शैक्षिक संस्था आजदेखि सञ्चालन आउने

 

विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ ।

गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन÷अध्यापन गराइँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आज देखि सञ्चालनमा  आएका छन् । गत बैशाखको दोस्रो साताबाट कोभिड १९ को दोस्रो भेरिएन्टको महामारीका कारण निषेधाज्ञा लागू भएको र लामो समय विद्यालयहरुको पठन पाठन तथा सिकाइ प्रक्रिया भौतिक उपस्थितिमा हुन नसकिरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ र स्मार्ट लकडाउन कार्ययोजना तथा महालक्ष्मी नगरपालिकाको विद्यालय सञ्चालन सम्बन्धि मापदण्ड, २०७७ बमोजिम कोभिड १९ को दोश्रो र तेश्रो भेरिएन्टको अवस्थालाई स्थानीय समुदाय र विद्यालय तहमा समीक्षा गरी विद्यालय भयरहित र सुरक्षित तवरमा सञ्चालनमा  आउने नगरपालिकाले एक् सूचना जारी गरी जानकारी दिएको छ । 

बालबालिकाहरुको सिकाई, परीक्षा एवम् मूल्याङ्कन प्रक्रियालाई भौतिक रुपमा उपस्थित गराई सहज बनाउन चाहने नगरपालिका भित्रका सबै विद्यालयहरुलाई विद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल र समीक्षा गरी विद्यालय व्यवस्थापन समितिको निर्णयसहित विद्यालय सञ्चालन कार्ययोजना पेस गरेका विद्यालय आजदेखि सञ्चालनमा आउने  नगर शिक्षा समितिले जानकारी दियो ।