A Levels MA

विद्यार्थी र सक्रिय सुनाइ

सक्रिय सुनाइ बिना असल सिकाइ हुने कुरा परिकल्पना गर्न पनि सकिँदैन । विद्यार्थीलाई सक्रिय स्रोता बनाउन सकिएमात्र शिक्षण क्रियाकलाप सफल हुन्छ । शिक्षकले विद्यार्थी संलग्नता र सहभागितालाई बढाउने, उनीहरुलाई प्रोत्साहित गर्ने विभिन्न रणनीति र तरिका प्रयोग गरी सक्रिय सुनाइलाई सुदृढ गर्न सकिन्छ । यसका लागि त्यस्ता केही उपयोगी तथा प्रभावकारी विधि के के हुन सक्छन् भन्ने बारेमा यसमा चर्चा गर्ने प्रयास गरिएको छ । क) विद्यार्थीको इच्छा वा चाहना थाहा पाउनेसक्रिय सुनाइ के हो ? किन यो आवश्यक छ ? यसको के महत्व छ ? जस्ता विषय विद्यार्थीलाई स्पष्ट नभएसम्म उनीहरू सक्रिय सुन्नको लागि तयार हुँदैनन् । यसमा ध्यान दिएर सुन्ने वा केन्द्रित गर्ने, आँखाको माध्यमबाट प्रतिक्रिया दिने, आँखामा आँखा जुधाएर हेर्ने, आँखाको भाषा बोल्ने, इसारा गर्ने, टाउको  निहुराउने र उचित प्रतिक्रिया दिने जस्ता विषय समावेश छ भने त्यो सक्रिय सुनाइ हुन्छ ।

ख) उद्देश्य र सान्दर्भिकता स्पष्ट पार्नेविद्यार्थीलाई उनीहरूको दीर्घकालीन सिकाइ, सिकाइ उपलब्धि वृद्धि र शैक्षिक सफलताको लागि किन सक्रिय सुनाइ आवश्यक छ भनेर बुझ्न मद्दत गर्नुहोस् । बुझाउनुुहोस् । यसले विद्यार्थीको बोध, समझ, आलोचनात्मक सोच र सञ्चार क्षमता बढाउँछ भन्ने कुरामा सचेत बनाइदिनुहोस् ।

ग) नमुना प्रदर्शन गर्नेशिक्षक आफैं संलग्न भएर मोडलको रुपमा व्याख्यान, छलफल वा प्रस्तुतीकरणको समयमा सक्रिय सुन्न सुनाउन कसरी सकिन्छ भनेर देखाउनु जरुरी छ । ‘बडी ल्याङ्वेज’, ‘आइ कन्ट्याक्ट’ जस्ता कुराको प्रयोग सक्रिय सुनाइमा कसी हुन्छ भनि देखाउन सकिन्छ । के बोल्ने, कसरी बोल्ने, जवाफ के कसरी दिने जस्ता कुरा शिक्षकले गरेर देखाउनु आवश्यक हुन्छ । सक्रिय सुनाइ के हो र योसँग व्यवहार कसरी गर्ने भन्ने कुरा स्पष्ट पार्नु जरुरी हुन्छ ।

घ) अन्तरक्रियात्मक शिक्षण विधि प्रयोग गर्नेपरम्परागत विधिको ठाउँमा विद्यार्थीलाई सक्रिय सिकाइ गतिविधिमा संलग्न गराएमा सक्रिय सुनाइ हुन्छ । यसले गर्दा उनीहरूलाई ध्यानपूर्वक सुन्न र सक्रिय रूपमा प्रतिक्रिया दिन आवश्यक हुन्छ ।  समूह छलफल, बहस, समस्या समाधान गर्ने अभ्यास र सक्रिय सुन्न तथा सहभागितालाई उत्तेजित गर्ने ‘ह्यान्ड्स–अन’ गतिविधि समावेश गर्नु आवश्यक छ ।

ङ) मल्टिमिडियाको प्रयोगभिडियो, पोडकास्ट र अन्तरक्रियात्मक अनलाइन प्लेटफर्ममा पाइने सामग्रीजस्ता अनलाइन र आइसिटीमा आधारित मल्टिमिडिया स्रोत प्रयोग गरे सक्रिय सुनाइ हुनसक्छ । सिकाइ अनुभवलाई फरक पार्न, यसमा आशातित सुधार गर्न यी यस्ता स्रोतले सहयोग गर्दछ । विद्यार्थीको ध्यान खिच्न, बुझ्ने क्षमता बढाउन र सक्रिय सुन्न प्रोत्साहित गर्न सक्छन् ।

च) नोट गर्ने गतिविधिको प्रयोगसुनेर विद्यार्थीलाई बुँदा टिपोट गराउने, केही कुरा बुझेको नोट लिने, नबुझेको कुरा सोध्न नोट लेख्ने जस्ता रणनीति प्रयोग गर्न सकिन्छ । यसका लागि ‘माइन्ड म्यापिङ’ गर्ने क्रियाकलापमा ध्यान दिनु आवश्यक हुन्छ ।

छ) सुन्ने र सोच्ने चिन्तनशील प्रश्न प्रयोग गर्नेविद्यार्थीलाई सुनेर केही गर्ने, लेख्ने, बोल्ने जस्ता क्रियाकलाप गर्न लगाउनु आवश्यक छ । पहिला ध्यान दिएर सुन्ने र सुनेपछि कल्पना गर्न, विचार गर्न, सोच्न उत्प्रेरक प्रश्न तयार गरेमा सक्रिय सुनाइमा सहजै परिवर्तन गर्न सकिन्छ । सुनाइसँगै सक्रियता र संलग्नता बढाउँदै, उनीहरूलाई आफ्ना विचार, व्याख्या र अन्तर्दृष्टि ‘सेयर’ गर्ने प्रोत्साहन दिनु आवश्यक हुन्छ ।

ज) कक्षाकोठाको वातावरण तयार गर्नेकक्षाकोठा सम्बन्धित कार्यका लागि उपयुक्त, साधन सम्पन्न, सुरक्षित र सम्मानजनक हुनु जरुरी हुन्छ । वातावरणले सिकाइलाई ठूलो असर र प्रभाव पार्छ । विद्यार्थीले आफ्ना विचार व्यक्त गर्न सहज महसुस गर्छन् । सबै विद्यार्थीको सक्रिय सहभागितालाई प्रोत्साहन दिनुपर्छ । उनीहरूको सुनाइ सीपको विकास गर्न र आवश्यक सुधार गर्न मद्दत गर्न शिक्षकले सही, सकरात्मक र रचनात्मक प्रतिक्रिया प्रदान गर्नु आवश्यक हुन्छ ।

झ) उपयुक्त अभ्यासको प्रयोगशिक्षकले विद्यार्थीका लागि विशेष र आकर्षक प्रकारको गतिविधि समावेश गरेमा मात्र उनीहरुमा सक्रिय सिकाइ कौशलको विकास हुन्छ । उदाहरणका लागि अभ्यास सञ्चालन गरेपछि त्यसको सारांंश वा व्याख्या गर्न लगाउने । सो सम्बन्धमा अन्य कुरा थप गर्न लगाउने गर्न सकिन्छ ।

ञ) मूल्याङ्कन गरी प्रतिक्रिया प्रदान गर्नेनियमित रूपमा क्विज, असाइनमेन्ट, प्रस्तुतीकरण वा कक्षा सहभागितामार्फत विद्यार्थीहरूको सुन्ने सीपको मूल्याङ्कन गरी उनीहरूलाई उनीहरूको राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा मद्दत गर्ने, समयमै र रचनात्मक प्रतिक्रिया दिने गर्नु जरुरी छ ।हामीले याद गर्नुपर्ने कुरा के हो भने सक्रिय सुनाइका सीपको विकास गर्न सकिन्छ तर यसका लागि समय लाग्छ र धेरै अभ्यास गर्न गराउन जरुरी हुन्छ । माथि उल्लेखित तरिका, विधि वा रणनीतिलाई निरन्तर रूपमा लागू गरेर र सहयोगी सिकाइ वातावरण सिर्जना गरेर सक्रिय सुनाइ गर्न सकिन्छ । हामीले विद्यार्थीलाई उनीहरूको सुन्ने क्षमता विकास गर्न र सक्रिय स्रोता बन्न सकारात्मक साथ सहयोग र मद्दत गर्नु पहिलो काम हुन आउँछ ।

लेखक प्रधानाध्यापक तथा अङ्ग्रेजी विषयका शिक्षक हुन् ।

 

Thuprai - Books and E-books