After SEE Portal

विद्यालयमा गैरकानुनी पाठ्यपुस्तक अध्यापन गरिँदै

Bridge Course

अङ्ग्रेजी शिक्षाप्रति भुतुक्क भएका निजी विद्यालयहरुले पुरानै पाठ्यपुस्तक अध्यापन गरिरहेको फेला परेको छ । निजी प्रकाशक र निजी विद्यालयबीचको मिलेमतोमा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ लाई ठाडो अवज्ञा गर्दै पुरानै पाठ्यपुस्तक अध्यापन भइरहेको छ । नियमन निकाय पाठ्यक्रम विकास केन्द्र उनीहरुको दादागिरी टुलुटुलु हेरेर बसिरहेको छ । 

गत २०७७ सालको शैक्षिक सत्रमा कक्षा १ मा तथा चालु शैक्षिक सत्रमा कक्षा २, ३ र ६ मा नयाँ पाठ्यक्रम लागु भएको छ । नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक समेत तयार गरिएका छन् तर आर्थिक मिलेमतोका कारण प्रकाशक र विद्यालयले अभिभावक तथा विद्यार्थीलाई पुरानै पाठ्यपुस्तक भिडाइरहेका छन् । विगतमा बिक्री नभएका पाठ्यपुस्तक निखार्ने दाउमा प्रकाशकहरु छन् भने निजी विद्यालयहरु आकर्षक कमिसनको प्रलोभन र अङ्ग्रेजीप्रतिको मोहले पुरानै पाठ्यपुस्तक भिडाइरहेका छन् ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागु गरिएको छ । सो तहमा नेपाली, अङ्ग्रेजी, गणित, हाम्रो सेरोफेरो र स्थानीय विषय अध्यापन गर्नुपर्ने वाध्यता राष्ट्रिय पाठ्यक्रम प्रारुपले गरिदिएको छ । सरकारले निर्धारण गरेको पाठ्यक्रमभन्दा फरक विषय निजी विद्यालयहरुले यतिबेला अध्यापन गरिरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको छ र निजी विद्यालयहरुले पुरानै पाठ्यपुस्तक किन्न लगाएका छन् । अभिभावक यस मामिलामा अनभिज्ञ हुँदा विद्यालयले थमाएका सूचीअनुसारका पाठ्यपुस्तक किनेका छन् ।

कक्षा १ देखि ३ सम्म विज्ञान विषय अध्यापन गर्न पाइँदैन तर विज्ञानका पाठ्यपुस्तक पनि भिडाइएको छ । हाम्रो सेरोफेरोमा विज्ञान, सामाजिक, संस्कार, संस्कृति लगायतका बारेमा सामान्य जानकारी दिइएको छ । सो विषय अनिवार्यरुपमा नेपाली भाषामा नै पठनपाठन गराउनुपर्दछ । तर निजी विद्यालयहरुले अङ्ग्रेजीको ‘सोसल स्टडी’ पाठ्यपुस्तक किन्न लगाएर अध्यापन गरिरहेका छन् । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सरकारले निर्धारण गरेकोभन्दा फरक पाठ्यपुस्तक अध्यापन गर्नु गैरकानुनी हुने बताउँदै भने, “केही प्रकाशकले अङ्ग्रेजी माध्यममा पाठ्यपुस्तक छापेको सूचना पाएका छौँ । अनुगमन गर्न कमिटी पनि गठन भएको छ । अभिभावक र विद्यालय सचेत नहुँदा सिर्जना भएको समस्या हो ।”

केन्द्रले कमिटी गठन गरे पनि हालसम्म अनुगमन थालेको छैन । कोभिड–१९ को दोस्रो लहरका कारण घरैबाट शिक्षा आर्जन गरिरहेकाले पाठ्यपुस्तक प्रयोगका बारेमा कसरी अनुगमन गर्ने भन्नेमा नै केन्द्र अलमलमा परेको देखिन्छ । पाठ्यपुस्तक प्रकाशक र बिक्रेता कहाँ छापा पारे पुग्ने भए पनि त्यस्तो गर्ने पक्षमा केन्द्र रहेको देखिदैन । केन्द्रका पदाधिकारी गैरकानुनी धन्धा भइरहेको थाहा हुँदाहुँदै पनि मौन रहँदा लुट गर्न खोज्नेहरुको मनोबल बढेको छ । असार १ गते केन्द्रले गोरखापत्रमा सूचना प्रकाशित गरेर सामाजिक विषयका पाठ्यपुस्तक अङ्ग्रेजी माध्यममा स्वीकृत नभएको आफ्नो कर्मको औपचारिकता पूरामात्र गरेको छ । ककसले यसरी गैरकानुनीरुपमा पाठ्यपुस्तक छापेका छन् भन्ने थाहा भए पनि मौखिक स्पष्टीकरण सोध्ने आँटसम्म गरेका छैनन् ।

कक्षा ६ मा पनि नयाँ पाठ्यक्रमअनुरुपको नेपाली भाषामा सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अनिवार्यरुपमा अध्यापन गर्नुपर्ने हुन्छ । यो पाठ्यपुस्तक पनि अङ्ग्रेजी माध्यममा नै पठनपाठन गरिरहेको पाइएको छ । निजी विद्यालयका सञ्चालकहरु आफ्ना विद्यार्थीले नेपाली माध्यममा सामाजिक शिक्षा बुझ्न नसक्ने तर्क गर्दै आएका छन् । उनीहरु यो विषय अङ्ग्रेजी माध्यममा लागु गराउन शक्ति केन्द्रमा निकै धाए पनि परिवर्तनको निर्णय गराउन सकेका छैनन् ।

देशभरका अधिकाँश पालिकाले अझैसम्म स्थानीय विषयका पाठ्यपुस्तक तयार गरेका छैनन् । यसले गर्दा विद्यालयहरूमा स्थानीय पाठ्यपुस्तक अध्यापन हुन सकेकाे छैन ।

निजी प्रकाशकहरुले थप पाठ्यसामग्रीका रुपमा विभिन्न विषयका पाठ्यपुस्तक केन्द्रबाट स्वीकृति लिने र त्यसलाई विद्यायमा पाठ्यपुस्तककै रुपमा प्रयोग गराउन सफल भइरहेका छन् । शिक्षा ऐनमा केन्द्रले तयार गरेको पाठ्यपुस्तक अनिवार्यरुपमा अध्यापन गर्नुपर्ने र आवश्यक परेमा थप पाठ्यसामग्री पनि अध्यापन गर्न सकिने कानुनी प्रष्ट व्यवस्था छ । तर प्रकाशक र निजी विद्यालयको मिलेमतोमा केन्द्रले तयार गरेको पाठ्यपुस्तकमध्ये नेपाली विषयको एउटा बाहेक अन्य सबै थप पाठ्यसामग्री नै मूल पाठ्यपुस्तकका रुपमा प्रयोग गरिँदै आएको छ । केन्द्रका महानिर्देशक न्यौपानेले थप पाठ्यसामग्री मूल पाठ्यपुस्तकका रुपमा प्रयोग गर्न नपाइने भन्ने कुरा बुझाउनु आवश्यक रहेको बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का सहअध्यक्ष डिके ढुङ्गानाले पाठ्यपुस्तक अपर्याप्त भएको र तैपनि हाम्रो सेरोफेरो अध्यापन गरिएको दावी गर्दै भने, “कतिपयले नेपालीमाध्यमबाट अङ्ग्रेजी माध्यममा पनि अध्यापन गरेका छन् । नेपालीमा पढाउन बानी पार्नुपर्ने छ । गत वर्ष पनि खासै कक्षा सञ्चालन हुन पाएन । यसपटक पनि त्यस्तै अवस्था छ । कक्षाकोठाभित्र पठनपाठन हुन थालेपछि पाठ्यपुस्तकमा देखिएका समस्या हट्ला ।” 

 

A Levels MA
Thuprai - Books and E-books