After SEE Portal

एसईई परीक्षार्थीलाई यसरी तयारी गराइँदैछ

Bridge Course

जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ बर्दियाको ठाकुरबाबा नगरपालिकाले प्रवेशिका (एसईई) परीक्षार्थीहरुका लागि सूचना प्रविधिको प्रयोग गरेर तयारी कक्षा सञ्चालन गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउन भएपछि एसईई परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुको पढाइमा समस्या आउन सक्ने भन्दै सो नगरपालिकाले स्थानीय एफएम रेडियो र सामाजिक सञ्जाल (फेसबुक)मार्फत पठनपाठनलाई नियमितता दिएको छ ।

स्थानीय टाइगर एफएमसँग सहकार्य गरी दैनिक विहान ११ देखि दिउँसो १२ बजेसम्म ट्युसनको व्यवस्था गरिएको छ । सो नगरपालिकाभित्र रहेका आठ वटा संस्थागत विद्यालय र छ वटा सामुदायिक विद्यालयका एसईईका परीक्षार्थीले आफूले नबुझेका कुरा टेलिफोनमार्फत सोध्न सक्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले भने, “एफएममा सुरुमा भोलिका लागि प्रश्न सोध्छौँ । त्यसपछिको बाँकी समय शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया हुन्छ ।” लकडाउनका कारण शिक्षक, विद्यार्थी र एफएम रेडियोका सञ्चालक घरमै रहन्छन् तर सूचना प्रविधिको प्रयोग गरी विद्यार्थीको जिज्ञाशालाई सम्बन्धित विषयका शिक्षकबाट तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

हरेक दिन गणित, अङ्ग्रेजी र विज्ञानका प्रश्न सोध्ने गरिन्छ भने बाँकी विषयको एक दिन विराउँदै प्रश्न सोध्ने गरिएको छ । त्यसरी एफएम रेडियोमा सोधिएका प्रश्नलाई तत्कालै नगरपालिकाले तयार गरेको ठाकुरबाबा एसईई तयारी कक्षा नामक फेसबुक पेजमा राख्ने गरिन्छ । भोलिपल्ट एफएम रेडियोमा ती प्रश्नको उत्तर दिइन्छ भने त्यसरी दिइएको उत्तरलाई लगत्तै फेसबुक पेजमा पनि राख्ने गरिन्छ । “आज दिइएका प्रश्नको भोलि उत्तर प्रशारण गर्दा वा फेसबुकमा राख्दा विद्यार्थीले अभ्यास गर्न पाउँछन् । त्यसले गर्दा त्यसै दिन बिताउनुभन्दा अभ्यासमा विद्यार्थी व्यस्त रहन्छ” उनले भने । एक दिनमा ५० पूर्णाङ्कका प्रश्न सोध्ने गरिएको छ ।

हरेक विषयगत शिक्षकलाई आठदेखि १० जना विद्यार्थीको जिम्मा पनि दिइएको छ । ती शिक्षकले हरेक दिन जसो आफूले जिम्मा पाएका विद्यार्थीलाई एसईई परीक्षाको तयारीका बारेमा कुनै समस्या भए नभएको बारेमा सोध्नुपर्ने हुन्छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले भने, “शिक्षकको जिम्मामा रहेका विद्यार्थीका बारेमा हरेक दिन चासो राखिने भएकाले विद्यार्थी पनि शिक्षकको फोन आउने भएकाले सतर्क रहन्छन् । यसले गर्दा परीक्षार्थीलाई पढाइमा व्यस्त राख्न मद्दत मिलेको छ ।”

ठाकुरबाबा नगरपालिकाले एसईईका परीक्षार्थीका लागि तयार गरेको फेसबुक पेजको लिङ्क तल दिइएको छः

https://www.facebook.com/104492251216318/posts/106629027669307/

A Levels MA
Thuprai - Books and E-books