After SEE Portal

विद्यालय विकास प्रस्तावका आधारमा प्रअ नियुक्ति थालियो

Bridge Course

कोहलपुर नगरपालिकाले विद्यालय विकास प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।

सम्बन्धित विद्यालयका योग्यता पुगेका सबै शिक्षकले यसका लागि प्रतिस्पर्धा गर्न पाउने छन् । 

कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्तकुमार पौड्यालले शिक्षा नियमावलीमा भएका व्यवस्थाअनुसार प्रधानाध्यापक नियुक्ति प्रक्रिया थालिएको बताउँदै भने, “योग्य प्रधानाध्यापक छनोट गर्न यस्तो विधि अगाडि बढाएका हौँ ।”

शिक्षा नियमावली, २०५९ को नियमावलीमा विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट दरखास्त आह्वान गर्नसकिने व्यवस्था छ । जुन तहका विद्यालय हो सोही तहका शिक्षकले विद्यालय व्यवस्थापन समितिसमक्ष विद्यालय विकास प्रस्ताव पेश गर्न पाउने स्पष्ट व्यवस्था छ । 

शिक्षक छनोट समितिले तोकिएका आधारमा मूल्याङ्कन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ । यसरी सिफारिस गरिएका व्यक्तिलाई तत्कालीन अवस्थामा जिल्ला शिक्षा अधिकारीले १५ दिनभित्र नियुक्ति दिनुपर्ने व्यवस्था थियो । जिल्ला शिक्षा कार्यालय खारेज भई हाल सोको सट्टामा शिक्षा विकास तथा समन्वय एकाइ गठन भएकाले सो एकाइ प्रमुखले नियुक्ति दिनुपर्ने व्यवस्था रहेको छ ।

एकाइको अधिकारलाई पालिकाले हनन् गर्न खोजिएको होइन र ? भन्ने जिज्ञाशामा नगरपालिकाका शिक्षा प्रमुख पौड्यालले विद्यालय तहसम्मको शिक्षाका अधिकार स्थानीय तहमा हस्तान्तरण भएको र विद्यालय व्यवस्थापन तथा सुधारका कार्यमा राज्यले कार्यान्वयनमा ल्याएका कानुन पालना गराउन सकिने बताए । यस कार्यलाई लिएर बाँकेको एकाइले आफ्नो अधिकार हस्तक्षेप भएको गुनासो गरेको बुझिएको छ ।

कोहलपुर नगरपालिकाभित्र २९ वटा सामुदायिक विद्यालय छन् । नगरपालिकाले नयाँ विधि र प्रक्रियाबाट प्रधानाध्यापक नियुक्ति थालेपछि विद्यालयहरुले स्थानीय सञ्चारमाध्यममार्फत आवेदन आह्वान गर्न थालेका छन् । उनले सञ्चारमाध्यममार्फत आवेदन आह्वान गरिए पनि सम्बन्धित विद्यालयका शिक्षकलेमात्र आवेदन दिन सक्ने स्पष्ट गरे ।

विगतमा माध्यमिक तहको विद्यालयमा आफ्ना मानिसलाई प्रधानाध्यापकको जिम्मेवारी दिन प्राथमिक तहको दरबन्दीका शिक्षकलाई समेत प्रधानाध्यापक बनाइएका छन् । “माध्यमिक तहको विद्यालयमा माध्यमिक तहकै शिक्षक प्रधानाध्यापक हुनुपर्दछ” उनले थपे, “इच्छुक शिक्षक प्रतिस्पर्धामा उत्रिन सक्छन् । विगतमा सबै शिक्षकले यस्तो अवसर पाउँदैन थिए ।”

यसरी छनोट भएका प्रधानाध्यापकसँग पाँच वर्षका लागि करार गरिनेछ । निजले गरेको करारबमोजिम कार्यदक्षता प्रदर्शन गर्न नसकेमा तत्काल हटाउनसक्ने व्यवस्था छ ।

यसैबीच सो नगरपालिकाले स्थानीय पाठ्यक्रमको विषयका रुपमा कम्प्युटर र अङ्ग्रेजी भाषा विषय शिक्षण गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो स्रोतको उपयोग गरी विद्यालयले आफ्नो विद्यालयको स्थानीय पाठ्यक्रम आफैले बनाउन भनेको छ ।

यसैगरी सबै विद्यालयलाई तत्काल सामाजिक परीक्षण गराउन र दसैँ अगाडि नै पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । शिक्षा प्रमुख पौड्यालका अनुसार भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न असम्भव भएमा गृहकार्य वा कार्यपुस्तिका दिएर घरैबाट लेखेर ल्याउने गरी परीक्षा सञ्चालन गर्न भनिएको छ ।

A Levels MA