After SEE Portal

एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिने

Bridge Course

यस पटक पनि पुरानै दरमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र छपाइ हुने भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र र राष्ट्रिय परीक्षा बोर्डबीच भएको सम्झौताअनुसार गत वर्षकै दरमा प्रश्नपत्र छपाइ गरिने भएको हो ।

केन्द्रका अनुसार प्रतिप्रश्नपत्र चार रुपियाँ ५१ पैसामा छाप्ने सम्झौता भएको छ । यसभित्र प्रश्नपत्रका साथै ग्राफ वा चार्टसमेत पर्ने गरेको छ ।

यस वर्ष करिब पाँच लाख विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । परीक्षाका लागि न्यूनतम ३५ लाख प्रति प्रश्नपत्र आवश्यक पर्दछ ।

यतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ । नमुना प्रश्नपत्र पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमा राखेको छ ।

प्रश्नपत्र छपाइमा करिब एक महिना लाग्ने छ । आगामी फागुनको पहिलो साताबाट प्रश्नपत्र छपाइ हुने बताइएको छ ।

जनक शिक्षासँग दुई वटा सेक्युरिटी प्रेस छ । हाल एउटामा हुलाक टिकट छपाइ कार्य भइरहेको छ भने अर्काे खाली छ । एक करोड २० लाख थान हुलाक टिकट छपाइ गरिने सेक्युरिटी प्रेस आगामी चैत मसान्तसम्म सोही छपाइमा व्यस्त रहनेछ ।

जनक शिक्षाका प्रवन्ध सञ्चालक अनिलकुमार झाले एउटा प्रेस खाली रहेको र त्यसमा एसईईका प्रश्नपत्र छपाइ गरिने जानकारी दिए । 

सेक्युरिटी प्रेसमा छपाइ गरिने जुनसुकै सामग्रीका लागि पनि तीन तहको सुरक्षा घेरा कायम गर्ने गरिएको छ । भित्र नेपाली सेना, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी बल र सबैभन्दा बाहिर नेपाल प्रहरीको घेरा रहने गरेको छ । सिसिटिभीसमेतको निगरानी रहने गरेको छ । सेक्युरिटी प्रेसमा जनक शिक्षाकै सम्बन्धित कर्मचारीबाहेकलाई समेत प्रवेश दिने गरिएको छैन । साथै त्यहाँभित्रको तस्बिर पनि खिच्न बर्जित गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books