CMAT

१०५ विद्यालय भवन हस्तान्तरण

हेटौँडा, १२ पुस (रासस)ः भूकम्पबाट क्षतिग्रस्त मकवानपुरका १०५ विद्यालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले ती भवन विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

पाँच सय १६ विद्यालयमध्ये भूकम्पका कारण ४०९ विद्यालयमा क्षति पुगेको थियो । ती विद्यालयका दुई हजार ३१० कक्षाकोठा पूर्णरुपमा क्षति भएका थिए भने एक हजार ४५४ कक्षाकोठामा आंशिक क्षति पुगेको थियो । भूकम्प पुनःनिर्माण स्थापना दिवसका अवसरमा भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । 

जिल्ला आयोजना कार्यान्वयन एकाइले विद्यालयका भवनसम्बन्धी प्रमाणपत्रसमेत विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालय भवन हस्तान्तरण गर्दै जिसस प्रमुख खुलालले मकवानपुरमा अझै पनि निजी आवास पुनःनिर्माणमा समस्या रहेको बताउनुभयो । पुनःनिर्माण दिवसका अवसरमा उहाँले समस्या समाधान गरेर समयमै पुनःनिर्माण प्रक्रिया सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्लामा निजी आवासतर्फ ३३ हजार ९७४ घर पूर्ण क्षति भएको र हालसम्म २६ हजार ६१८ परिवारको अनुदान समझौता भएकामा पहिलो किस्ता पाउने २५ हजार ७९७, दोस्रो किस्ता १८ हजार ३१८ र तेस्रो किस्ता प्राप्त गर्ने ११ हजार ८५३ परिवार छन् । हालसम्म जिल्लामा निर्माण सम्पन्न घरधुरी ११ हजार ७५ रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।  

Thuprai - Books and E-books