After SEE Portal

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ‘टिचर कलेज कार्यक्रम’ सुरु

Bridge Course

काठमाडौं महानगरपालिका  र काठमाडौं विश्वविद्यालयको सहकार्यमा ‘टिचर कलेज कार्यक्रम’ सुरु भएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तालिम प्रदान गरी शिक्षकको वृत्ति विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सुरु भएको हो ।

महानगरपालिकाको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ मार्फत यो कार्यक्रम सञ्चालनमा आएको छ ।

शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपियाँ महानगरले विनियोजन गरेको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । यसमध्ये पुस्तकरहित शुक्रबार, शिक्षामा सिप, प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गर्न विद्यालयका लागि करिब २८ करोड रुपियाँ छुट्याएको उनले बताइन् ।

यी कार्यक्रमको साझेदार विश्वविद्यालयलाई २ करोड ९५ लाख रुपैयाँ प्रदान गर्ने उनले जानकारी दिइन् । ‘शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र शिक्षकमा गरिएको यो लगानी सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक प्रमाण पत्र, सिप र आचरणबाट फिर्ता हुने अपेक्षा गरेका छौँ ।’ उनले भनिन्, ‘‘यस अघि सबैका लागि शिक्षा भन्दै आएका थियौँ । अब सबैका लागि गुणस्तरीय शिक्षा भन्नुपर्छ । शिक्षा भनेर मात्र नपुग्ने भयो । शैक्षिक क्षेत्रमा देखिएका कमजोरी सुधार गर्न गएको बर्ष शिक्षक र पूर्वाधार केन्द्रीत कार्यक्रम चलाएका थियौँ । यस बर्ष गएको बर्षका कार्यक्रमसँगै विद्यार्थी र शिक्षक केन्द्रीत कार्यक्रम थपेर चलाएका छौँ ।’

विश्वविद्यालयले स्नातक तह उत्तीर्ण शिक्षकले तालिमबाट २७ क्रेडिट पाएपछि पोष्ट ग्राजुएट डिप्लोमा र कुनै विषयमा स्नातकोत्तर उत्तीर्णलाई मास्टर इन एजुकेसन (एमएड) को प्रमाण पत्र दिने केयु स्कूल अफ एजुकेसनका डिीन प्राडा बालचन्द्र लुइटेलले बताए ।

पहिलो चरणमा ३४ जनाले तालिम लिइसकेका छन् । सो तालिमका सहभागीलाई एक क्रेडिट प्रदान गरिएको छ । सो तालिममा ३९ जना सहभागी भएका थिए तर पाँच जनाले तोकिएको समयमा तोकिएको कार्य नगरेको हुँदा एक क्रेडिट दिन नसकिएको डिन लुइटेलले बताए ।

दोस्रो चरणको तालिममा ४६ विद्यालयका शिक्षक सहभागी भएका छन् । तालिममा ३५ वटा समूह बनाइएको छ । तालिममा समावेशीतर्फ निर्मल बाल विकास विद्यालयका ८ जना, सुस्त मनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत केन्द्रका ६ जना र बालपीठ आधारभूत विद्यालयका ४ जना शिक्षकलाई सहभागी गराएको महानगरले जानकारी दियो ।

तेस्रो चरणको तालिम आगामी बैशाख २ गतेदेखि ६ गतेसम्म र ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने छ । सो तालिममा ४५ वटा विद्यालयका शिक्षक सहभागी गराइने महानगरले जानकारी दियो ।

१६ घण्टाको तालिमलाई १ क्रेडिट मानिने सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए । उनकाअनुसार १६ घण्टाको तालिम सम्पन्न गरिसकेपछि १ क्रेडिट प्रदान गरिन्छ । एक दिनमा ४ घण्टाका दरले ४ दिनमा १६ घण्टाको कक्षा सञ्चालन हुनेछ । यसमध्ये ३ दिन कक्षामा उपस्थित हुनुपर्नेछ भने १ दिन अनलाइनमा आधारित कक्षा हुनेछ ।

प्रमाणपत्र लिनका लागि तोकिएको घण्टा (नियमानुसार कक्षा वा अनलाइन) मा कक्षामा उपस्थिति हुनुपर्छ । असाइनमेन्ट (कक्षा कार्य) बुझाउनु पर्छ । परीक्षामा सहभागी हुनुपर्छ । परीक्षामा ३.७ देखि ४ सम्मको जीपीए ल्याउनेलाई ‘ए’, ३.२५ देखि ३.७ जीपीए ल्याउनेलाई माइनस ‘ए’, ३ देखि ३.२५ सम्म जीपीए ल्याउनेलाई ‘बी प्लस’ र ३ भन्दा तल जीपीए ल्याउनेलाई ‘बी’ ग्रेड दिइनेछ ।

१६ घण्टाको तालिम आधारभूत हो । यसपछि अर्ली चाइल्ड डिपलपमेन्ट (इसीडी) टेक्निकल, भोकेसनल एजुकेसन ट्रेनिङ् (टीभीइटी), डिजिटल पेडागोजी, चाइल्ड साइकोलोजी र करिअर काउन्सिलिङ्, स्टुडेन्ट लर्निङ् आउटकम जस्ता विषयमा स्नातकोत्तर तहसम्मको उपाधि लिन सकिने केयुले जनाएको छ ।

पूर्व प्राथमिकदेखि कक्षा ३ सम्म एकीकृत शिक्षा, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक शिक्षा र कक्षा ९ र १० मा सिपमा आधारित शिक्षा प्रदान गर्ने लक्ष्य प्राप्त गर्न नवीनतम सोच र प्रविधिमा आधारित क्रियाकलाप सञ्चालन गर्ने शिक्षा विभागकी निमित्त प्रमुख सरस्वती पोखरेलले बताइन् ।

केयु टिचर कलेज कार्यक्रम संयोजक पार्वती ढुङ्गानाका अनुसार टिचर कलेज कार्यक्रमले शिक्षकको वृत्ति विकास गराउँछ । शिक्षण विधिलाई नवीनतम प्रविधिमा आधारित एकीकृत बनाउँछ । सिकाइ प्रक्रियामा नवीनता ल्याइ गुणस्तर सुधारमा सहयोग गर्ने अपेक्षा लिइएको छ । ‘शिक्षकको पेसागत र व्यावसायिक क्षमता बढ्छ । माथिल्लो तहमा जानका लागि योग्यता प्राप्त हुन्छ ।’ उनी थप्छिन्, ‘विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक, भावनात्मक, संज्ञात्मक, सामाजिक पक्षको पूर्ण र एकीकृत क्षमता विकास हुन्छ । विद्यार्थी केन्द्रीत र खोजमूलक कक्षाहरु सञ्चालन हुन्छन् ।’

A Levels MA