After SEE Portal

सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब समान हुनुपर्ने

Bridge Course

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संस्थागत विद्यालयले शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् ।

प्रमुख शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षक तलब सुविधा समान हुनुपर्ने विद्यामान शिक्षा ऐन, नियमावलीमा व्यवस्था भएको हुँदा सोही अनुसार गर्न निर्देशन दिएका हुन् ।

सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयका शिक्षकहरुको तलब कम भएको भन्दै उनले नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई शिक्षकलाई तलब उपलब्ध गराउन संस्थागत विद्यालयलाई सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका छन् ।

शिक्षा ऐन, २०२८ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको उनले सामाजिक सञ्जालमा स्पष्ट गरेका छन् ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको प्रमुख शाहले स्मरण गराएका छन् ।

सरकारले तोकिदिएको तलब सुविधा प्राप्त नभएमा महानगरको शिक्षा विभागमा सम्पर्क गर्न प्रमुख शाहले अनुरोध गरेका छन् । महानगरको शिक्षा विभागका अनुसार महानगरमा ५ सय ४० वटा संस्थागत विद्यालयहरु छन् ।

 

A Levels MA