After SEE Portal

सत्यापनबेगर प्रमाणपत्रको समकक्षता प्रदान

Bridge Course

भारतका विभिन्न बोर्डका नक्कली शैक्षिक प्रमाणपत्रलाई आँखा चिम्लिएरै समकक्षता प्रदान गर्ने गरिएको पाइएको छ । विद्यार्थीले पेस गरेका ती शैक्षिक प्रमाणपत्रको सत्यापन नै नगर्ने र पेस गरिए लगत्तै समकक्षता प्रदान गर्ने गरिएको फेला परेको छ । यसले गर्दा केही समययता यो ‘व्यापार’ निकै फष्टाउन थालेको छ । यसमा पाठ्यक्रम विकास केन्द्रका कतिपय कर्मचारीको समेत मिलेमतो भएको आशङ्का गरिएको छ । यसरी समकक्षता दिलाउने ‘खेल’मा गिरोह निकै सक्रिय भएर लागेको एडुपत्रको खोजबाट पत्ता लागेको छ ।

भारतका विभिन्न विद्यालयका सेकेन्डरी लेभल (कक्षा १०) उत्तीर्ण गरेको प्रमाणपत्र नेपालमै नक्कली तयार गर्ने पनि गरिएको छ । कतिपय गिरोहले भारतबाट ल्याइदिने समेत गरेका छन् । यसरी ल्याएका प्रमाणपत्र ४० देखि ७० हजारमा किन्न पाइने गरेको छ । 

भारतको स्टेट बोर्ड अफ स्कुल एक्जामिनेसन (एसईई) एन्ड बोर्ड अफ हाइयर सेकेन्डरी एक्जामिनेसन तमिलनाडु, इन्डियाबाट ल्याइएका नक्कली प्रमाणपत्रलाई वैद्य तरिकाले प्रमाणीकरण नगरी समकक्षता दिइएको पाइएको छ ।

गत मङ्सिर २८ प्रदान गरिएको पाठ्यक्रम विकास केन्द्रको लोगोसहित पाठ्क्रम अधिकृत तारा पाण्डे तिवारीले हस्ताक्षर गरेको प्रमाणपत्र नक्कली पाइएको छ । प्रदान गरिएको प्रमाणपत्रमा पत्रसङ्ख्या २०७८÷७९ चलानी नं. १०२४ उल्लेख छ । जबकी उक्त चलानी नम्बरमा समकक्षता शाखामा फरक विद्यार्थीको नाम उल्लेख छ ।

 केन्द्रको लोगो प्रगोग गरेर नक्कली प्रमाणपत्र कहाँबाट वितरण हुन्छ भन्ने अनुसन्धान हुन सकेको छैन । त्यसरी वितरण गरिएको प्रमाणपत्र सक्कली नै भएको केन्द्रका अधिकृतहरूको दाबी छ । यसबाट यो विकृतिको लहरा निकै भित्रसम्म पुगिसकेको प्रष्ट हुन्छ ।

 

 

कक्षा १० को समकक्षता दिइएको उक्त प्रमाणपत्रमा भएको हस्ताक्षर आफ्नो भएको बताउँदै अधिकृत पाण्डेले भनिन्, “यो मितिमा दर्ता नम्बर १०२४ मा दिइएको प्रमाणपत्र कसको नाममा छ हेरेपछि थाहा हुन्छ । तर यो प्रमाणपत्र सक्कली नै हो ।”तमिलनाडुको उक्त बोर्डबाट लिएको सक्कली प्रमाणपत्रमा बोर्डको नाम स्पष्ट ‘स्टेट बोर्ड अफ स्कुल एक्जामिनेसन, तमिलनाडु’ लेखिने गरिएको छ तर उक्त दर्ता नम्बरको समकक्षता लिएका विद्यार्थी सुरेशकुमार मण्डलको प्रमाणपत्रमा ‘स्टेट बोर्ड अफ स्कुल एक्जामिनेसन (एसईई) एण्ड बोर्ड अफ हाइयर सेकेन्डरी एक्जामिनेसन तमिलनाडु, इन्डिया’ लेखिएको छ ।

सिधै हेर्दा नै नक्कली हो भन्न सकिने उक्त प्रमाणपत्रमा भएको अक्षरको फन्ट, कागज पनि केन्द्रको भन्दा फरक हुने गरेको छ ।

 पाठ्यक्रम विकास केन्द्रले आफ्नो अधिकारलाई मिचेर जापान जाने विद्यार्थीलाई दिएको ५० प्रतिशतभन्दा बढी समकक्षता नक्कली हुने गरेको केन्द्रका एक कर्मचारीले बताए । “नक्कली प्रमाणपत्रलाई सक्कली बनाइ कमाइ खाने समूह सक्रिय छ” उनले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “एक दुईवटा तपाईँहरूसँग पनि आइपुगेका होलान् । मिलेमतोमा नक्कलीलाई धमाधम सक्कली बनाइँदै छ ।”

अनलाइनबाट प्रमाणपत्र पेस गर्ने र नोटरी गर्नु नपर्ने भएपछि कीर्ते गर्न खोज्नेलाई निकै सजिलो बनेको छ । विगतमा नोटरी गर्दा नोटरी पब्लिकका कर्मचारीले नक्कली वा सक्कली प्रमाणपत्र केही हदसम्म पत्ता लगाउँथे र उनीहरुले नक्कली प्रमाणपत्रलाई नोटरी गर्न नसकिने जवाफ दिन्थे । अचेल नोटरी नै गर्नु नपर्ने भएपछि नक्कली प्रमाणपत्रको धन्दा चलाएका गिरोहलाई निकै सजिलो भएको । केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुङ्गानाले समकक्षता दिँदा प्रमाणीकरण गरेका प्रमाणपत्रलाई मात्र दिने गरेको दाबी गरे ।

निर्देशिका एउटा काम अर्को

माध्यमिक शिक्षा (कक्षा १० र कक्षा १२) सरह मान्यता निर्धारण निर्देशिका, २०७३ लाई सरकारले २०७५ सालमा मात्र संशोधन गरेको छ । धनिराम पौडेल शिक्षामन्त्री भएको बेला जारी गरिएको उक्त निर्देशिकाको परिच्छेद २ को मान्यता तथा समकक्षता निर्धारणका लागि पेस गर्नुपर्ने कागजातसम्बन्धी व्यवस्थाको ३ को (क) मा सम्बन्धित योग्यताका प्रमाणपत्रहरू (बोर्डबाट जारी भएको लब्धाङ्कपत्र उत्तीर्ण प्रमाणपत्र, ट्रान्सक्रिप्ट, विज्ञान विषय अध्ययन गरेकाको हकमा कक्षा ११ को मार्कसिटसमेत) नोटरी पब्लिकबाट प्रमाणित गराइएका प्रतिलिपिसहित आवेदन दिनुपर्ने व्यवस्था छ । तर, केन्द्रले अनलाइनबाट प्रमाणीकरण भएका प्रमाणपत्रलाई मात्र समकक्षता दिँदै आएको छ । निर्देशिका संशोधन नै नगरी नोटरी पब्लिकले प्रमणित गर्नुपर्ने प्रावधान हटाएर सिधैं अनलाइनबाट प्रमणीकरण गर्न थालेको छ ।

निर्देशिकालाई संशोधान नै नगरी समकक्षता प्रदान गर्दा नक्कली प्रमाणपत्रले वैद्यता पाइने कानुन व्यवसायीहरू बताउँछन् । प्रमाणपत्र बोकेर वकिलसम्म सिधै पुग्दा चोरीका प्रमाणपत्र बाहक केही हदसम्म डराउने गरेका थिए तर अब सिधै धन्दाकै रुपमा प्रमाणपत्र बिक्री हुने कानुन व्यावसायीहरू बताउँछन् ।

अनलाइनले झन सास्ती

केन्द्रमा दैनिक ५०–१०० जनाले समकक्षताका लागि आवेदन दिने गरेका छन् । समकक्षता लिने धेरै भारतका विभिन्न बोर्डबाट कक्षा १० वा सो सरह उत्तीर्ण गरेका विद्यार्थी आउने गरेको केन्द्रका सूचना अधिकारी ढुङ्गानाले बताए । उनका अनुसार समकक्षता लिने धेरै भारतका र थोरै अन्य देशका केही स्वदेश कै विभिन्न संस्थाबाट कक्षा १० वा सो सरह उत्तीर्ण गरेका विद्यार्थी आउने गरेका छन् ।

केन्द्रले अनलाइनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न थालेपछि विद्यार्थी तथा अभिभावकले झन् सास्ती भोग्नु परेको गुनोसो गरेका छन् । एकै दिनमा हुने काम पनि केन्द्रको सर्वरमा पटकपटक समस्या आउँदा कहिले कागजात अपलोड गर्न नसकिने, कहिले भौचरको पैसा खेर जाने गरेको विद्यार्थीको गुनासो छ ।

दुरदराजबाट समकक्षता लिन आएका विद्यार्थीलाई साइवर सञ्चालकले जनही पाँच सय रुपियाँ लिएर अनलाइन आवेदन बुझाइ दिने गरेका छन् । अनलाइनको पहुँच नपुगेका विद्यार्थीका लागि अझ सास्ती भएको हुँदा अनलाइन र अफलाइन दुवै माध्यमबाट आवेदन लिनु पर्ने विद्यार्थीको माग छ ।

A Levels MA
Thuprai - Books and E-books