After SEE Portal

पहिलोपटक सामुदायिक विद्यालयमा रोबोटिक ल्याब स्थापना

Bridge Course

नेपालमा पहिलोपटक सामुदायिक विद्यालयमा रोबोटिक ल्याब स्थापना गरिएको छ ।

रानीपोखरीको भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)मा रोबोट अध्ययन र अभ्यासका लागि रोबोटिक ल्याब स्थापना गरिएको हो । सो विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीले रोबोट विषय अध्ययन गर्नुका साथै बनाउने छन् ।

काठमाडौँ महानगरपालिकाको १४ लाख रुपियाँको आर्थिक सहयोगमा सो ल्याब स्थापना गरिएको हो । महानगरपालिकाले विद्यालयलाई ३८ लाख रुपियाँ उपलब्ध गराएकोमा रोबोटिक ल्याबबाहेक बाँकी रकम स्मार्ट बोर्ड खरिदमा खर्चिएको छ । विद्यालयले छ वटा स्मार्ट बोर्ड प्रयोगमा ल्याएको छ ।

विद्यालयमा एउटा कोठा रोबोटिक ल्याबका लागि छुट्टयाइएको छ । रोबोट निर्माण गर्न आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिनुका साथै रोबोटका बारेमा अध्यापन गर्न शिक्षकको प्रबन्ध गरिएको छ । विद्यार्थीले केही रोबोट तयार गरिसकेका छन् ।

रोबोटिक ल्याबको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज उद्घाटन गरे । उनले शिक्षामा लगानी बढाउँदै लगिने बताए ।

महानगरपालिकाको शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले महानगरपालिकाभित्रको एउटा सामुदायिक विद्यालयमा स्कुल साइन्स इनोभेसन सेन्टर स्थापना गर्न लागिएको जानकारी दिए । उनका अनुसार सो सेन्टरमा विद्यार्थी र शिक्षकले अनुसन्धान तथा अन्वेषणसम्बन्धी काम गर्नसक्नेछन् ।

हाइस्कुलका प्रधानाध्यापक शारदा पौडेलले चिनियाँ भाषाको अध्यापन पनि गर्ने भएको बताउँदै विद्यार्थीलाई विज्ञानसँग जोड्न यस्तो ल्याबको स्थापना गरिएको बताइन् ।

 

 

A Levels MA