Thuprai - Books and E-books

स्थानीय सरकारबाट ऋण लिएर पढ्दैछन् विद्यार्थी

परिवारको दैनिक गर्जो टार्ने समस्या । आम्दानी छैन । कृषिका भरमा निर्भर परिवार । वैकल्पिक व्यवसायका रुपमा बुबाले ट्र्याक्टर चलाएर कमाएको पैसाले बिहान बेलुका छाक टार्ननै धौधौ भएकै समयमा भक्तपुरकी संगीता तुईतुई गतवर्ष नोबल कलेजमा बीएस्सी नर्सिङमा भर्ना भइन् । जसोतसो उनले कलेजमा भर्ना फि त बुझा्इन् तर उनलाई अन्य शुल्क तिर्न समस्या भयो ।

कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनका अगाडि आफ्नो पढाइ पुरा गर्न चुनौती देखा पर्यो । भर्ना भएको केही महिनापछि आफ्नो पढाइ छाड्नु पर्ने अवस्था आइपर्यो ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले गोल्मढीस्थित उनको घर भत्काएपछि लिवालीमा टहरामा दिन गुजारा गर्दै आएका उनलाई त्यो समय आफ्नो पढाई पुरा गर्नु फलामको च्युरा चपाउनु जस्तै कठिन भयो ।

पढाइ छाड्ने मनस्थितिमा पुगेकै बेला भक्तपुर नगरपालिकाले उनको समस्या समाधानको विकल्प निकाल्ने नीति अवलम्बन गर्यो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी  नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गर्यो । उक्त नीतिमा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत कर्जा ÷ शैक्षिक ऋण प्रवाह गर्ने व्यवस्था गर्यो । उनी श्रीर्षकको कर्जा लिएर आप्mनो पढाइ अघिबढाउँदै आएकी छिन् ।

‘घरबाट कलेजलाई तिर्नु पर्ने शुल्क तिर्न सक्ने अवस्था छैन,’ संगीता भन्छिन्, ‘भएको खेतबारी पनि भूकम्पले भत्काएको घर बनाउने आशमा बेचियो । तर घर खर्च र पढाईमै अलिअलि गर्दागर्दै सबै सकियो । घर बनेन । पढाइ पनि बिचैमा छाड्ने अवस्थामा पुगैकै वेला नगरपालिकाले ऋण दिएपछि पढाइलाई निरन्तरता दिन सके ।’

उनकी दिदी, बहिनी र एक भाइ छन् । पढाई खर्च नभएकैले संगीताकी दिदीले स्नातक पुरा गर्न सकिनन् । संगीता आफै पनि केएमसी अस्पतालमा कामगर्दै पढ्दै आएकी छन् । उनको मासिक कमाइले आपूm र भाइबहिनीको पढाई धान्न गाह्रो हुँदै गएको थियो । दिदी झैं संगीता पनि आफू नपढी भाइबहिनी पढाउने सोचमा थिइन् । तर यही बेला नगरपालिकाले शैक्षिक ऋणको सूचना निकाल्यो । उनले ऋण लिएर गत वर्षदेखि पढ्दै आएकी छिन् ।

नगरपालिकाबाट पाँच लाख ऋण ६ प्रतिशत व्याजदरमा लिएर आफ्नो पढाइलाई निरन्तरता दिँदै आएकी छिन् । आपैm कमाएर तिर्ने उनको योजना छ ।

उनी जस्तै, भनपा ८ का असीम छुस्यावाग पनि बीर अस्पतालको न्याम्समा अप्टोमेट्री तथा भिजन साइन्स विषयमा अध्ययनरत छन् । उनी तिलगंगा आँखा अस्पतालमा नेत्र सहायकका रुपमा कार्यरत थिए । पढ्नकै लागि अस्पतालबाट विदा लिए । पढाइ खर्चकै लागि सञ्चयकोशबाट ऋण लिए । तर उनलाई कोषको ऋणले मात्र पढ्न पुगेन । संकटमा भैतारिरहेकै बेला उनले पनि नगरपालिकाले प्रवाह गर्ने ऋण लिएर आफ्नो पढाइलाई अघि बढाएका छन् । ‘चार वर्षको कोर्ष पढ्न करीब सात लाख रुपैँया लाग्छ,’ उनले भने, ‘त्यसमध्ये पाँच लाख रुपैँया नगरपालिकाबाट लिएँ, कमाउँदै तिर्ने सोचमा छु ।’

त्यस्तै गत वर्ष बीएस्सी नर्सिङ अध्ययनरत युना ध्वोजुले पनि कलेजलाई तिर्नु पर्ने पाँच लाख ३८ हजार तिर्न नसकैबेला नगरपालिकाले प्रवाह गरेको ऋण लिएर आफ्नो पढाइलाई निरन्तरता दिँदै आएकी छिन् । ‘बिएस्सी नर्सिङ पढाउन ११ लाख जति लाग्छ । ११ लाख मध्ये ६ लाख उनले तिरी सकेपछि कलेजलाई तिर्न समस्या भयो ।’ बुवा हरिकृष्ण भन्छन्, ‘कलेजमा तिर्न बाँकी पाँच लाख ३८ हजार नगरपालिकाबाट ऋण लिएर तिरिदिए, अब छोरीले ढुक्कले पढेर ऋण तिर्ने भन्नेमा विश्वस्त छु ।’

स्थानीय ज्ञानतारा विद्यालयमा लेखापालको तलवले विहान बेलुका हातमुख जोर्न मात्र पुग्ने र अलिअलि भएको पैसा सकिएकै बेला नगरपालिकाको यो नीति वरदान झै भएको हरिकृष्ण बताउँछन् ।

भार्वाचो १ की रचना न्याईच्याई एन्सी आइटीबाट कम्प्युटर इन्जिनियरिङ गर्दैछिन् । यो कोर्स पूरा गर्न ३ देखि ४ लाख रुपियाँ लाग्छ । उनका बुवा फर्निचरको काम गर्छन् । पहिलो वर्षमा लाग्ने एक लाख रुपैँया बैंकबाट ऋण लिएर कलेजमा बुझाइन् । तर बाँकीको पढाइका लागि उनलाई समस्या देखा पर्यो । बैंकको चर्काे व्याजदर तिर्न नसक्ने भएकाले उनी पनि पढाइ छोड्ने अवस्थामा पुगेकै बेला गतवर्ष नगरपालिकाले प्रवाह गरेको शैक्षिक लोन लिएर आफ्नो पढाइलाई अगाडि बढाउँदै आएकी छन् ।

बाँसबारीको नमुना कलेजमा फेसन डिजाइनिङ तर्फ तेस्रो वर्षमा अध्ययनरत छिन्, भार्वाचोकै जुनु शिल्पकारले पनि नगरपालिकाबाट शैक्षिक लोन लिएर आफ्नो पढाइलाई अगाडि बढाउँदै आएकी छिन् । उनलाई यो कोर्स सक्न ६ लाख रुपियाँ लाग्छ । बुवा सहकारीमा कर्मचारी छन् । सहकारीबाटै ऋण लिएर उनले कलेजको शुल्क बुझाउने गरेकी थिइन् । ‘घरमा भनेको बेला पैसा नहुने, जहिल्यै तिर्न ढिला हुन्थ्यो,’ उनले भनिन् ।

तालाक्व ४ का ३८ वर्षे दिनेश प्रधानले हिमालयन इन्स्टीच्युट अफ साइन्स एण्ड टेक्नोलोजीबाट मास्टर इन इन्जिनियरिङ म्यानेजमेन्ट गर्दैछन् । यसको पुरै कोर्स सक्न चार लाख बीस हजार जति लाग्छ । सहकारीबाट १२ प्रतिशत व्याजदरमा उनले दुई लाख ३४ हजार ऋण लिएर कलेजमा तिरे । नगरपालिकाले ऋण दिएपछि उनी पनि सोही ऋणले कलेजमा तिरेर पढ्दैछन् । उनी पार्टटायम स्थानीय विद्यालयमा पढाउँछन् । पाएको पैसा उनले नगरपालिकाको ऋण तिर्न जोहो गरेको बताए ।

ऋण भुत्तानी प्रक्रिया

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले आफ्नो राजपत्रमा चौथो नगर सभा २०७५ बाट शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ पारित गर्यो ।

निर्देशिका बमोजिम स्वीकृति शैक्षिक ऋण रकम एकमुष्ट वा किस्तामा उपलब्ध गराउइने व्यवस्था छ । शैक्षिक ऋण लिएका विद्यार्थीहरुले आफूले लिएको ऋण रकम शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको मितिले एकवर्षभित्र रकमको न्यूनतम २५ प्रतिशत तिर्नुपर्नेछ । त्यस्तै शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको मितिले दुई वर्षभित्र ऋण रकमको न्यूनतम ५० प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चौथो वर्षभित्र सबै ऋण रकमको शतप्रतिशत साँवा व्याज तिर्नुपर्नेछ । उपरोक्त समयावधिभित्र ऋणको सावा व्याज नतिरेमा तिर्न बुझाउनुपर्ने सावा व्याजको ५ प्रतिशत हर्जना गरी असुल उपर गराइन्छ भन्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

त्यस्तै उपलब्ध गराइएको ऋण निवेदकले अध्ययनको क्रममा दुरुपयोग गरिएको पाइएमा वा अन्य कार्यमा प्रयोग गरिएको खण्डमा बाँकी ऋण वा उपलब्ध गराउनुपर्ने ऋण रोक्का राखी दफा ५ मा उल्लेख भएअनुसार विद्यार्थी र निजको साक्षी बसेका एका परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सेवाबाट बञ्चित गरिनेछ । सरकारी बाँकी सरह असुल उपर गरिने नियम छ ।

नगरपालिकाले आव २०७५र७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो। भने, २०७६र७७ मा ९१ विद्यार्थीसंग सम्झौता गरेको थियो । चालु आवका लागि नगरपालिकाले इच्छुक विद्यार्थीलाई गत २२ गते एक सूचना जारी गरी सो मितिको १५ दिन भित्र आवश्यक प्रक्रिया पुरा गरी निवेदन दिन सूचित गरेको छ ।