A Levels MA

एजिङ् नेपाललाई युनेस्को पुरस्कार

जेष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ् नेपाल नामक संस्थाले युनेस्को किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ । सो पुरस्कारको राशी २० हजार अमेरिकी डलर रहेको छ । 

सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वर्ल्ड स्कुल नामक संस्थाले पनि पाएको छ । सो पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेको थियो । कोरियाका चौथो राजा सेजोङको नाममा सो पुरस्कार स्थापित भएको हो । पुरस्कार सन् १९८९ मा स्थापना भएको हो ।

युनेस्को मुख्यालयले साक्षरताका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरुलाई बर्सेनि किङ् सेजोङ् र कन्फ्युसियस पुरस्कार प्रदान गर्दै आएको छ । झण्डै दशकअघि शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारिक शिक्षा केन्द्रले कन्फ्युसियस पुरस्कार पाइसकेको थियो । मुलुक सङ्घीयतामा गइसकेपछि अनौपचारिक शिक्षा केन्द्र खारेज भइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्क्रालयमा आज आयोजित कार्यत्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण गरे ।

सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाली संस्थाले विश्वका संस्थाहरुसँग प्रतिस्पर्धा गरी पुरस्कार जित्नु गौरव र प्रतिष्ठाको विषय भएको बताए ।

एजिङ् नेपाल नामक संस्थाले जेष्ठ नागरिक आधारभूत शिक्षा पाठ्यक्रम समेत तयार गरी जेष्ठ नागरिकलाई साक्षर बनाउँदै आएको छ । संस्थाले बूढानीकण्ठ, गोकर्णेश्वर लगायत स्थानमा अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले हालसम्म १८० जना महिलालाई साक्षर बनाइसकेको छ ।

Thuprai - Books and E-books