After SEE Portal

कनकाईलाई यसरी शैक्षिक हब बनाउँछौं

Bridge Course

नेपालको संविधानले विद्यालय तहको शिक्षाको व्यवस्थापनको पूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ । अधिकांश जनप्रतिनिधिहरु भौतिक  सुविधाका लागि होडबाजी गरिरहेको समयमा  सोही शीर्षकमा  विनियोजन भएको बजेट नगरभित्र सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटको भौतिक व्यवस्थापनका  लागि प्रदान गर्दै तल्लो तहदेखि माथिल्लो तहसम्म शिक्षाको गुणस्तर सुधार गरी आफ्नो नगरलाई शैक्षिक गन्तव्य बनाउने प्रणका  साथ अघि बढेका कनकाई नगरपालिका झापाका नगरप्रमुख  राजेन्द्र  कुमार पोखरेलसंग इडियु पत्र संवाददाताले  गरेको कुराकानीको सारसंक्षेपः

नगरपालिका भित्रको शैक्षिक अवस्था कस्तो छ ?

कोभिड १९ को महामारीको समयमा पनि भौतिक दुरीलाई व्यवस्थापन गर्दै आधा आधा विद्यार्थीलाई समेटेर कक्षा सञ्चालन भइरहेका छन् । मास्क, सेनिटाइजर सबै विद्यालयमा नगरपालिका तर्फबाट पुर्याएका छौं । नगरपालिकाका उत्पादनहरु भोलिगएर देशका लागि योग्य बनाउन नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ । कनकाई नगरपालिकालाई सिपमुलक वैज्ञानिक व्यवहारिक एवम गुणस्तरीय शिक्षाको सुनिस्चितता गरी शैक्षिक गन्तव्यको रुपमा विकास गर्न विशेषखालका कार्यक्रम सञ्चालनमा ल्याएका छौं ।

यसका लागि के कस्ता योजना लागु गर्नु भएको छ ?

नगरपालिकाको शैक्षिक गुणस्तर अविवृद्धि गर्दै ,शैक्षिक गन्तव्य तर्फ अघि बढ्न, शैक्षिक गुणस्तरलाई उकास्न विज्ञ टोली सहितको अनुगमन आईसीटी सहितको शैक्षिक सूचना केन्द्रको स्थापना, विद्यालय क्षेत्रको विकास कार्यक्रमहरु सञ्चालन गर्न, नगरपालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन गर्न, कक्षा ५ सम्मका विद्याथीहरुलाई पोसाक, दिवा खाजा, वालविकासका विद्यार्थीका लागि झोला, शिक्षकहरुलाई आईसीटी तालिम, कक्षा ११ र १२ मा अध्ययनरत गरिव तथा जेन्दार विद्यार्थीका लागि छात्रावृत्ति, वालशिक्षा, कक्षा शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन कार्यक्रम, विज्ञान प्रयोगशाला लगायत विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा कार्यालय व्यवस्थापन र कोभिड १९ को महामारीको विचमा पनि विद्यालय संचालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने योजनामा छौं ।  यसका लागि संघीय सरकारबाट तोकी आएको सशर्त अनुदान बाहेक रु. १ एक करोड ९४ लाख बजेट विनियोजन गरी  विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं । यसका साथै सर्वप्रथम हामीले नगरपालिकालाई बन्द निषेधित नगरपालिका बनाएका छौं ।

स्थानीय पाठ्यक्रम लागु गर्नु भएको छ ?

शिक्षामा समतामुलक र न्यायोचित पहुच वृद्धि गरी नगरको सम्वृद्धिको लक्ष्य लिएका छौं । विद्यार्थीले सिकेका कुरालाई जीवनोपयोगी बनाउने उद्देश्यले कक्षा १ देखि ६ सम्म आगामी शैक्षिकसत्रदेखि कार्यान्वयन गर्ने गरी स्थानीय पाठ्यक्रम तय गर्दै छौं । पाठ्यक्रममा बालबालिकालाई जीवनोपयोगी विषय वस्तुलाई जोड दिने तयारी गरिरहेका छौं । शिक्षाको पहुँचलाई विस्तार गर्न नर्सरी कक्षाको व्यवस्थापनका लागि बजेटको व्यवस्थापन गरेका छौं । नगरभित्र रहेका १८ वटै सामुदायिक विद्यालयमा आकर्षक नर्सरी कक्षा व्यवस्थापन गर्दैछौं । विद्यालयललाई हरित बनाउन हरेक विद्यालयमा गार्डेनको व्यवस्था गर्छौं । हरेक विद्यालयमा आइसीटी ल्याबको व्यवस्थापन गर्ने, विषय विज्ञको व्यवस्था गर्ने तयारी गरिरहेका छौं । पाँच कक्षा सम्म पढ्ने सबै बालबालिकालाई हाउसड्रेसको व्यवस्था गरेका छौं । स्वस्थ्य खानेपानीको व्यवस्था गरेका छौं ।

शिक्षक व्यवस्थापन कसरी गर्नु भएको छ ?

विद्यालयहरुमा अंग्रेजी र नेपाली माध्यम सुधार कार्यक्रम लागु गरेका छौं । यसका लागि विषय शिक्षकको छनोट गरिसकेका छौं । नेपाली गणित र अंग्रेजीमा विषय शिक्षकको व्यवस्था गरेका छौं । सवै विद्यालयहरुमा नृत्य, गायन, खेलकुद, कम्युटर, अंग्रेजी शिक्षण सुधार जस्ता विषयहरुको घुम्ति शिक्षकको व्यवस्थापन गर्न शिक्षक छनोट भइसकेका छन् । बालविकास सहजकर्ताको न्यून पारिश्रमिकलाई मध्यनजर गर्दै नगरपालिकाको तर्फबाट ४५ सय थप गरी १० हजार ५०० मासिक पारिश्रमिक प्रदान गर्दै आएका छौं । यसका अलवा साक्षारता, निशुल्क शिक्षा, सवैका लागि शिक्षा, शिक्षाका लागि भौतिक पूर्वाधार शिक्षा व्यवस्थापनमा सुधार, शिक्षामा समावेसशिता तथा विषेश आवश्यकता भएका बालबालिकाको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं ।

बालबालिकालाई विद्यालयमा आकर्षण गर्न के कस्ता कार्यक्रम लागु गर्नुभएको छ ?

विद्यालयहरुमा फुलवारी, करेसावारी, खानेपानि तथा सरसफाईको कार्यक्रमलाई अगाडी बढाएका छौं । १८ वटै विद्यालयमा नर्सरी कक्षाको व्यवस्थापन गरेका छौं । सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत बलबालिकाहरुको लागि नगरपालिकाबाट पोसाक तथा दिवा खाजाको व्यवस्था गरिँदै आएको छ । यसका अलावा नर्सरीका बालबालिकालाई व्याग प्रदान गर्ने भएका छौं । छात्रावृत्तिको व्यवस्थापन गरेका छौं ।

के कस्ता छात्रावृत्ति योजना लागु गर्नु भएको छ नि ?

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनतर गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रावृत्तिको व्यवस्था गरिएको छ । २०० विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्ने भएका छौं । यसका लागि नगरपालिकाको बजेटबाटै रु. १० लाख बजेटको व्यवस्था गरेका छौं । नगरभित्रका प्राविधिक धार सञ्चालन भएका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गर्ने नीति लिएका छौ । यस पालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरु मध्ये छनोटका आधारमा विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययन गर्न सहयोग उपलब्ध गराउने भएका छौं ।

कक्षाकोठा कस्ता छन् ?

शिक्षामा प्रविधिको प्रयोग सुनिस्चितता गर्न प्रत्येक विद्यालयहरुमा कम्तिमा एक स्मार्ट कक्षाको स्थापना गर्ने लक्ष्यले अघि बढेका छौं । प्रत्येक विद्यालयहरुमा सिकाई सामग्री तथा भौतिक विकासमा सुविधा सम्पन्न वालविकास कक्षाको लागि आवश्यक फर्निचरको समेत व्यवस्थापन मिलाउदै लगिने गरी वार्षिक बजेट विनियोजन गछौं । कक्षा कोठाको उचित व्यवस्थापनका लागि प्रविधिमैत्री कक्षाकोठा र सुन्दर बसाई व्यवस्थापन गर्दै जाने छौं ।

कति कति कक्षाको परीक्षा नगर स्तरबाट सञ्चालन गर्नुहुन्छ ?

हामीले कक्षा ३, ५, ८ र ९ को अन्तिम परिक्षा नगर स्तरमा संचालन गर्दै आएको छौं । शैक्षिक गुणस्तर अभिवृद्दि गर्न विषयगत विज्ञको टोली बनाई सघन अनुगमन गरी पृष्ठपोषण लिने र दिने गर्दै आएका छौं ।

कनकाई पोलिटेक्निक इन्ष्टिच्युटको अवस्था के छ ?

दुई वर्ष अगाडिदेखि सञ्चालन हुँदै आएको  कनकाई पोलिटेक्निक इन्ष्टिच्युटको सञ्चालन तथा व्यवस्थापन गर्न नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।यसको भौतिक व्यवस्थापन गर्न नगरपालिकाले  बजेटमा गाडी किन्नका लागि विनियोजन गरेको रु. ६० लाखबाट ३० लाख इन्ष्टिच्युटलाई प्रदान गरेको छ । कनकाई पोलिटेक्निक इन्स्टिच्युटलाई इञ्जिनियरिङ कलेजमा रुपान्तरण गर्न खर्च छुट्याएका हौँ । अहिले इन्स्टिच्युटमा इञ्जिनियरिङका दुई र एउटा आईटी गरी तीन वटा कार्यक्रम् सञ्चालन हुँदै आएका छ ।

A Levels MA
Thuprai - Books and E-books