After SEE Portal

बेपत्ता शिक्षकको खोजी र दोषीलाई कारबाहीको माग

Bridge Course

विभिन्न संघ संघठनले म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

म्याग्दीस्थित नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले प्रधानाध्यापक कार्कीको खोजी कार्यलाई तीव्रत दिई जोशीलाई कारबाहीको माग गरेका छन् ।

आइतबार बिहान ८ बजे घरबाट विद्यालय जान भनेर निस्किएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेका थिए  । प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता भएको र विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।

राससका अनुसार विभिन्न संघसंगठनले मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता कार्कीको खोजी गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुवेदीको नेतृत्वमा शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधिहरुले प्रशासनमा पुगेर ध्यानाकर्षण गराएको थियो । बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रधानाध्यापक कार्की साहित्यसँगै विभिन्नि सामाजिक सङ्घसंस्थामा आबद्ध छन् । ।

यसैगरी म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा, सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठ र पुलत्स्य साहित्य समाजका अध्यक्ष कृष्णबहादुर बानियाले मङ्गलबार नै संयुक्त विज्ञप्ति जारी गर्दै बेपत्ता कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रधानाध्यापक कार्कीलाई बेपत्ता बनाएको अभियोगमा प्रहरीले बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरेको छ । विद्यालयमा कार्यरत अन्य दुई कर्मचारीसँग पनि प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

आइतबार बगुवाखोलामै देखिए पनि पक्राउ परेका व्यक्ति घटनापछि हिँडेरै कुश्मा पुगेका बताइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले अनुसन्धानकै क्रममा रहेकाले हत्या अथवा बेपत्ता भन्ने खुलिनसकेको बताए । ‘घटनास्थलको प्रकृति हेर्दा कर्तव्य ज्यान गरेको जस्तो देखिन्छ’ उनले भने, ‘बेपत्ताको खोजीसँगै शङ्कास्पद व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।’

बेपत्ता कार्कीको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । नदी किनार र सम्भावित ठाउँमा निगरानी बढाइएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books