A Levels MA

विद्यालय बन्द भएर घरमा बसेका बालबालिकालाई जीवनोपयोगी शिक्षा

शिक्षा कक्षाकोठामा  मात्र सीमित हुँदैन । त्यसैले खाली समयमा त्रसित नभइ अभिभाववकले जीवनोपयोगी शिक्षा दिनुपर्छ । विद्यालय बन्द हुनु स्वागत योग्य हो ।   कोरोना भाइरसको प्रकोपबाट त्रसित हुनुभन्दा आवश्यक  सावधानी अपनाई अभिभावकले बालबालिकासंग समय बिताउनु पर्छ ।

‘छोराका माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरुहुनुभन्दा त्यस्तै १२–१३ घण्टाअघि स्थगित भयो, अरुबेला पढ्न नमान्ने मेरो छोरो एसईईका लागि तीन महिनाअघि देखि विद्यालयकै संरक्षणमा बसेर पढ्दै थियो ।’ तेह्रथुम जलजले स्थायी घर भई हाल बालकोट भक्तपुर बस्दै आएका एक अभिभावकले भने, ‘शनिबार घर आएको मेरो छोरो रुघा लागेको छ भनेर स्कुल जान मानेको थिएन मैले फकाए मानेन, जबरजस्ती पठाए, केही दिन अगाडि नै एसईई स्थगित भएको भए मेरो छोरालाई यस्तो मानसिक तनाव हुने थिएन ।’

उनकै जस्तो कथा छ काभ्रेको ढुङ्खर्क घर भई हाल जडिबुटी बस्दै आएका अर्का अभिभावकको । उनी भन्छन्, ‘हामी सबैलाई कोरोना भाइरसको विश्वव्यापी प्रकोप थाहा थियो । विद्यालयहरू छुट्टि त भए अबको खाली समय कसरी छोराछोरीलाई बचाउने भन्ने चिन्ता झन बढेको छ ।’ उनी थप्छन्, ‘यसरी पुरै बन्द भएको समयमा बरु विभिन्न सञ्चार माध्यमबाट बालबालिकाका लागि उपयोगी  कार्यक्रम प्रचारप्रसार गरेर सचेतना अभिवृद्धि गरिदिए हुन्थ्यो  ।’

कक्षा १० भन्दा तल्ला कक्षामा पढ्ने बालबालिकाका अभिभावकलाई आफ्ना छोराछोरी कसरी जोगाउने भन्ने चिन्ता बढेको छ भने एसईई दिने बालबालिकाका अभिभावकलाई संक्रमणपछि सञ्चालन हुने एसईईमा नतिजा कमजोर हुनेमा चिन्ता बढेको छ । विद्यालय देखि विश्वविद्यालय बन्द गरिएको छ । यसले बालबालिकामा मनोवैज्ञानिक त्रास थपेको बेतासे माध्यमिक विद्यालय सिन्धुपाल्चोकका प्रधानाध्यापक ज्याम तामाङ बताउँछन् । ‘सबै केटाकेटी डराएका छन् उनीहरूको आत्मबल बढाउने तरिका खोज्न आवश्यक छ ।’ उनले भने, ‘अरुकेही गर्न नसके पनि सामाजिक सञ्जाल, टेलिफोन, सञ्चार माध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पाए राम्रो हुन्थ्यो ।’

परीक्षा दिन भनेर लत्ताकपडा, खाना खर्चसहित केही पैसा जोहो गरेर परीक्षा  केन्द्र पुगेका दुर्गमका विद्यार्थीलाई घर फर्कन नै समस्या भएको छ । परीक्षा स्थगित भएको सूचना केन्द्राध्यक्ष, स्थानीय सरकारलगायत केही प्रवुद्ध मानिएकालाई तत्काल प्राप्त गरेको भए पनि विद्यार्थीमा सूचना नपुगेर परीक्षा केन्द्र आसपासका स्थानमा पुगेका  थिए ।

परीक्षा रोकिएको कुरा थाहा नपाएका परीक्षार्थी जुम्ला कालिका मावि तलिकुडु परीक्षा केन्द्रमा पुगेका थिए । केन्द्राध्यक्ष मानबहादुर सिंह भन्छन्, ‘परीक्षा स्थगित भइसकेको छ, घर  जाउँ भन्ला दुःख माने । खाना खर्च, लत्ताकपडा बोकेर आएका उनीहरुलाई हिउँ छिचोलेर घर कसरी फर्कने भन्ने कुराले असाध्यै पिरोलिएका थिए ।’

स्थगन परीक्षाको मारमा विकट हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु,  कालिकोट  र सोलुखुम्बुको उत्तरी भेगका  परीक्षार्थीलाई मर्का परेका खुम्जुङ् माविका  प्रधानाध्यापक म्भु प्रसाद बाबास्तोलाले बताए । ‘कोरोना भाइरसको विश्वव्यापी प्रकोप सरकारलाई पहिल्यै थाहा थियो केही दिन अगाडि नै एसईई स्थगित भएको भए विद्यार्थीलाई सकस पर्ने थिएन ।’ उनले भने, ‘यो विदाको समयमा विद्यार्थीलाई कोरोना प्रभावबाट बच्न अपनाउने सावधानीका उपाय तथा व्यक्तिगत सरसफाइ र सामुदायिक सरसफाईको शिक्षा दिन आवश्ययक छ ।’

जुम्ला हुम्मला कालिकोट सोलुखुम्बु लगायतका विकट ठाउँबाट एक दिन लगाएर परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीलाई घर फर्कन  सकस भएको प्रधानाध्यापक बास्तोलाले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिने जोखिमबाट सबैलाई होशियारी अपनाउन सरकारले गरेको निर्णय  स्वागत योग्य भएपनि ढिला मात्र भएको उनले बताए ।

सरकारले विद्यालय शैक्षिक संस्था बन्द गर्ने तथा एसईई परीक्षा स्थगित गर्ने निर्णय स्वागत योग्य  भएको नेपाल अभिभावक संघका  अध्यक्ष धर्मदत्त देवकोटाले बताए । ‘खाली समयमा बालबालिकाले आमाबुबासंग बिताउनु, भान्सामा खाना पकाउन, खेतबारीका काम तथा व्यक्तिगत तथा पारिवारिक सरसफाइ गर्न अभिभावकले सिकाउनु पर्छ ।’ अध्यक्ष देवकोटाले भने, ‘ एसईई दिने बालबालिकालाई थप अभ्यास गर्न समय मिलेको छ, खाली समयमा अझ मेहनत गरेर राम्रो नतिजा ल्याउँन सक्छन् तर यो विश्वव्यापी प्रकोपबाट  बालबालिकालाई समूहमा घुमफिर गर्न भने दिनु हुँदैन ।’ 

पढाइ तथा सिकाइ भनेको कक्षाकोठामा  मात्र हुँदैन यो खाली समयमा जीवन जीउने शिक्षा बालबालिकालाई अभिभावकले दिन जरुरी छ  । कोरोनाको प्रभाव नेपालमा नदेखिएको हुँदा अभिभावक,विद्यार्थी शिक्षक तथा अन्य जो कोही पनि भयभित तथा त्रसित नहुन अध्यक्ष देवकोटाले सुझाए  ।

बालविकास केन्द्रदेखि विश्वविद्यालयको पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि सरकारले बन्द  गरिसकेको छ ।

यसका साथै  चैत्र ६ गतेदेखि १७ गतेसम्म हुने भनिएको एसईई परीक्षा लगायत विश्वविद्यालयका परीक्षा लगायत सबै शैक्षिक कार्यक्रम् स्थगित भएका छन् ।

Thuprai - Books and E-books