
काठमाडौँ, ५ असोजः प्रतिनिधिसभाको संरचनालाई झल्काउने गरी ‘पाठशाला प्रि–युनी कार्यक्रम’ले आयोजना गरेको तीनदिने पाठशाला नमुना संसद्मा विद्यार्थीले संसदीय गतिविधि, समिति अभ्यास र विधायकी प्रक्रियाको अनुकरण गरेका छन् ।
कक्षा ९ र १० का ३०९ विद्यार्थी सहभागी कार्यक्रममा प्रत्यक्षतर्फका १६५ र समानुपातिकतर्फका ११० सांसदको भूमिकामा विद्यार्थीलाई प्रस्तुत गरिएको थियो ।
नमुना संसद्मा अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार समिति गठन गरिएको थियो ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन, सार्वजनिक लेखा, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास, कृषि, सहकारी तथा प्राकृतिक स्रोत र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी गरी १० वटा समिति चयन गरी अभ्यास गराइएको थियो
प्रत्येक समितिमा सभापति, सचिवलगायतका जिम्मेवारी विद्यार्थीलाई प्रदान गरिएको थियो । आयोजक समिति, मर्यादापालक तथा मन्त्रीमण्डलमा विद्यार्थीको सहभागिता थियो ।
नमुना संसद्को सभामुखको भूमिका आभा शङ्कर र उपसभामुखको भूमिका नमन खरेलले निर्वाह गरेका थिए भने १७ सदस्यीय मन्त्रीमण्डलमा प्रधानमन्त्रीको भूमिका हर्षित सुनिल खेतान, अर्थमन्त्रीमा अर्चितराज शर्मा र गृहमन्त्रीमा युगसा हुमागाईं रहेका थिए ।
त्रि–दिवसीय कार्यक्रममा संविधान दिवसका अवसरमा नमुना राष्ट्रपति सारिका कार्कीले नमुना संसद्लाई सम्बोधन गरेकी थिइन् । कार्यक्रम समापन समारोहमा प्रतिनिधिभाका पूर्वसभामुख देवराज घिमिरे, सांसद डा तोसिमा कार्की र सिर्जना श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । घिमिरे र कार्कीले विद्यार्थीले प्रदर्शन गरेको संसदीय अभ्यास, नेतृत्व क्षमता तथा राजनीतिक चेतनाको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रम आरम्भको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र संविधानविद् डा भीमार्जुन आचार्य सहभागी भई नमुना संसद्को अवलोकनपछि विद्यार्थीको कार्यक्रममा उत्सव भुर्तेल र विनित खड्का स्रोत व्यक्तिका रूपमा हुनुहुन्थ्यो ।
‘सार्थक शिक्षा, सार्थक जीवन’ भन्ने पाठशाला नेपाल फाउन्डेसनको मूल नारालाई व्यवहारमै उतार्ने उद्देश्यले ‘नमुना संसद्–२०८३’ ले आयोजना गरिएको आयोजकले जनाएको छ ।
संसदीय अभ्यास, नेतृत्व, संवाद, अनुसन्धान, तर्क तथा निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी हुँदै विद्यार्थीले सिकाइलाई जीवनोपयोगी बनाउँदै नमुना संसद् केबल कार्यक्रम नभई सार्थक शिक्षा र सार्थक जीवनबीचको सेतुका रूपमा स्थापित भएको पाठशाला विद्यालयले विश्वास दिएको छ ।




