After SEE Portal

मन्त्रीको स्कुलले गर्यो खोला अतिक्रमण

Bridge Course

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको लगानीमा रहेको लिट्टिल एन्जेल्स स्कुलले कर्मनाशा खोलालाई चरम रूपमा अतिक्रमण गरेको पाइएको छ ।

ललितपुरको हात्तिवनस्थित स्कुलले खोलाको दायाँ बायाँ भाग पूरै कब्जा गरेको छ । हात्तिवनस्थित कर्मनाशाको पुलको छेउ हुँदै बनेको बाटो सो स्कुलको ढोकामा टुङ्गिन्छ । जबकि त्यो बाटोले वारपार नै छिचोल्नुपथ्र्याे ।

स्कुलको करिब साढे तीन सय रोपनी जग्गा छ । खोला किनाराको जग्गा निकै सस्तोमा खरिद गरेर स्कुल निर्माण गरिएको थियो । खोलाको वहाब क्षेत्र नै कब्जा गरी साँघुरो बनाउनुका साथै दुवैतर्फ अतिक्रमण गरिएको पाइएको छ । विगत तीन दशकदेखि नै खोला अतिक्रमण गरिएको छ ।

स्थानीय बासिन्दा प्रेमप्रकाश श्रेष्ठले गुनासो गरे, “स्कुल परिसर सुरु भएपछि खोलामा जान पाउँदैनौँ । स्कुलको अनुमति लिनुपर्छ । यसरी खोला अतिक्रमण गरेर स्कुल निर्माण गरिएको सम्भवतः नेपालमा योमात्र स्कुल हो ।”

शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका राज्यमन्त्री श्रेष्ठले पछिल्लो समयमा शिक्षा बाहेक उर्जा, कृषि, पर्यटन लगायतका क्षेत्रमा पनि हात हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका श्रेष्ठले राजनीतिक शक्तिको आडमा खोला अतिक्रमण गर्ने आँट गर्दै आएका छन् ।

सरकारले यातायातको चापलाई कम गर्न हात्तिवनदेखि ग्वार्काेसम्म खोलाको दुवै किनारामा सडक विस्तार गर्ने योजना पटक पटक बनाए पनि राज्यमन्त्री श्रेष्ठका कारण सडक विस्तारको आँट गर्न सकेको छैन । “दुवै किनारामा सडक बनाउने भनेर धेरैपटक नाप जाँच गर्न आए” स्थानीय श्रेष्ठले भने, “तर उनीहरू स्कुलभित्र प्रवेश गर्ने आँट देखाउन सकेनन् । फिर्ता भए ।”

स्थानीयहरूका अनुसार स्कुलले कर्मनाशा खोलाको दुवै किनारामा गरी कम्तीमा एक सय रोपनी जग्गा अतिक्रमण गरेको छ । दुवै किनारामा स्कुल भवन निर्माण गरिएको छ र ठाउँ ठाउँमा पुल निर्माण गरी आउजाउको प्रबन्ध मिलाइएको छ ।

यस सम्बन्धमा राज्यमन्त्री श्रेष्ठसँग बुझ्न पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।

A Levels MA