पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयको

कैलालीको धनगढी नमुना प्राविधि माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई गलत विषयको पठनपाठन गरिएको पाइएको छ । प्राविधिक धारतर्फका विद्यार्थीलाई सामाजिक शिक्षा अध्यापन गर्नुपर्नेमा साधारण धारतर्फको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्यापन गरिएको पाइएको छ । 

शुक्रबार भएको कक्षा १२ को वार्षिक परीक्षाका क्रममा प्रश्नपत्र देखेपछि विद्यार्थीले आफूले अध्ययन नै नगरेको विषयको प्रश्नपत्र सोधिएको भन्दै हंगामा गर्न थालेपछि यो तथ्य बाहिर आएको हो ।

एक अभिभावकले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एडुपत्रलाई फोनमार्फत भने, “हाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ । विद्यार्थीहरु रातभर रोएका छन् । आगामी परीक्षाका लागि पढ्ने उनीहरुको उत्साह मरेको छ, सबै चिन्तामा छन् ।”

उनका अनुसार यो विषयलाई लिएर विद्यालय प्रशासन र सामाजिक शिक्षाका शिक्षकका विरुद्ध अदालतको ढोका ढकढक्याउने निर्णय अभिभावकले गरेकाले आइतबार रीट दायर गर्ने सोच बनाइएको छ ।

आफूले अध्ययन नै नगरेको पाठ्यपुस्तकबाट प्रश्नपत्र आएपछि परीक्षा केन्द्रले विद्यार्थीलाई मोबाइल फोन चलाउने सुविधा दिएको थियो । “जसले मोबाइल फोन गरेर उत्तर जान्न सके तिनले केही उत्तर लेख्न सके, जसले मोबाइल नै लगेका थिएनन् वा मोबाइलबाट सोध्न सक्ने अवस्था थिएन तिनीहरुले खाली उत्तरपुस्तिका छोडेर आएका छन्” ती अभिभावकले भने । धनगढी नमुना माविका ती परीक्षार्थीको केन्द्र सरस्वती मावि मनेहरामा परेको छ ।

यस विषयमा सो माविका प्रधानाध्यापक लक्ष्मण भट्टसँग जिज्ञाशा राख्दा उनले गत वर्षबाट पहिलो पटक नयाँ विषय लागू भएको र सुरुमा समयमा पाठ्यपुस्तक नआउँदा पाठ्यक्रमका आधारमा अध्यापन गर्न शिक्षकलाई निर्देशन दिइएको बताए । “शिक्षकलाई पाठ्यक्रमका आधारमा विषयवस्तु संकलन गरेर पढाउन सुरु गर्नुहोस् भन्यौ । उहाँले पढाउन सुरु गर्नुभयो । कक्षा १२ मा साधारणधारको सामाजिक पुस्तक छिटै आयो । साधारण र प्राविधिकको विद्यालय हाता एउटै छ । साधारणवालाका किताब नै पढ्न थाले प्राविधिकका विद्यार्थीले । विद्यार्थी अभ्यस्त त्यसमा भए । शिक्षक र विद्यार्थी दुवैले प्राविधिकको पाठ्यपुस्तक खोजेनन्” उनले भने, “तर शिक्षकसँग सोधिसकेका छौँ । शिक्षकले आफूले पाठ्यक्रमअनुसार नै प्राविधिक तर्फको पाठ्यपुस्तक पढाएको बताउनुभएको छ । एउटामात्र प्रश्न नपठाएको परेको हो, बाँकी छ पढाउनुभएकै आएको छ ।” 

सो विद्यालयमा साधारणतर्फ २५० र प्राविधिकतर्फ ४८ जना परीक्षार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् ।

Thuprai - Books and E-books