A Levels MA

पारिश्रमिक पाँच पैसा !

महङ्गीले आकास छोएको युगमा पनि पारिश्रमिक पाँच पैसा भनेर सुन्दा आश्चर्यमा पर्नुहुन्छ होला । आश्चर्यमा नपर्नुहोस्, कक्षा १२ का विद्यार्थीको प्राप्ताङ्क कम्प्युटरमा समावेश (डाटा इन्ट्री) गर्नेलाई प्रति डाटा पाँच पैसा उपलब्ध गराउने गरिएको छ ।

उत्तरपुस्तिका परीक्षण भइसकेपछि विद्यार्थीले प्राप्त गरेका अङ्कलाई कम्प्युटरमा इन्ट्री गर्नुपर्ने हुन्छ । हरेक विद्यार्थीको हरेक विषयको डाटा इन्ट्री गर्न राष्ट्रिय परीक्षा बोर्डले आठ जना जनशक्तिको व्यवस्थापन गर्दै आएको छ ।

परीक्षा नियन्त्रक कृष्ण शर्माले प्रत्येक विद्यार्थीको एक विषयको डाटा इन्ट्री गरेवापत पाँच पैसा उपलब्ध गराउने गरिएको बताउँदै भने, “यो निकै कम पारिश्रमिक हो । यसलाई वृद्धि गर्नुपर्छ भन्दै आएको छु ।”

गोपनीयताका कारण बाहिरका जनशक्तिलाई यस कार्यमा परिचालन गर्न मिल्दैन । तसर्थ बोर्डभित्रका कम्प्युटर सेवासम्बन्धी कर्मचारीलाई परिचालन गर्ने गरिएको छ । डाटा इन्ट्री उनीहरुका लागि अतिरिक्त कार्य हो । कार्यालय समयमा इन्ट्रीसम्बन्धी काममा खटाउँदा समयमा नतिजा सार्वजनिक हुन नसक्ने हुँदा कार्यालय समयबाहेकमा उनीहरुलाई परिचालन गर्ने गरिएको छ । “अतिरिक्त समयमा काममा लगाइएन भने नतिजा समयमा सार्वजनिक हुनसक्दैन” उनले भने, “अतिरिक्त समयमा खटाएपछि पारिश्रमिक दिनुपर्छ । तर पाँच पैसा धेरै नै अपुग भएको अनुभव गर्दै आएका छौँ ।”

कक्षा १२ मा करिब पाँच लाख विद्यार्थी सहभागी हुन्छन् । उनीहरुले अध्ययन गर्नुपर्ने छ विषय र केहीले थप एउटा विषय लिएका हुन्छन् । ती सबै गर्दा करिब ४५ लाख उत्तरपुस्तिकाको डाटा इन्ट्री गर्नुपर्ने हुन्छ । करिब सवा दुई लाख रुपियाँ डाटा इन्ट्रीका लागि खर्च हुँदै आएको छ ।

कक्षा १० (एसईई)मा डाटा इन्ट्रीका लागि प्रतिविद्यार्थी प्रतिविषय २० पैसा उपलब्ध गराउने व्यवस्था छ ।

 

Thuprai - Books and E-books