शङ्खरापुरमा अनलाइनबाट परीक्षा

काठमाडौँको शङ्खरापुर नगरपालिकाले आजबाट अनलाइन माध्यमबाट कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गरेको छ । नगरपालिकाले अनलाइनबाट कक्षा ८ को परीक्षा सञ्चालन गरेको देशमै पहिलो पालिकाका रुपमा दाबी गरेको छ ।

सो नगरपालिकाका २१ विद्यालयका ४७० परीक्षार्थीमध्ये सवा चार सय जति परीक्षार्थी परीक्षामा सम्मिलित भएका छन् । हरेक दिन दुईवटा विषयका परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरिएको छ ।

सो नगरपालिकाका शिक्षा प्रमुख बौद्धराज निरौलाले केही इन्टरनेटको समस्या र केही विरामी परेकाले परीक्षामा सहभागी हुन नसकेको बताउँदै अनुपस्थित भएका परीक्षार्थीका हकमा पछि अरु व्यवस्था गर्ने जानकारी दिए ।

परीक्षा आधा घण्टासम्म सञ्चालन गरिएको थियो भने परीक्षार्थीहरुलाई जुममा अनिवार्यरुपमा ‘भिडियो अन’ गरेर बस्न निर्देशन दिइएको थियो । ‘भिडियो अन’ नगर्ने परीक्षार्थीको मूल्याङ्कन नगर्ने चेतावनी पालिकाले दिएको थियो । वस्तुगत प्रश्न सोधिएका थिए ।

पालिकाले ५३ प्रतिशतका लागि आजबाट परीक्षा सञ्चालन गरेको छ भने बाँकी ४७ प्रतिशत विद्यालयले मूल्याङ्कन गर्नेछ । पहिलो र दोस्रो त्रैमासिक परीक्षाको अङ्क विद्यालयले प्रदान गर्नेछ ।परीक्षा सुरु हुनु पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस्तो अभ्यास अनुकरणीय रहेको बताए । 

Thuprai - Books and E-books