A Levels MA

पाँच सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

झापाका पाँच सामुदायिक विद्यायलमा चालू शैक्षिक सत्रदेखि प्राविधिक विषयमा अध्यापन शुरु गरिने भएको छ ।

सरकारको ‘एक स्थानीय तह, एक प्राविधिक शिक्षा’ नीति अन्तर्गत झापाका पाँच सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यापन हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख जयनारायण महतले जानकारी दिनुभयो ।

प्राविधिक विषयमा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशभरका १५० स्थानीय तहमा एक साथ प्राविधिक विषयको अध्यापन शुरु हुन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक स्थानीय तहमा एउटा विषय भनिए पनि यस वर्ष झापाका पाँच स्थानीय तहमा प्रविधिक विषयमा अध्यायन शुरु हुन लागेको हो ।”

झापा गापास्थित मोति मावि र गौरीगञ्ज गाउँपालिकास्थित गौरीगञ्ज माविमा कृषि विज्ञानको विषय अध्ययन गरिने भएको छ । त्यस्तै, हल्दिबारी गाउँपालिकास्थित हल्दिबारी नमूना मावि र झापा गाउँपालिकास्थित जनता माविमा बाली विज्ञान र बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माविमा कम्प्युटर इञ्जिनीयरिङ विषयमा प्राविधिक विषय अध्यापन हुने प्रमुख महतले जानकारी दिन्ुभयो ।

प्रत्येक विद्यालयले उक्त कक्षाका लागि ४८ विद्यार्थी भर्ना गर्ने छन् । झापामा यस वर्ष पाँच विद्यालयबाट २४० विद्यार्थीले प्राविधिक शिक्षा हासिल गर्न पाउने छन् । उनीहरुले कक्षा–९ देखि कक्षा–१२ सम्म तीन वर्षसम्म सम्बन्धित विषयमा अध्ययन गर्नेछन् ।

कक्षा सञ्चालनका लागि सरकारले प्रत्येक विद्यालयलाई माध्यमिक र निम्न माध्यमिकस्तरका एक÷एक शिक्षक उपलब्ध गराउने प्रमुख महतले जानकारी दिनुभयो । यसै शैक्षिक सत्रदेखि सरकारको पूर्ण अनुदान कोटामा बाली विज्ञान विषयमा पठनपाठन शुुरु गर्न लागिएको हल्दिबारी नमूना माविका प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनले बताउनुभयो ।

“बाली विज्ञान अध्यापनका लागि हल्दिबारी गाउँपालिकाले सिफारिस र स्वीकृति दिएपछि पढाइ शुरु गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “यसै शैक्षिक सत्रदेखि ४८ जनाको कोटामा प्राविधिक तथा व्यावसायिक धारतर्फ कक्षा ९ देखि पढाइ शुुरु गर्छौँ ।”

स्थानीयस्तरमै प्राविधिक विषयको पठाइ हुने भएपछि महङ्गो शुल्क तिरेर प्राविधिक विषयको अध्ययनका लागि अन्यत्र जानुनपर्ने भएको छ । गाउँपालिकाले तय गरेको ‘हल्दिबारीको दृष्टि कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने कार्यक्रमलाई लक्षित गरी कृषि प्राविधिक उत्पादन गर्ने लक्ष्यका साथ यो विषयको पठनपाठन शुुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

हल्दिबारी माविलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव विकास स्रोत विकास केन्द्र सानो ठिमिले यही वैशाख २ गते बाली विज्ञान विषय अध्यापनको स्वीकृति दिइसकेको छ । कक्षा–९ मा भर्ना लिएर क्रमशः कक्षा–१२ सम्म लैजाने लक्ष्य रहेको प्रधानाध्यापक पाख्रिनले बताउनुभयो । विद्यार्थी भर्नाका लागि यही वैशाख २६ गते प्रवेश परीक्षा लिई ३० गतेदेखि कक्षा सञ्चालन गरिने भएको छ ।

Thuprai - Books and E-books