छिटफुट घटना बाहेक एसईई शान्तिपूर्णः नियन्त्रक

गत चैत्र १७ गतेदेखि सञ्चालन हुँदै गरेको २०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसईई केही स्थानमा भएको छिटफुट घटना बाहेक शान्तिपूर्ण सम्पन्न भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले जानकारी दियो ।

बोर्डले तय गरेको समयतालिका अनुसार आजसम्म अङ्ग्रेजी, गणित, नेपाली, विज्ञान विषयको परीक्षा सकिएको छ भने आज सामाजिक अध्ययन विषयको परीक्षा भइरहेको छ ।

आजसम्म आइपुग्दा मधेश प्रदेशका केही स्थानमा बाहेक अन्य स्थानमा परीक्षा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले बताए । ‘प्रदेश दुईका एक दुईस्थानमा अनियमितता गर्ने कोशिष भएको पाइयो,  कतै मेयरको परीक्षा अर्कैले पनि दिए कतै प्रश्नपत्र बाहिरियो ।’ नियन्त्रक श्रेष्ठले भने, ‘अनियमितता गर्ने खोज्नेलाई नियन्त्रणमा लिइएको छ मधेश प्रदेशमा पनि शिक्षामा सुधार हुनुपर्छ भन्ने चेतनाको विकास भएको पाइयो, समग्रमा एसईई सन्तोषजनक नै भइरहेको छ ।’

बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

एसईईमा करिब एक प्रतिशत विद्यार्थी अनुपस्थित रहेको र तीमध्ये बढी छात्र भएको नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

एसईई ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रबाट भइरहेको छ  यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक किरियापुत्रीले परीक्षा दिएका छन् । जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसईई परीक्षा दिएका हुन् ।

यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसईईमा सहभागी भएका छन् । उनीहरुलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार २२७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै, जापानमा रहेका १४  विद्यार्थीले परीक्षा दिइरहेका छन् । परीक्षा सञ्चालनका लागि७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रुपमा  परिचालन  भएका छन् । यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन  हुनेछ ।

 

Thuprai - Books and E-books