After SEE Portal

वार्तामा आउन असन्तुष्ट पक्षलाई त्रिविको आग्रह

Bridge Course

साउन पाँच गतेदेखि फरकफरक समयमा विज्ञप्ति प्रकाशन गर्दै पदाधिकारी कार्यकक्षमा ताला लगाउने तीनै संघसंगठनलाई त्रिभुवन विश्वविद्यालयले वार्तामा आउन आग्रह गरेको छ ।

लामो समय पदाधिकारी कार्यकक्ष बन्द रहँदा विश्वविद्यालयको गरिमामा आँच आउने हुँदा उत्पन्न समस्यालाई वार्ता र छलफबाट हल गर्ने उद्देश्यले त्रिविले वार्ताका लागि आव्हान गरेको शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले जानकारी दिए ।

‘विज्ञप्ति पेश गर्ने र तालाबन्दी गर्ने सबै पक्षहरूलाई तालाबन्दी खोली वार्तामा आउन र सोही माध्यमबाट समस्या समाधान तर्फ पहल गर्न सबैलाई सार्वजनिक आग्रह गरिसकेका छौं ।’ शिक्षाध्यक्ष भुसालले भने, विश्वविद्यालयको संस्थागत सुधार र प्राज्ञिक उन्नयनका लागि जुनसुकै विषयमा छलफल गर्न तयार छौं ।’

पदाधिकारी कार्यकक्षमा गरिएको तालाबन्दीका कारण त्रिविको आगामी आर्थिक बर्षको बजेट तर्जुमा र वितरण, आगामी परीक्षाहरुको तयारी र नतिजा प्रकाशन, थेसिस र भाइभा, समकक्षता निर्धारण, लेखापरीक्षण लगायत अन्य प्रशासनिक कार्य अवरुद्ध भएको छ ।

बन्दका कारण त्रिवि सेवा आयोगमा लामो समयदेखि रोकिएका नतिजा प्रकाशन तथा विज्ञापन सम्बन्धी कार्य अवरुद्ध भएको त्रिविले जनाकारी दियो ।

प्राध्यापकबाटै गरिएको बन्दका कारण कतिपय शिक्षक बढुवाको अवसरबाट बञ्चित भएको हुँदा वार्ताको निम्ति सकारात्मक वातावरण बनाउने त्रिविले सरोकारवालाई आग्रह समेत गरेको छ ।

जेष्ठता वरिष्ठता, प्राज्ञिक र विश्वसनीयताको आधारमा पदाधिकारी, डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघले साउन ५ गतेदेखि तीन पदाधिकारी र सेवा आयोगको मूल गेटमा अनिश्चित्कालीन तालाबन्दी गरेका थिए ।

संघको तालाबन्दी सँगै नेविसंघ र लोकतन्त्रवादी प्राध्यापक संघले समेत त्रिवि पदाधिकारी र सेवा आयोगको कार्यालयमा तालबन्दी गरेका छन् ।

त्रिवि कार्यकारीले शुक्रबार शिक्षा, मानविकी र इन्जिनियरिङ अध्ययन संस्थानमा डीन नियुक्ति गरेको भोलि पल्ट नेविसंघले डिन कार्यालयमा तालाबन्दी गरेको थियो ।

त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियमावली २०५० ले व्यवस्था गरेको आचरण सम्बन्धी परिच्छेदमा कर्मचारीले बन्द हडताल गर्न नपाइने व्यवस्था गरेको छ ।

त्रिविले लामो समयदेखि पदाधिकारी कार्यकक्ष बन्द हुँदा सम्म आफ्नै कर्मचारीलाई कारबाही गर्ने हिम्मत गर्न सकेको छैन । त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले तालाबन्दी खोल्ने विषयमा छलफल भइरहेको जानकारी दिए । आन्दोलनरत तीनै समूहले उपकुलपति तथा पदाधिकारीहरुले चासो नदेखाउँदा ताला खुल्न नसकेको बताउँदै आएका छन् ।

के गर्दै छ त्रिवि ?

अहिले त्रिविले बैकल्पिक सिकाइ व्यवस्थापन गरेको छ । अनलाइन कक्षालाई व्यवस्थित गर्दै अहिलेसम्म करीब १ लाख शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाई अनलाइन मार्फत् जोडेको छ ।

करीब ४ हजार शिक्षकहरू र २०० कर्मचारीहरूलाई तालिम सञ्चालन गरी माइक्रोसफ्ट टिमबाट अनलाइन कक्षा सचालन गरिएको शिक्षाध्यक्ष भुसालले जानकारी दिए ।

कोभिड १९ का कारण स्थगित परीक्षालाई पुनः सञ्चालन गर्न विज्ञ सहितको समितिको सिफारिसमा परीक्षाको तयारी गरिरहेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books