A Levels MA

रहरै रहरमा एसईई

म्याग्दीका तीन महिलाले ४० वर्षपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् ।   बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट तीन जना प्रौढहरूले एसईई उत्तीर्ण गरेका हुन् ।हिजो प्रकाशन भएको एसईईको नतिजामा ६२ वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीया योगमाया गौतमले १.५५ र ४३ वर्षीया दिलशोभा पुनले २.१० जीपीए सहित एसईई उत्तीर्ण गरेका विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।

जलजला गाउँपालिका–३ वारीबेनीका मल्लले कक्षा ५ पढ्दा आमाको निधन भएपछि विद्यालय छाडेकी थिइन् । आमाको निधन भएपछि उनले पढ्ने रहर भएपनि पढ्न सकिनन् । ‘आमाको निधन भएपछि भाइबहिनी साना भएकाले पढ्न पाएको थिइनँ’, उनले भनिन्, ‘सामाजिक सङ्घसंस्थामा काम गर्दा पढाइको आवश्यकता महसुस गरेर उज्यालो विद्यालयमा पढेर एसइईमा सहभागी भएको थिए । सफल भएँ खुसी लागेको छ ।’

वारीबेनीको आमा समूह र विभिन्न उपभोक्ता समितिमा रहेर काम गरेकी मल्लले साथी भएमा माथिल्लो कक्षाको अध्ययनलाई निरन्तरता दिने बताइन् । उज्यालो वैकल्पिक विद्यालयबाट दोस्रो समूहमा पाँच जनाले फारम भरेकामा तीन जना सहभागी भएका थिए ।

विभिन्न कारणले बीचैमा पढाइ छाडेका औपचारिक शिक्षाबाट बञ्चित प्रौढहरूलाई १० कक्षासम्मको शिक्षाको अवसर दिलाउन विसं २०७३ देखि वैकल्पिक विद्यालय सञ्चालन गरेको छ ।राससका अनुसार गत वर्ष सो विद्यालयबाट नौ जना प्रौढ महिलाले एसईई उत्तीर्ण भएका थिए ।

विद्यालयमा अध्ययनरत आमाहरूले अङ्क अक्षर चिन्न, लेख्न पढ्न नसक्दा मोबाइल चलाउन, कतै जाँदा ठाउँ चिन्न र भेला बैठकमा सहभागी हुँदा हस्ताक्षर गर्न ल्याप्चे लगाउनुपर्ने समस्याबाट मुक्ति मिलेको बताएका छन् । हाल ४० जना अध्ययनरत विद्यालयमा सात जना सहजकर्ता छन् । मासिक रु ७५ हजार खर्च हुने विद्यालय सञ्चालनका लागि बेनी नगरपालिकाले सघाएको छ । नगरपालिकाको सहयोगका अतिरिक्त दाताले पनि सहयोग गर्दै आएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसईईमा जिल्लाबाट दुई हजार २४५ सहभागी भएका थिए । बेनी –९ गलेश्वरको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले जिल्लामै पहिलोपटक संस्कृति विषयबाट एसईईमा सहभागिता जनाएका थिए । उनीहरूले २.२५ देखि ३.० जीपीए ल्याएका छन् ।

Thuprai - Books and E-books