After SEE Portal

चीन सरकारले पुनः दरबार हाइस्कुललाई पोसाक, स्टेसनरी र खेलकुदका सामग्री दियो

Bridge Course

काठमाडौंको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) लाई चीन सरकारले विभिन्न स्टेसनरी र खेलकुदका सामग्री प्रदान गरेको छ ।

विद्यालयमा आयोजना गरिएको औपचारिक कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालयलाई स्टेसनरी, खेलकुदका सामग्री र ट्याकसुट हस्तान्तरण गरेका छन् ।

संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव अधिकारीका अनुसार विद्यालयमा अहिले संस्कृत धारतर्फ ३३३ र साधारणधार तर्फ ३८५ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयका सबै बालबालिकालाई एक एक जोर पुग्ने गरी ट्याकसुट, खेलकुदका सामग्री र विभिन्न खालका अभ्यास पुस्तिका, डिस्एवल मास्क, सेनीटाइजर लगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

संस्कृत मावि र भानुमाविलाई एउटै मात्राको छुट्टाछुट्टै सामग्री हस्तान्तरण

२०७२ को विनाशकारी भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको विद्यालयको नवनिर्मित भवन चीन सरकारको सहयोगमा निर्माण भएको हो । गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ निर्माण कम्पनीले विद्यालयको साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेको थियो ।  राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गरेर दरबार हाइस्कूलको उद्घाटन गरेकी थिइन् । विद्यालयको उद्घाटनपछि पनि कोरोनाका कारण गत माघ पाँच गतेदेखि मात्र भौतिक रुपमा सञ्चालनमा आएका हो ।

नौ रोपनी जग्गामा पुनःनिर्माण गरिएको विद्यालय चारतले भवन मा ६० कक्षाकोठा छन्। भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठककक्षसमेत व्यवस्थितरूपले निर्माण गरिएका छन्। ८५ करोड ५९ लाखको लागतमा सो विद्यालयको भवन पुनः निर्माण गरिएको हो । चीन सरकारले विद्यालयलाई भवनका साथ कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत उपलब्ध गराएको हो ।

सिटभन्दा बढी विद्यार्थी

भूकम्पपछि नवनिर्मित आधुनिक भवनको प्रत्येक कक्षाको विद्यार्थी क्षमता ३६ जनाको मात्र छ । विद्यालय भवन पुननिर्माणपछि कोरोनाको संक्रमणको अवस्थामा पनि विद्यार्थीको आकर्षण बढेको छ । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलाकै जस्तो देखिन्छ।

नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको छ । विद्यालय भवनको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन्। नयाँ भवनमा प्रयोशालाको सुविधा सहित कक्षा ९ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ। 

संस्कृत, अङ्ग्रेजी र नेपाली भाषामा पठनपाठन हुने सो विद्यालयमा गत वर्ष ८० मात्र विद्यार्थी थिए। कोरोनापछि हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आए । कक्षाकोठाको क्षमताभन्दा बढी विद्यार्थी आएपछि चालु शैक्षिकसत्रमा विद्यार्थी भर्ना कार्यक्रम रोकिएको विद्यालयले जानकारी दियो ।

विद्यार्थी बढेपछि यो वर्ष विद्यालयले कक्षाकोठाको सिट क्षमता बढाइएको छ । कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाइएको छ। अहिले हरेक कक्षामा ४०–४२ जना विद्यार्थीलाई पढाउन सकिने बनाइएको शिक्षक शान्ता सिटौलाले बताइन् ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो।

तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन यो विद्यालय खोलिएको थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कूल’ स्थापना गरिएको थियो । राजा–माहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो हाइस्कूलमा अङ्ग्रेजी पढाउन बेलायती शिक्षकले पढाउने गर्थे ।

विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था गरिएको थियो । विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोका नजिक सारेका थिए।विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था गरिएको थियो ।

A Levels MA