After SEE Portal

एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुनेछ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसै साता दुवै परीक्षाका तालिका सार्वजनिक गरिने बताए । “तालिका सार्वजनिक भएपछि परीक्षाका बारेमा विद्यार्थी, शिक्षक तथा अभिभावकमा भइरहेको अन्योल हट्नेछ” उनले भने, “हामी आन्तरिक गृहकार्यमा व्यस्त छौँ । ओमिक्रोनको समस्याका कारण परीक्षा हुँदैन भन्ने भ्रमबाट मुक्त रहन आग्रह गर्छाैँ ।” 

उनले धेरै जिल्लामा सम्पर्क राख्दा प्रायः दुर्गमका विद्यालयमा कोर्स नसकिएका कारण परीक्षालाई एक महिना पर सार्न लागिएको बताए । “दुर्गम र ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइनको पहुँच नपुग्दा गएको भदौबाट मात्र राम्ररी पढाइ हुन थालेको जानकारी पायौँ । अहिले फेरी शिक्षण संस्था बन्द भएको छ । कोर्स सक्न दिनुपर्छ” उनले भने । आगामी चैत महिनामा शिक्षक सेवा आयाेगले  शिक्षककाे स्थायी परीक्षा सञ्चालन गर्न लागेकाले पनि एसईई केही साता पछि धकेलिन लागेकाे हाे ।

उनले कुन विधिबाट दुवै परीक्षा सञ्चालन गर्ने भन्नेमा त्यस बेलाको अवस्था हेरेर तय हुने बताए । बोर्डका अध्यक्ष डा. शर्माले गएको पटक कक्षा १२ मा अवलम्बन गरिएको परीक्षा विधिलाई नै एसईईमा प्रयोग गर्न सकिने बारेमा छलफल भइरहेको पनि जानकारी दिए ।

“प्रश्नपत्र छाप्नै पर्छ भन्ने छैन । इमेलबाट प्रश्नपत्र परीक्षा केन्द्रमा पठाइदिने र परीक्षा केन्द्रले परीक्षा सुरु हुनुभन्दा केही समयअघि प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्नसक्नेछन्” उनले भने, “जुन केन्द्रमा इन्टरनेटको समस्या हुन्छ ती केन्द्रमा छपाइ गरेर प्रश्नपत्र पठाउन सकिन्छ । यसो गर्दा कम समयमा प्रश्नपत्र तयार गरेर पठाउन सकिने अवस्था रहन्छ ।”

व्यवस्थापिका संसदअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो । यसप्रति मन्त्रालय र बोर्डका पदाधिकारी सहमत छैनन् । बोर्डले एसईईलाई प्रदेशस्तरमा सञ्चालन गर्नुपर्ने तर खारेज गर्न नमिल्ने धारणा मन्त्रालयसमक्ष पेश गरिसकेको छ ।

बोर्डका अध्यक्ष डा. शर्माले विद्यार्थीको सिकाइ मूल्याङ्कन नगर्ने कुरा उपयुक्त होइन र सिकाइमा गुणस्तर कायम गर्न परीक्षा लिने चलन रहेको उल्लेख गर्दै भने, “एसईई सञ्चालनको जिम्मेवारी सात वटै प्रदेशस्तरमा हस्तान्तरण गर्न सकिन्छ ।”

शिक्षाको नयाँ संरचनाअनुसार कक्षा ८ को परीक्षा स्थानीयस्तरमा, कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमा गर्नुपर्ने हुन्छ । प्रदेश संरचना बलियो नभएको र परीक्षाको गुणस्तर कायम गर्न नसक्ने भन्दै अझैसम्म प्रदेशलाई एसईईको पूर्ण अधिकार प्रदान गरिएको छैन । उत्तरपुस्तिका तयारी र परीक्षा सञ्चालन प्रदेशले गरे पनि प्रश्नपत्र छपाइ, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन लगायतका कार्य केन्द्रीयस्तरमा हुँदै आएको छ ।

कोभिड–१९ र त्यसपछिका लहरका कारण २०७६ र २०७७ सालको एसईई सञ्चालन भएनन् । २०७६ सालको एसईईका प्रश्नपत्र जलाइए भने २०७७ सालको एसईईका प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालयमा सुरक्षित राखिएको छ । ती प्रश्नपत्रलाई यसपटक प्रयोग गर्ने योजना भए पनि त्यसबारेमा अझै निर्णय भइसकेको छैन ।

डा. शर्माले आफूहरुसँग प्रश्नपत्रको बैँक रहेको र त्यसलाई प्रदेशलाई जिम्मा लगाउन सकिने बताउँदै वैशाखमा परीक्षा सञ्चालन भए पनि नयाँ प्रश्नपत्र तयार गर्न खासै समय नलाग्ने बताए । “नयाँ प्रश्न तयार गर्ने वा बैँकबाटै प्रयोग गर्ने भन्ने बारेमा यसै साता निर्णय हुनेछ” उनले भने ।   

A Levels MA
Thuprai - Books and E-books