After SEE Portal

शिक्षामा सूचना प्रविधिको प्रयोग यसरी गर्न सकिन्छ

Bridge Course

शिक्षाको विकास बेगर विकास सम्भव छैन । यसै तथ्यलाई मनन् गरी बर्दियाको ठाकुरबाबा नगरपालिकाले २० वर्षे गुरु योजना तयार गरेको छ । समग्र योजनाको केन्द्रमा शिक्षालाई नै राखिएको छ । सामुदायिक शिक्षा प्रणालीलाई सबैले रोज्ने र खोज्ने बनाउने उद्देश्य नै हो । विद्यालयको नतिजामा देखिने गरी सुधार गर्ने र शिक्षकलाई पाठ्यक्रममा आधारित भई तोकिएको पाठ्यघण्टी अवधिभर कक्षाकोठामा उभिन सक्ने बनाउने प्रयास गरिएको छ । स्थानीय पाठ्यक्रमको तयारी र कार्यान्वयन तथा शैक्षिक क्यालेण्डरमा आधारित शिक्षण सिकाइ एवं सरोकारवालको छलफलमा निर्धारित शैक्षिणिक कार्यक्रमले सामुदायिक शिक्षाप्रति चासो, चिन्तन र भरोसा अभिवृद्धि भएको छ ।

सबै दिवस र समारोहलाई शैक्षणिक गतिविधि गर्ने मञ्चको रुपमा प्रयोग गर्ने, निश्चित सिकाइ उपलब्धि प्राप्त गर्नैपर्ने वाध्यकारी बनाउन शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यविधि नै तयार गरी कार्यान्वयन गरिएको छ । आधारभूत तह (कक्षा ८)सँगै कक्षा ५ को परीक्षालाई पनि नगरस्तरीय बनाइ कमजोर विद्यार्थी सजिलै माथिल्लो कक्षा र तहमा पुग्ने अवस्थालाई सुधार गरिएको छ । सुचकका आधारमा विद्यालय र शिक्षकको मूल्याङ्कन गरी पुरस्कृत गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । निर्वाचित जनप्रतिनिधि नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने ऐनमा व्यवस्था गरिएको छ । 

पछिल्लो दिनमा एसईई परीक्षामा ग्रेड प्रणाली मूल्याङ्कनसँगै विशेषतः गणित र विज्ञान विषयमा ‘डी प्लस’भन्दा कम अङ्क प्राप्त गरी रोजेको विषय पढ्न नपाउने तर अनुत्तीर्ण पनि होइन भन्ने विरोधाभाष अवस्थाबाट ठूलो सङ्ख्यामा विद्यार्थीहरु गुज्रीरहेका छन् । अहिले पनि हेर्ने हो भने २०७५ सालको एसईई परीक्षामा गणित विषयमा प्रदेश नं. ५ मा २८.१ प्रतिशत विद्यार्थीले मात्र डि प्लसको ग्रेड प्राप्त गरेका थिए भने बर्दिया जिल्लाबाट २२.७ प्रतिशतले मात्र प्राप्त गरे । यस नगरपालिकामा गणितमा डिप्लस माथिको ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ३३.४ रहेको छ । निश्चित ग्रेड प्राप्त नगर्ने विद्यार्थीलाई हामीले ‘फेल’ त भनेका छैनौं तर उनीहरुले रोजेको विषय भने पढ्न दिइएको छैन । आफैले रोजेको विषय पढ्ने अवसरमा विद्यार्थीको सपना पनि हुन्छ तर जब उ अरुले भनिदिएको विषय पढ्न वाध्य हुन्छ उसको सपना त्यही तुहिन्छ । त्यसैले विद्यार्थीलाई सपना देखाउँदै आफैले रोजेको विषय पढ्न सक्ने र पाउने बनाउनु माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई भएकोले उसैको दायित्व हो । एसईई परीक्षामा कुनै पनि विद्यार्थीको डीप्लस वा सोभन्दा मुनी नतिजा प्राप्त नहोस् भनेर नगरपालिकाको प्रयास जारी छ । 

एसईई परीक्षा राष्ट्रिय परीक्षा भएको र शिक्षा मापनको पनि महत्वपूर्ण मापनको कडी भएकोले नगरपालिकाका सबै विद्यार्थीले सबै विषयमा कम्तिमा पनि डिप्लसभन्दा माथिको ग्रेड प्राप्त गर्ने अवस्था सिर्जना होस् भनेर सबै विद्यालयका विषयगत शिक्षकबाट विद्यार्थी सङ्ख्या र लक्ष्यसमेत तोकी कति विद्यार्थीलाई कुन ग्रेड हासिल गराउने सो निर्धारण गर्ने गरिएको छ । विद्यार्थीबाट विषयगत हासिल गर्नसक्ने नतिजाको लक्ष्य तोकिएको छ भने अभिभावकले सोका लागि तत्परता देखाइ २०७६ सालको एसईईका लागि दुई महिने अभियान सञ्चालन गरिएको थियो । कोरोना माहामारिका कारण एसईई रोकिन पुग्यो, जसबाट तयारीमा बसेका विद्यार्थी, अभिभावक र अभियानमा जुट्नु भएका शिक्षकमा निराशा छायो । 

एसईई स्थगित हुँदाको निराशालाई जगाउनु र भरोसा दिनु नजिकको दायित्व वहन गर्ने अभिभावकका नगरपालिका नै हो । त्यसैअनुरुप स्थानीय रेडियो टाइगर ९९.२ को सहकार्यमा अनलाइन र रेडियोमार्फत एसईई तयारी कार्यक्रम विगत एक महिनादेखि सञ्चालन हुँदै आएको छ । यसको २५ औं श्रृङ्खला प्रशारित भइसकेको छ । नगरपालिकाका १४ विद्यालयका ६४७ विद्यार्थीलाई समावेश गरी यो कार्यक्रम प्रशारण भइरहेको छ । कुनै कुनै श्रृङ्खलामा २० हजारसम्म ‘लाइक’ प्राप्त भएको छ र जसबाट रेडियो सुन्ने अन्य पालिका तथा जिल्लाका विद्यार्थीहरु पनि यस कार्यक्रममा जोडिएका छन् भन्न सकियो । यस कार्यक्रममा रेडियोबाट शनिबार बाहेक अन्य दिन अघिल्लो दिन कम्तिमा पाँच विषय समेटेर कम्तिमा ५० पूर्णाङ्को प्रश्नहरु रेडियो र ठाकुरबाबा एसईई तयारी फेसबुक पेजबाट प्रशारण र पोष्ट गरिन्छ । भोलिपल्ट सोको उत्तरसहित पुनः नयाँ प्रश्नहरु दिने क्रम चल्दै आएको छ ।

सबै विद्यालयले आफ्ना विद्यार्थी सङ्ख्यालाई माध्यमिक तहको विषयगत शिक्षक सङ्ख्याका आधारमा भाग लगाइ आफ्नो जिम्मेवारीमा रहेका विद्यार्थीलाई फोन तथा म्यासेन्जरमार्फत सहयोग गर्ने प्रबन्ध मिलाइएको छ । विद्यालयहरुको पनि ग्रुप म्यासेन्जर पेज छ । विद्यार्थीले प्रश्नका आधारमा तयार गरेको उत्तर रेडियोबाट प्रशारित उत्तर र सहयोग पेजमा पोष्ट गरेको उत्तरका आधारमा स्वयं मूल्याङ्कन गर्छन् वा समस्यालाई आफूलाई तोकिएको शिक्षकमार्फत समाधान खोज्छन् । शनिबार स्रोता, अभिभावक र विषेश गरी विद्यार्थीको प्रतिक्रिया लिने गरिन्छ । प्राप्त सुझाव, सल्लाह र प्रतिक्रियाका आधारमा पछिल्लो प्रशारणलाई परिमार्जन गर्दै लगिएको छ । 

बिहानीको समय प्रायः सरसफाइ र घरभित्रका कार्यहरु हुने भएकोले मानिसहरु घरमा नै रहने तर खानापछि घरबाट बाहिर निस्कने हुँदा लकडाउन समयमा बालबालिकालाई घरभित्रै बसाउन र सँगै सिकाउन यो विधि अचुक अस्त्र बनेको छ । उत्तर लेख्ने, उत्तरका लागि किताब पढने, रुजु गर्ने, सच्याउने कार्यमा सरिक हुँदा विद्यार्थी पाँच घण्टासम्म शिक्षण सिकाइमा सहभागी भएको देखिएको छ ।  जसबाट कोरोनाको जोखिमबाट सुरक्षितमात्र गरेको छैन, विद्यार्थी, शिक्षक र अभिभावकलाई समेत आश्वस्त बनाएको छ । वैकल्पिक सिकाइका विधिहरु पहिल्याउन र लकडाउन लम्बिदै गएमा अन्य कक्षाका बालबालिकालाई समेत सिकाइमा सूचना प्रविधिको पूरापूर प्रयोग गरी जोडन सकिन्छ भन्ने विश्वास यस कार्यक्रमले दिलाएको छ । 

पछिल्लो समयमा अनलाइन र भर्चुअल माध्यमबाट पठनपाठन गर्ने विषयमाथि निकै वहस हुँदै आएको देखिन्छ । एउटा स्थानीय तहले गरेको असल र सफल अभ्यासलाई अरुले पनि प्रयोग गर्न सकियो भने सूचना प्रविधिको अधिकतम लाभ लिन सकिन्छ । अन्य स्थानीय तहले गर्ने सफल र असल अभ्यासलाई ठाकुरबाबा नगरपालिकाले पनि सिको गर्न चाहन्छ । आखिर यी सबै विषय विद्यार्थी र उनीहरुको भविष्यसँग जोडिएको हुन्छ । सिको गर्ने मामिलामा असहज मान्नुपर्ने अवस्था पक्कै हुनु हुँदैन । 

लेखक शिक्षा सेवाका उपसचिव तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत हुन् ।

A Levels MA
Thuprai - Books and E-books