सर्वत्र गुनासो आएपछि पाठ्यक्रम विकास केन्द्रले वर्तमान स्कुले पाठ्यक्रम परिमार्जन गर्ने भएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयनमा आएदेखि नै यसप्रति विशेष गरी शिक्षकले त्यति रुचाएका थिएनन् । उनीहरूले कमीकमजोरी रहेको औँल्याउँदै आएका थिए । नयाँ पाठ्यक्रम विद्यार्थीमा सिकाइ र ज्ञान अभिवृद्धि गर्नेभन्दा पनि कस्ने नियत रहेको गुनासो गरिँदै आएको थियो । शिक्षक तथा विद्यार्थीको बढी जसो असन्तुष्टि सामाजिक अध्ययन विषयप्रति रहेको पाइएको छ ।
हरेक वर्ष पाठ्यक्रम अद्यावधि, हरेक पाँच वर्षमा परिमार्जन र हरेक १० वर्षमा नयाँ पाठ्यक्रम लागू गर्ने मान्यता रहँदै आएको छ । गत २०८० सालसम्ममा क्रमिक रूपमा सबै तहमा नयाँ पाठ्यक्रम लागू भएको थियो ।
केन्द्रले आगामी पाँच वर्षभित्र सबै कक्षाको पाठ्यक्रम परिमार्जन गर्ने योजना बनाएको छ । केन्द्रले आगामी शैक्षिक सत्रदेखि २०८५ सालसम्ममा बालविकासदेखि कक्षा १२ सम्मका पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । यसका लागि केन्द्रले कतिपय विषयमा सुझावसमेत माग्न थालिसकेको छ । केन्द्रले केही विषयको आगामी २०८२ सालदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार पाठ्यक्रम परिवर्तनका लागि तीन चरणमा गृहकार्य गरिने छ । “पहिलो वर्ष तयारी, अध्ययन र छलफल, दोस्रो वर्ष पाठ्यपुस्तक निर्माण र तेस्रो वर्ष पाठ्यक्रम लागू गर्ने गरी अगाडि बढेका छौँ” उनले भने ।
सरकारले विद्यालय तहको केही तहमा पाठ्यक्रम परिवर्तनका लागि चालु आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको र त्यसमा गृहकार्य भइरहेको उनले बताए । केन्द्रले २०८३ सालमा कक्षा १ देखि ३ सम्मका सबै विषय, कक्षा ४–१२ को सामाजिक विषय, बालविकास र कक्षा ६ देखि ८ सम्मका सबै विषय, कक्षा ११ र १२ को सामाजिक विषयको पाठ्यक्रम परिमार्जन गरी लागू गर्ने तयारी गरेको छ ।
केन्द्रले कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको पाठ्यक्रम संशोधनको प्रक्रिया अगाडि बढाएको छ । यसका लागि कार्यदल गठन गर्ने, विभिन्न चरणमा पक्षपोषण सङ्कलन गर्ने, कार्यशाला, विद्यालयको अवलोकन गरेर विद्यालयबाट सुझाव प्राप्त गर्ने कार्य गरिसकेको केन्द्रले जनाएको छ ।
उनले २०८१ सालमा बालविकास, कक्षा १–३ र ४–१२ को सामाजिक विषय र कक्षा ६ देखि ८ सम्मका सबै विषयको पाठ्यक्रम परिमार्जन गरिने जानकारी दिए । २०८१ मा परिमार्जन गरिएको पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक आगामी २०८२ सालमा निर्माण गर्ने र २०८३ सालदेखि लागू हुने केन्द्रले जानकारी दिएको छ ।कक्षा ४, ५, ९ र १० को पाठ्यक्रम परिवर्तनका लागि २०८३ सालमा गृहकार्य गरिनेछ । आगामी २०८४ सालमा पाठ्यक्रम निर्माण भएका विषयको पाठ्यपुस्तक २०८५ सालदेखि लागू हुने छ ।
यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गरी सिकाइ पाठ्यपुस्तक केन्द्रित होइन पाठ्यक्रम केन्द्रित, विद्यार्थी केन्द्रित बनाइ पाठ्यक्रमलाई व्यावहारिक बनाउने गरी परिमार्जन गर्न लागिएको बताइन् ।
उनले पाठ्यक्रम तथा पाठ्यसामाग्रीमा के कस्ता सुधार गर्न सकिन्छ भन्ने बारेमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने तयारी गरिरहेको जानकारी दिइन् ।