एसईई प्रदेश सरकारले सञ्चालन गर्ने

काठमाडौँ — यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)  को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । 

मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसईई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ ।

'हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ', उनले भने,'उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्ने छ ।'नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ । यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्ने गर्दथ्यो । प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने नियन्त्रण कार्यालयमा आउने र समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने छ ।

सरकारले यस वर्षदेखि एसईई प्रदेशस्तरमा नै गर्ने भने तापनि आवश्यक तयारी नपुगेकाले नियन्त्रण कार्यालयलाई जिम्मेवारी दिइएको हो । यस वर्षको एसईई परीक्षा चैत १० गतेबाट हुँदैछ ।उनका अनुसार परीक्षामा करीब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन् । उनले अहिले प्रश्नपत्रको काम भइरहेको जानकारी गराए ।