्थीले २०८० भित्र मात्र सबै पढ्न पाउने केन्द्रले जानकारी दियो । त्यस्तै पाठ्यक्रमले ऐच्छिक दोस्रो पत्रमा कम्प्युटर विज्ञान, वास्तुकला,केशकला लगायतका ३५ विषयलाई समेटेको छ ।

केन्द्रले आधारभूत शिक्षा (कक्षा १-३) को एकीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक सार्वजनिक गरिसकेको छ । सिकाइका क्षेत्रका आधारमा बहु विषयात्मक तथा अन्तरविषयगत पहिचान ढाँचामा पाठ्यक्रम तयार गरिएको केन्द्रले जानकारी दियो ।

आधारभूत तह कक्षा १-३ मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, सिर्जनात्मक मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू निर्धारण गरी पाठ्यक्रम् तयार पारिएको निर्देशक भटराइले जानकारी दिए । एकीकृत सिद्वान्तअनुसार विषयसम्बन्धी क्रियाकलाप, पाठ्यघण्टा र वार्षिक कार्य घण्टा निर्धारण गरिएको उनले बताए । पाठ्यक्रम अनुसार कक्षा१-३ मा साप्ताहिक पाठ्यघण्टा २६ र वार्षिक कार्यघण्टा ८३२ निर्धारण गरेको छ ।

नयाँ पाठ्यक्रम कक्षा१ र ११ मा शैक्षिक सत्र २०७७ मा लागु हुने छ भने २०७८ मा कक्षा६ मा लागु गरिने केन्द्रले जानकारी दियो ।

 

Thuprai - Books and E-books