
काठमाडौँ । सरकारले विद्यालयहरूमा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) ले मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र २०83 देखि लागु हुने गरी विद्यालयहरूलाई शनिबार र आइतबार बिदा दिन र सोही अनुसारको शैक्षिक क्यालेन्डर मिलाउन निर्देशन दिएको हो ।
केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयहरूलाई परिपत्र गर्दै स्वीकृत पाठ्यक्रमले तोकेको वार्षिक कार्यघण्टा पूरा हुने गरी पठनपाठन व्यवस्थापन गर्न ६ बुँदे निर्देशन जारी गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अब विद्यालयहरूले हिउँदे र बर्खे बिदाबापत दिइँदै आएको ४५ दिनको अवधिलाई कटौती गरी ३० दिनमा झारेका छन् । त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म विद्यालयमा पूरा समय पठनपाठन सञ्चालन गर्नुपर्नेछ ।
केन्द्रको निर्देशनका मुख्य बुँदाहरू:
१. विद्यालयमा दैनिक १५ मिनेट प्रार्थना र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने ।
२. सोमबारदेखि शुक्रबारसम्म पूरा समय कक्षा सञ्चालन गर्ने ।
३. वार्षिक ४५ दिनको हिउँदे/बर्खे बिदालाई ३० दिनमा सीमित गर्ने ।
४. आन्तरिक मूल्याङ्कन पठनपाठनकै दिनमा गर्ने र अन्तिम परीक्षा तथा नतिजाका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन मात्र प्रयोग गर्ने ।
५. शुक्रबारको दिन विद्यार्थीहरूलाई परियोजना कार्य र प्रयोगात्मक कार्यमा सहभागी गराउने ।
यस निर्णयले हप्ताको दुई दिन बिदा हुँदा घट्न जाने कार्यघण्टालाई बिदा कटौती र अतिरिक्त समय व्यवस्थापनमार्फत पूर्ति गर्ने लक्ष्य लिएको छ ।







