Bachelors Portal

पहिलो साक्षर जिल्लाको साक्षरतादर घट्यो

सरकारले पहिलो पटक साक्षर जिल्लाका रुपमा सिन्धुपाल्चोकलाई २०७१ असार ३ गते घोषणा गर्यो । ५ वर्ष माथिका उमेर समूहका ९७ दशमलव ६२ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।

२०७१ सालमा २ दशमलव ३२ प्रतिशत निरक्षर रहेको सिन्धुपाल्चोकमा अहिले ३१ दशमलव ६ प्रतिशत  मानिस निरक्षर भइसकेका छन् ।

तत्कालीन शिक्षा कार्यालय सिन्धुपाल्चोकले औपचारिक तथा अनौपचारिक कक्षा मार्फत साक्षर बनाएको दाबी गर्दै जिल्लालाई साक्षर घोषणा गरिएको थियो । तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम अनौपचारिक शिक्षा केन्द्रका तत्कालीन निर्देशक बाबुराम पौडेल, स्थानीय राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवालालाई साँची बनाएर जिल्लालाई साक्षर घोषणा गरिएको थियो ।

 तर, राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा सिन्धुपाल्चोकको साक्षरता दर ६८ प्रतिशत रहेको छ। एक दशकको अवधिमा जिल्लाको साक्षर जनसंख्याको दर ३० प्रतिशतले घटेको छ ।

५ वर्ष वा सोभन्दा माथिका कुल २ लाख ४३ हजार ७५५ जनामध्ये ३१ दशमलव ६ प्रतिशत जनसंख्या निरक्षर छन् । ४७ हजार ९७३ महिला र २९ हजार १ सय ६१ पुरुष गरी कुल ७७ हजार १ सय ३४ जना नागरिकहरू निरक्षर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

साक्षरहरूको संख्या ६८ प्रतिशत अर्थात १ लाख ६५ हजार ८५४ रहेको तथ्यांकमा उल्लेख छ। जसमध्ये महिलाको संख्या ७६ हजार १०३ रहेको छ भने पुरुषको संख्या ८९ हजार ७५१ रहेको छ। कुल जनसंख्याको शून्य दशलमव तीन प्रतिशत अर्थात ७६७ जनाले सामान्य अक्षर पढ्न सक्ने रहेको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लालाई साक्षर घोषणा गर्दा १ देखि ९ सम्मका अंक लेख्न तथा १ देखि सयसम्म गणना गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने नसक्ने जाँच गरी मूल्याङ्कन गरी अनौपचारिक शिक्षा केन्द्रमा प्रतिवेदन पेश गरिएको थियो ।

साक्षरताका लागि विभिन्न १२ सूचकहरू तोकिएका छन् । साक्षर हुनका लागि राष्ट्रभाषा वा मातृभाषामा वर्ण र अक्षर पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न ५० देखि ९ सम्मका अंक अक्षर लेख्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने हुनुपर्छ ।

त्यस्तै लेनदेनका हरहिसाब राख्न सक्ने, सरल चित्र पोस्टर साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरी तिथि मिति बताउन सक्ने, बैंक भौचर भर्न र चेकको प्रयोग गर्न सक्ने भएपछि त्यो व्यक्ति साक्षर मानिने केन्द्रले  सूचक तयार गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)  २०८० मा सहभागी ३ हजार ६९४ परीक्षार्थी मध्ये करिब १  हजार ६३० जना मात्र ग्रेडेड  १ हजार ९०९ जनाको एनजी अर्थात नन ग्रेड आएको थियो ।

Thuprai - Books and E-books