अक्षराङ्कन पद्धति पुनरावलोकन गरिँदै

विद्यालय तहमा अक्षराङ्कन पद्धतिका बारेमा पुनरावलोकन गरिने भएको छ । विशेष गरी एसईईमा सयौँ विद्यार्थीले जीपीए ४.० प्राप्त गरेपछि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पुनरावलोकनका लागि तत्परता देखाएको हो ।

परिषद्ले नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिलाई अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका शिक्षा क्षेत्र हेर्ने सदस्य प्रा.डा. उषा झाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले सरोकारवालासँग परामर्श गरी सुझाव लिएको छ । छिटै आफ्नो प्रतिवेदन बुझाउने छ ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले सयौँ विद्यार्थीले सहजै जीपीए ४.० प्राप्त गर्ने गरेको र यसले गर्दा जीपीए ४.० को ओज घटेको बताउँदै भने, “जीपीए ४.० प्राप्त गर्न निकै कठिन गर्नुपर्दछ तर सबै विषयमा ९० प्रतिशतभन्दा माथि ल्याएपछि जीपीए ४.० आउने अवस्थाले यसको गरिमा कायम हुन सकेन ।”

विगतमा तोकिएको विषय अध्ययन गर्न तोकिएको विषयमा निश्चित ग्रेड प्राप्त गर्नुपर्नेमा यसपटकबाट जुनसुकै ग्रेड प्राप्तले पनि जुनसुकै विषय अध्ययन गर्न पाउने नियम बनाइयो । यसले गर्दा कमजोर विद्यार्थी पनि व्यवस्थापन विषयमा भर्ना भए । उनले कुन विषय अध्ययन गर्न कुन कुन विषयमा के कति ग्रेड प्राप्त गरेको हुनुपर्दछ भन्ने पनि कार्यदलले सिफारिस गर्ने जानकारी दिए ।

विद्यालय तहमा कक्षा १ देखि १२ सम्म समान पद्धति बनाउन पनि कार्यदलले सिफारिस गर्नेछ । “फरक फरक तह र विद्यालयमा फरक तरिकाले अक्षराङ्कन पद्धतिबाट विद्यार्थीको मूल्याङ्कन हुँदै आएको छ । यसलाई एउटै मापदण्ड बनाउने उद्देश्य पनि लिइएको छ” सूचना अधिकारी भट्टराईले भने ।

परिषद्लाई बुझाइएको सिफारिसअनुसार नयाँ पद्धति लागू हुनेछ । परिषद्को अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ । 

Thuprai - Books and E-books