टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्छ

गोदावरी (कैलाली), २६ वैशाख : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

टीकापुर बहुमुखी क्याम्पसको आयोजनामा  खोज तथा अनुसन्धानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै आज उहाँले शिक्षाको माध्यमबाट टीकापुरलाई राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा चिनाउन सकिने हुँदा त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।  

शिक्षा क्षेत्रका लागि टीकापुर क्षेत्र पहिलेदेखि अग्रस्थानमा रहेकाले शैक्षिक गुणस्तर कायम गर्न यहाँ सञ्चालित शैक्षिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । शिक्षा क्षेत्रले नै राष्ट्र र राष्ट्रियताको समग्र विकासमा योगदान पुर्याउन महत्तवपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।  उहाँले राष्ट्रिय सम्मेलनले यहाँको शिक्षास्तर उकास्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आजदेखि सुरु भएको सम्मेलनमा देशभरका आठवटा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विधा (भाषा, साहित्य व्यवस्थापन, समाजशास्त्र, संस्कृति, विज्ञान तथा प्रविधि र कृषि विज्ञान)मा जम्मा ८१ वटा अनुसन्धान तथा खोजमूलक कार्यपत्रहरू प्रस्तुति गरिने बताइएको छ ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डीन, स्थानीय तहका प्रमुख, क्याम्पस तथा विद्यालयका प्रमुख गरी २०० जनाको सहभागिता छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले प्रस्तुतीकरण गर्ने कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पसका अनुसन्धान तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराज पौड्यालले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।