एसईई र कक्षा १२ को परीक्षासँगै हुने

कोरोना भाइरसको संक्रमणका कारण कक्षा ११ र १२ को परीक्षालाई लिएर विद्यार्थीहरु अन्योलमा छन् । राष्ट्रिय परीक्षा बोर्ड पनि परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने अन्योलमै देखिएको छ ।

कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका (एसईई) परीक्षा स्थगित भइसकेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा ११ र १२ को परीक्षाका बारेमा कुनै नयाँ निर्णय नभएको जानकारी दिए । सरकारले लकडाउनलाई आगामी वैशाख ३ गतेसम्म लम्ब्याउने भित्री तयारी गरिरहेको बुझिएको छ । भारतले पनि वैशाख ३ गतेसम्म लकडाउन गरेकाले नेपालले पनि त्यसलाई पछ्याउने बताइएको छ ।

“लकडाउन चैत २५ पछि लम्बिएन भने निर्धारित मितिमै परीक्षा सञ्चालन हुनेछ” उनले भने, “लकडाउन लम्बिएपछि वैशाख ८ गते परीक्षा सञ्चालन गर्न कठिन हुन्छ । त्यस्तो स्थितिमा परीक्षा सर्ने सम्भावना रहन्छ ।” बोर्डले प्रश्नपत्र छपाइ कार्य गरिरहेको छ । अझैसम्म जिल्लामा प्रश्नपत्र पठाइसकिएको अवस्था छैन । प्रश्नपत्र पठाउनुपर्ने भएकाले लकडाउन लम्बिए परीक्षा सार्नुको विकल्प रहँदैन ।

बोर्डका अध्यक्ष डा. पौडेलले भने, “अवस्था सामान्य भएमा कक्षा ११ को परीक्षा सारिरहनुनपर्ने अवस्था रहन्छ ।” उनले परीक्षा नियमित हुँदा विहान एसईई परीक्षा र अपरान्ह कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सोच बनाइएको बताए । पूर्व निर्धारित परीक्षा तालिकाअनुसार कक्षा १२ को आगामी वैशाख १८ गतेसम्म र कक्षा ११ को वैशाख ३१ गतेसम्म सञ्चालन गर्नेगरी तय गरिएको थियो ।

 

 

Thuprai - Books and E-books