A Levels MA

व्यवस्थापनका विभिन्न कार्यक्रममा कलेजले पर्याप्त विद्यार्थी पाएनन्, कक्षा १२ को नतिजा मंसिर १५ भित्र

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले गत भदौ ३० गते सिम्याट परीक्षा सञ्चालन गर्यो ।

सेमेस्टर प्रणाली अन्तर्गत त्रिवि स्नातक तहमा व्यवस्थापनतर्फका बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम र बीएमएस कार्यक्रममा भर्नाका लागि लिएको परीक्षामा ११ हजार १७३ जना विद्यार्थी उत्तीर्ण भए ।

प्रवेश परीक्षाका लागि ११ हजार ९९७ विद्यार्थीले आवेदन दिएको भए पनि सो परीक्षामा ११ हजार १८५ जनाले मात्र परीक्षा दिए । उक्त परीक्षामा ८१२ जना अनुपस्थित रहेका थिए भने ९ जना फेल भए । तीन जनाको नतिजा पेन्डिङमा राखिएको सहायक डिन तथा प्रवेश परीक्षा समिति संयोजक दिनेशमणि घिमिरेले जानकारी दिए ।

करिब ९ हजार ७५३ सिट क्षमता भएको त्रिविको स्नातक कार्यक्रममा अहिले सम्बन्धन प्राप्त तथा आङ्गिक कलेजहरूले भर्ना लिइरहेका छन् ।

स्नातक भर्ना धमाधम

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त कलेज अहिले धमाधम स्नातक तहमा भर्ना लिइ रहेका छन् ।

त्रिविले अन्य संकाय तथा संस्थान भन्दा पहिला नै सिम्याटको आवेदन तथा परीक्षा सञ्चालन गर्यो । अधिकांश विद्यार्थी पास पनि भए तर अहिले व्यवस्थापनका विभिन्न कार्यक्रममा कलेजको क्षमता अनुसार विद्यार्थी भर्ना हुन नआएको कलेजको गुनासो छ ।

धेरै कार्यक्रममा विद्यार्थी भर्ना हुन नआए पछि कलेज बन्द हुने अवस्थामा पुगेको कलेजका संरक्षक तथा सञ्चालकहरू बताउँछन् ।

विद्यार्थी कहाँ गए ?

न्यून विद्यार्थीले विषय परिवर्तन गरे भने धेरै विद्यार्थी विदेश अध्ययनका लागि जाने तयारीमा जुटेको हुँदा कलेजमा विद्यार्थीको संख्या न्यून भएको कलेज सञ्चालकहरू बताउँछन् । ‘केही विद्यार्थीले विषय परिवर्तन गरे आधि जति कक्षा १२ मा नै फेल भए, राम्रो जीपीए ल्याएका अधिकांश विद्यार्थी अमेरिका, जापान, क्यानडाको चक्करमा रुमलिए हामीले विद्यार्थी पाएनौं ।’ काठमाडौमा लामो समय देखि व्यवस्थापन संकायको कक्षा सञ्चालन गरिरहेका एक कलेज प्रमुख भन्छन्, ‘व्यवस्थापनका तीनओटा कार्यक्रम सञ्चालन हुने हाम्रो क्याम्पसमा अहिले सम्म ५० जना पनि विद्यार्थी आएकै छैनन् ।’

उच्च शिक्षाका लागि खासगरी नेपाली विद्यार्थीले विश्वका ३९ भन्दा बढी मुलुकलाई शैक्षिक गन्तव्य बनाएको देखिन्छ ।अस्ट्रेलिया, जापान, युके क्यानडा, इन्डिया अमेरिका लगायतका देश रहेका छन् । हरेक वर्ष ६० देखि ७५ हजार युवा विद्यार्थी विदेश अध्ययनका लागि जाने गर्दछन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कअनुसार कुल तीन लाख २३ हजार नौ सय ७२ जना विद्यार्थी विश्वका विभिन्न देशमा अध्ययन गरी रहेका छन् । मन्त्रालयको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक अध्ययन अनुमतिका लागि १ लाख १९ हजार ३०० विद्यार्थीले निवेदन दर्ता गराएका थिए । त्यसमध्ये १ लाख १४ हजार १३४ विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र प्रदान गरिएको उल्लेख गरेको छ ।सो प्रतिवेदनमा प्रकृया नपुगेका ५ हजार १६६ विद्यार्थीका निवेदन रद्द गरिएको थियो ।

गतवर्ष ६३ हजार तीन सय ५९ जनाले वैदेशिक अध्ययनका लागि निवेदन दिएका थिए । आव २०६८–६९ मा १० हजार तीन सय २४ र २०७४–७५ मा ५६ हजार दुई सय १६ जनाले अनुमति पाएका थिए । 

पछिल्लो समय नेपालमा नै पढाइ हुने विषयमा उच्च शिक्षाका लागि जाने विद्यार्थीको घुँइचो छ । खासगरी व्यवस्थापन, स्वास्थ्य, मानविकी, इन्जिनियरिङ र न्यून विद्यार्थी शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको चाम बढी रहेको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) का शाखाका प्रमुख वासुदेव वस्तीले जानकारी दिए । प्रमुख वस्तीका अनुसार पछिल्लो तीन महिनामा दैनिक चार सयदेखि पाँच सयले वैदेशिक अध्ययन अनुमति पत्र पाउने गरेका छन् ।

गतवर्ष ६३ हजार नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । उमुख्यतया उनीहरू ती देशमा स्वास्थ्य, व्यवस्थापन, विज्ञान प्रविधिलगायत विषयमा अध्ययन गर्न गएको देखिन्छ ।

विदेश अध्ययनका लागि हरेक पाँच वर्षमा चार गुणा बढी विद्यार्थी विदेशिने गरेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१७–१८ मा ५८ हजार ७५८ विद्यार्थी अध्ययनका लागि विदेश गएका थिए । यसमा अष्ट्रेलिया जानेको संख्या मात्र ६३ हजार दुई सय ५९ थियो । जबकि २०१३ मा मात्र जम्मा १६ हजार पाँच सय विद्यार्थी विदेश अध्ययन गर्न गएका थिए । सन् २०१८ को तथ्याङ्कमा ६९ राष्ट्रमा अध्ययनका लागि विद्यार्थी गएको पाइन्छ । यसरी जानेमा ६० प्रतिशतले अस्ट्रेलियालाई आफ्नो पहिलो शैक्षिक गन्तव्य बनाएका छन् ।

सिम्याट पुनः परीक्षाको विषयमा छलफल भएको छैनः डिन कार्यालय

डिन कार्यालयले गत भदैमा सञ्चालन गरेको सिम्याट परीक्षा लिइसकेको छ । सो परीक्षामा चिकित्सा स्वास्थ्य, ङन्जिनियरिङ, विज्ञान तर्फ भर्ना हुन चाहने तर विधिध कारणले भर्ना हुन नसकेका विद्यार्थीको दोस्रो प्राथमिकतामा व्यवस्थापनका कार्यक्रम पर्ने गरेका छन् । तर त्रिविले सिम्याट परीक्षा उत्तीर्ण नगरेका विद्यार्थीलाई व्यवस्थापन संकायको सेमेस्टर प्रणालीका कुनै पनि कार्यक्रममा भर्ना लिँदैन । त्यसैले ती विद्यार्थी पनि व्यवस्थापन संकायको कार्यक्रममा सहभागी हुन नपाएको कलेजहरूको दाबी छ ।

त्यस्तै, कक्षा १२को ग्रेड वृद्धि परीक्षाबाट उत्तीर्ण विद्यार्थीको रोजाइमा पनि व्यवस्थापन संकायका विभिन्न कार्याक्रम पर्न सक्ने हुँदा डिन कार्यालयले सिम्याट परीक्षा पुनः सञ्चालन गर्नु पर्ने कलेज प्रमुखहरू बताउँछन् ।

 व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा भने कक्षा १२ को नतिजा पछि मात्र केही भन्न सकिने अहिले यो विषयमा छलफल नभएको बताउँछन् ।

कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिर १५ भित्र

तथापि, कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा भने सार्वजनिक भएको छैन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर १५ गते भित्रै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आगामी मंसिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनले नतिजा प्रकाशनमा केही ढिलाइ हुने भएको बोर्डले जानकारी दियो ।

बोर्डले गत असोज ३० र ३१ पूरक परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १, ग्रेडवृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १ सय ३२ गरी ३ लाख ९६ हजार १ सय ८५ जना सहभागी भएका थिए उक्त परीक्षामा १ लाख ८८ हजार ४ सय १० विद्यार्थीले ‘ननग्रेड’ ल्याएका थिए । जसमध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) १ लाख ३० हजार ८७८ जना थिए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक नल्याएका विद्यार्थीलाई नन् ग्रेडमा राखेको थियो । नतिजा प्रकाशन पछि कति विद्यार्थी स्नातक भर्नाका लागि योग्य हुन्छन् त्यो त नतिजा आएपछि मात्र थाहा हुने त्रिवि व्यवस्थापन संकाय डिन कार्यालयले जानकारी दियो ।

Thuprai - Books and E-books