After SEE Portal

त्रिविका पुस्तक पचाउनेहरू होसियार !

Bridge Course

मधेसवादी नेतृ सरीता गिरीलाई पुस्तक फिर्ता गरिदिन आग्रह गर्दागर्दा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका कर्मचारीहरू थाकिसके । विद्यार्थीकालमा उनले तीन वटा पुस्तक लिएर गएकी थिइन् । कर्मचारीहरू गुनासो गर्छन्, “धेरैपटक फोन गरिसक्यौँ, प्रत्यक्ष भेट्यौँ, हुन्छ भन्नुहुन्छ तर फिर्ता दिनुहुन्न ।”

उनीमात्र होइनन्, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य किशोरकुमार गुरुघराना, सांसद मोहनबहादुर बस्नेत लगायत राजनीतिक तथा सार्वजनिक ओहोदामा पुगेका थुप्रै व्यक्तिको नाम पुस्तक फिर्ता नगर्नेहरूको फेहरिस्तमा छ । समय समयमा पुस्तकालयका कर्मचारीहरूले सम्झाउनका लागि फोन गर्छन् तर फिर्ता ल्याइदिँदैनन् ।

विद्यार्थी छँदा पुस्तक लिएर फिर्ता नगर्नेहरूमा योजनाविद्देखि राजनीतिक दलका नेतासम्म छन् । निकै ताकेता गरेपछि राजनीतिज्ञ कमल थापाले लिएर गएको इन्डो नेपलिज रिलेसन शीर्षक पुस्तक बुझाएका छन् । अर्का पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पनि बल्लतल्ल पुस्तक बुझाउन पुस्तकालयसम्म पुगे । केही समयअघि निधन भएका प्रसिद्ध ज्योतिष डा. मङ्गलराज जोशीले लिएर गएका पुस्तकलाई सोही पुस्तकालयको आग्रहमा उनका छोराले फिर्ता गरिदिएका छन् ।

पुस्तक फिर्ता नगर्ने रोग झाँगिएपछि पुस्तक नबुझाउनेहरुको तीन पुस्ते नाम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने निचोडमा त्रिवि केन्द्रीय पुस्तकालय पुगेको छ । पुस्तक लिएर लामो समयसम्म बुझाउन अटेर गर्नेहरुको नाम सार्वजनिक गरिने भएको हो । केन्द्रीय पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले पुस्तक बुझाउनका लागि निकैपटक ताकेता गरिएको तर अटेर गरेकाले नाम सार्वजनिक गर्न आफूहरू बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।

पुस्तक नबुझाउनेहरु सन् १९७२ देखिका नै छन् । त्रिविका प्राध्यापकहरुले समेत पुस्तक लगेर बुझाएका छैनन् । त्रिवि केन्द्रीय पुस्तकालयबाट आठ हजारभन्दा बढीले पुस्तक बुझाएका छैनन् । सो पुस्तकालयसँग चार लाख पाँच हजार पुस्तक छन् । ती पुस्तक खरिद गरिएका र केही उपहार प्राप्त भएका हुन् ।

पुस्तकालय सहायक सविता केसीले विद्यार्थीकालमा पुस्तक लगेर नबुझाएकाहरू पनि त्रिविकै प्राध्यापकसम्म भएको बताउँदै प्राध्यापकहरू अवकास हुँदा निवृत्तिभरणका लागि पुस्तकालयको ‘क्लियरेन्स’ आवश्यक पर्ने नियम बनाइएपछि आफूले लिएर गएका पुस्तक बुझाउन थालेको बताइन् । विद्यार्थी वा अनुसन्धानकर्तालाई दुई वटासम्म पुस्तक दिने गरिएकोमा प्राध्यापकलाई भने सात वटासम्म पुस्तक दिइने गरिएको छ ।

केही वर्षअघि परीक्षा नियन्त्रण कार्यालयबाट शैक्षिक प्रमाणपत्र लिँदा पुस्तकालयबाट पुस्तक नलिएको प्रमाणित गराउनुपर्ने नियम बनाइएपछि विद्यार्थीले पुस्तक पचाउने क्रममा कमी आएको छ । पुस्तकालय स्थापना भएको ६० वर्ष भए पनि २०२४ सालमा कीर्तिपुरमा सारिएको थियो ।

 

A Levels MA