After SEE Portal

उपल्ला पदाधिकारी विदेश सयरमा, शिक्षा मन्त्रालय सुनसान

Bridge Course

शिक्षा सेवासम्बन्धी काम लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जाँदै हुनुहुन्छ ? उसो भए रोक्किनुहोस् । उपल्ला दर्जाका कर्मचारी यतिबेला विदेश सयरमा छन् । उनीहरुलाई स्वदेश फर्किन दिनुहोस्, त्यसपछिमात्र मन्त्रालयमा जानुहोला ।

यतिबेला शिक्षा सेवाका कर्मचारीहरुलाई खुदो पल्टिएको छ । शाखा अधिकृतदेखि सचिवसम्म विदेश यात्रामा छन् । कोही जापान, कोही कोरिया र कोही युरोप भ्रमणमा व्यस्त छन् ।

शिक्षा मन्त्रालयमा दुई सचिव र पाँच महाशाखाका प्रमुख (सहसचिव)को जिम्मेवारी दीपक शर्मा एक्लैले बोक्दै आएका छन् । यतिबेला मन्त्रालयमा सहसचिव शर्मामात्र छन् । उनलाई शिक्षा र विज्ञान तथा प्रविधितर्फ दुवैको सचिवको निमित्तको जिम्मेवारी दिइएको छ । साथै मन्त्रालयका शिक्षातर्फका चार महाशाखा र प्रशासनको गरी पाँच महाशाखा पनि उनी एक्लैले हेर्दै आइरहेका छन् । विज्ञानतर्फका सचिव प्रमिला बज्राचार्य विरामी भएकाले उनी मन्त्रालयमा अनुपस्थित छिन् ।

शिक्षा सचिव रामकृष्ण सुवेदी, सहसचिव डा. हरिप्रसाद लम्साल, सहसचिव डा. कमलप्रसाद पोखरेल, सहसचिव भगवान अर्याल युरोप भ्रमणमा गएका छन् । उनीहरुका साथमा उपसचिव कुलबहादुर फडेरा, जयाप्रसाद आचार्य लगायतका उपसचिव पनि छन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल जिल्लामा चुनावी कार्यक्रममा व्यस्त छन् । 

शिक्षा मन्त्रालयका एक कर्मचारीले भने, “मन्त्री पनि छैनन्, सचिव पनि छैनन् । यतिबेला काम पनि छैन । हामीलाई पनि हलुङ्गो भएको छ ।” मन्त्रालयमा पुग्ने जोकोहीले चकमन्न अनुभव गर्ने गरेका छन् । प्रायः कर्मचारी भेटिदैनन् । “मन्त्रालय गुलजार त अब चुनावपछि मात्रै होला” अर्का कर्मचारीले भने ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको नेतृत्वमा जम्बो टोली यतिबेला जापानमा छ ।

यसबाहेक विभिन्न पालिकामा समेत कार्यरत शिक्षा सेवाका कर्मचारीहरु जापान र कोरियामा व्यस्त छन् । प्रायः पाँच दलीय गठबन्धन नजिकका कर्मचारीले विदेश भ्रमणको अवसर पाएको गाँइगुँइ मन्त्रालयका कोठाहरुमा सुनिँदै आएको छ ।

“कोभिडले विदेश यात्रा रोकिएको थियो” अर्का कर्मचारीले भने, “कोभिड पनि सक्कियो । ह्वार्रै सबै बाहिरिए ।” विदेश भ्रमणमा गएकाहरुको उद्देश्य नै रमाइलो गर्ने र घुम्ने रहेको कुरा सामाजिक सञ्जालमा पोस्ट्याइँएका फोटाले पुष्टि गर्ने गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books