शिक्षक सेवा आयोगले उठायो सवा ११ करोड रुपियाँ

स्थायी शिक्षक पदका लागि आवेदन दिएका उम्मेदवारबाट ११ करोड २२ लाख ३२ हजार छ सय रुपियाँ राजस्व उठिसकेको छ ।

शिक्षक सेवा आयोगका अनुसार माध्यमिक तहमा ३५ हजार ९५७ जनाले आवेदन दिएका छन् । उनीहरुबाट तीन करोड ५९ लाख ५७ हजार उठिसकेको छ ।

माध्यमिक तहमा आवेदन भर्ने म्याद माघ १ गते सकिए पनि दोब्बर दस्तुर बुझाएर माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । 

त्यस्तै निम्न माध्यमित तहको शिक्षक पदका लागि हालसम्म ६३ हजार ३८ जनाले आवेदन फाराम बुझाएका छन् । उनीहरुबाट चार करोड ४१ लाख २६ हजार छ सय रुपियाँ उठेको छ ।

निमावि तहमा माघ ६ गतेसम्म आवेदन भर्ने म्याद तोकिए पनि दोब्बर दस्तुर बुझाउनेहरूले माघ १३ गतेसम्म आवेदन दिनसक्नेछन् ।

आयोगका अनुसार प्राथमिक तहको शिक्षक पदका लागि हालसम्म ६४ हजार २९८ जनाले आवेदन दिएका छन् । उनीहरूबाट तीन करोड २१ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । प्राथमिक तहमा माघ १३ गतेसम्म आवेदन भर्न पाउने भए पनि दोब्बर दस्तुर बुझाएर माघ २० गतेसम्म आवेदन फाराम बुझाउन सकिनेछ । 

यसअघि माध्यमिक तहमा करिब ६० हजार जनाको, निम्न माध्यमिक तहमा करिब ८० हजार जनाको र प्राथमिक तहमा करिब एक लाख १५ हजार जनाको आवेदन परेको थियो ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले विगतमा एकै व्यक्तिले धेरै प्रदेश वा क्षेत्रबाट फाराम भर्ने गरेको बताउँदै भने, “यसपटकबाट एक व्यक्ति एक प्रदेशको व्यवस्था भएकाले पनि तुलनात्मक रूपमा कम व्यक्तिले फाराम भरेको हुनसक्छ । हुन त फारम बुझाउने म्याद अझै केही दिन बाँकी छ ।” आवेदन दस्तुरका लागि माध्यमिक तहमा एक हजार रुपियाँ, निम्न माध्यमिक तहमा सात सय रुपियाँ र प्राथमिक तहमा पाँच सय रुपियाँ कायम गरिएको छ । यसपटक अनलाइनमाध्यमबाट फाराम भर्न सकिने व्यवस्था थालिएको छ ।

आयोगले शिक्षक पदको बढुवाका लागि आगामी सातामा सार्वजनिक सूचना जारी गर्ने जनाएको छ ।

आयोगका सूचना अधिकारी मरहट्टाले खुला र आन्तरिकको एकैपटक चाप बढ्दा सर्वरमा समस्या आउन सक्ने भएकाले शिक्षक बढुवाका लागि हतार नगरिएको बताउँदै भने, “सर्वरलाई प्रेसर नदिन निमाविको सिङ्गल दस्तुरको अवधि सकियोस् भन्ने चाहेका छौँ । त्यसपछि बढुवाका लागि सूचना आह्वान होला । सम्भवतः आगामी हप्ता सूचना आउने छ ।”

Thuprai - Books and E-books