उच्च शिक्षाका युगपुरुष: प्रा. डा. सुरेशराज शर्माको अवदान

यही साता नेपाली शिक्षा क्षेत्रले आफ्ना एक सर्वोच्च मार्गदर्शक, दूरदर्शी शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालय (केयु) का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई गुमाएको छ। ८६ वर्षको उमेरमा उहाँको भौतिक बिदाइ भएसँगै नेपालमा गुणस्तरीय, स्वायत्त आधुनिक उच्च शिक्षाको एउटा स्वर्णिम युगको अन्त्य भएको महसुस सवैतिर गरिएको छ। तर, उहाँले धुलिखेलको रुखो पाखामा कोरेको शैक्षिक खाका र नेपाली शिक्षा प्रणालीमा भित्र्याएको अनुशासन तथा दूरदर्शिता युगौँसम्म भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहनेछ। डा. शर्मा केवल एक प्रशासक वा उपकुलपति मात्र हुनुहुन्नथ्यो तर नेपालको उच्च शिक्षालाई परम्परागत ढाँचाबाट मुक्त गराई आधुनिकता र व्यावहारिकतातर्फ मोड्ने एक साहसी अभियन्ता पनि हुनुहुन्थ्यो।

रसायनशास्त्रमा विद्यावारिधि (PhD) गर्नुभएका डा. शर्माले आफ्नो शैक्षिक यात्रा त्रिभुवन विश्वविद्यालयको अध्यापनबाट सुरु गर्नुभएको थियो। शिक्षालाई सिद्धान्तमा मात्र सीमित नराखी समाजको वास्तविक आवश्यकतासँग जोड्नुपर्छ भन्ने उहाँको गहिरो मान्यता थियो। सरकारी निकाय र शैक्षिक प्रशासनिक संरचनामा रहेर दशकौं काम गर्दा उहाँले नेपाली शिक्षा प्रणालीका चुनौतीहरूलाई नजिकबाट नियाल्नुभयो।

(Photo Source: Prof Dr Bivek Baral’s Facebook Post)

नेपालमा प्राविधिक शिक्षा र व्यावसायिक तालिमको महत्त्वलाई बुझेर तत्कालीन् सरकारले जब प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को परिकल्पना गर्‍यो, डा. शर्मा त्यसको पहिलो कार्यकारी निर्देशक बन्नुभयो। CTEVT मार्फत उहाँले देशभरका युवाहरूलाई स्वरोजगार बनाउने सीपमूलक शिक्षाको बलियो जग बसाल्नुभयो। प्राविधिक सीपले मात्र नयाँ समाजको आर्थिक रूपान्तरण गर्न सक्छ भन्ने उहाँको सोच आज पनि उत्तिकै सान्दर्भिक छ।

असम्भवलाई सम्भव बनाउने यात्रा

विसं २०४६ को प्रजातन्त्र पुनर्वहालीपछि नेपालमा बहुदलीय व्यवस्थासँगै शैक्षिक क्षेत्रमा पनि नयाँ सोचको आवश्यकता खड्किएको थियो। सरकारी विश्वविद्यालयहरूमा बढ्दो राजनीतिक हस्तक्षेप, अनिश्चित शैक्षिक पात्रो र प्रशासनिक ढिलासुस्तीका कारण प्रतिभाशाली युवाहरू विदेश पलायन हुन थालेका थिए। यही पृष्ठभूमिमा साहसी डा. शर्मा र उहाँका सहकर्मीहरूले एउटा क्रान्तिकारी अवधारणा अघि सार्नुभयो—गैर-सरकारी, गैर-नाफामूलक र सामुदायिक पहलमा स्वायत्त विश्वविद्यालयको स्थापना गरेर।

२०४८ साल (सन् १९९१) मा संसद्‌बाट काठमाडौं विश्वविद्यालय ऐन पारित भएसँगै नेपालमा उच्च शिक्षाको नयाँ इतिहास रचियो। डा. शर्मा यस विश्वविद्यालयको संस्थापक उपकुलपति पनि नियुक्त हुनुभयो। काठमाडौंको सुविधासम्पन्न ठाउँ छाडेर काभ्रेको धुलिखेलस्थित विकट र सुनसान डाँडामा विश्वविद्यालय बनाउने उहाँको निर्णयलाई सुरुमा धेरैले 'अव्याहारिक' र 'जोखिमपूर्ण' भनेका थिए।

तर, डा. शर्माको दृढ इच्छाशक्ति अगाडि ती चुनौतीहरू टिक्न सकेनन्। उहाँको सोच स्पष्ट थियो—अध्ययन र अनुसन्धानका लागि शान्त, प्राकृतिक र राजनीतिक कोलाहलमुक्त वातावरण चाहिन्छ। आज धुलिखेलको त्यो डाँडा विश्वस्तरीय शैक्षिक केन्द्रका रूपमा विकसित भएको छ, जसको श्रेय डा. शर्मा र उहाँका साथीहरुका अदम्य आँट र दूरदर्शितालाई जान्छ।

शैक्षिक अनुशासन र 'केयु मोडल'

डा. शर्माले सन् १९९१ देखि २०१२ सम्म निरन्तर २१ वर्ष उपकुलपतिका रूपमा काठमाडौं विश्वविद्यालयको नेतृत्व गर्नुभयो। उहाँको कार्यकालमा स्थापित 'केयु मोडल' नेपाली शिक्षा क्षेत्रका लागि एउटा उदाहरणीय मानक बन्यो। राजनीतिमुक्त प्राङ्गण थियो केयु, विश्वविद्यालयलाई दलीय राजनीतिको अखडा बन्न नदिन उहाँले कहिल्यै सम्झौता गर्नुभएन। प्राध्यापक र विद्यार्थीहरूलाई अध्ययन-अनुसन्धानमा मात्र केन्द्रित गराउने वातावरण उहाँले निर्माण गर्नुभयो। देशमा जस्तोसुकै राजनीतिक अस्थिरता वा बन्द-हड्ताल भए पनि केयुका कक्षाहरू कहिल्यै रोकिएनन्। समयमै परीक्षा र समयमै नतिजा प्रकाशन गर्ने परिपाटी (कोभिड-१९ को बेला पनि) बसालेर उहाँले विद्यार्थी र अभिभावकमा ठूलो विश्वास जगाउनुभयो।

इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र चिकित्साशास्त्र जस्ता क्षेत्रमा केयुले छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको साख कमाउन सफल भयो। विशेष गरी धुलिखेल अस्पतालसँगको सहकार्यमा सुरु गरिएको मेडिकल शिक्षा र स्थानीय जलविद्युत् प्रविधिसँग जोडिएको इन्जिनियरिङ अध्ययनले देशको विकासमा प्रत्यक्ष योगदान पुर्‍यायो।

उपकुलपतिको उच्च पदमा रहेर पनि डा. शर्माको सादगी र नम्रता अतुलनीय थियो। उहाँ विश्वविद्यालयको प्रशासकीय भवनमा मात्र सीमित रहनुभएन; दैनिकजसो अफिसमा उपलब्ध भएर विद्यार्थीहरूसँग कुराकानी गर्ने, प्राध्यापकहरूका समस्या सुन्ने र निर्माण कार्यको आफैँ निरीक्षण गर्ने उहाँको राम्रो बानी थियो। उहाँ पदबाट हटिसकेपछि पनि विश्वविद्यालयको बोर्ड अफ ट्रष्टीमा रहेर निरन्तर अभिभावकीय भूमिका निर्वाह गरिरहनुभयो। उहाँका लागि काठमाडौं विश्वविद्यालय केवल एउटा संस्था थिएन, आफ्नो रगत र पसिनाले सिँचित गरेको मुटुको टुक्रा, आफ्नै सन्तान जस्तै थियो।

हाम्रो दायित्व

प्रा. डा. सुरेशराज शर्माको निधनले नेपाली शिक्षा क्षेत्रमा एउटा ठूलो शून्यता छाडेको छ। तर, उहाँले छोडेर जानुभएको शैक्षिक विरासत भने अमर छ। आज नेपालका हजारौँ युवाहरू आफ्नै देशमा उच्च गुणस्तरीय शिक्षा पाएर विश्वका शीर्ष मञ्चहरूमा प्रतिस्पर्धा गरिरहेका छन् भने त्यसको जगमा डा. शर्माको दृढ संकल्प लुकेको छ।

उहाँप्रतिको सच्चा श्रद्धाञ्जली तिनै सिद्धान्त र मूल्यहरूलाई निरन्तरता दिनुमा हुनेछ, जुन उहाँले जीवनभर जगेर्ना गर्नुभयो, स्वतन्त्र रहेर विश्वविद्यालयहरू लाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु, शैक्षिक गुणस्तरमा सम्झौता नगर्नु र युवाहरूलाई देश निर्माणको साझेदार बनाउनु धेरै चुनौतिपूर्ण थियो। सुरेश सर, तपाईँले बालेको ज्ञानको दीपले नेपाली शिक्षाको गोरेटोलाई सधैँ उज्यालो बनाइरहनेछ। तपाईँको योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ। भावपूर्ण श्रद्धाञ्जली!

निष्ठावान् व्यक्तित्व र युगौँसम्म रहने विरासत

उपकुलपतिको उच्च ओहोदामा रहँदा पनि उहाँको जीवनशैली अत्यन्त सादा र अनुकरणीय थियो।

प्रा. डा. सुरेशराज शर्माको भौतिक अवसानले नेपाली शिक्षा जगत्‌मा एउटा अपूरणीय शून्यता ल्याएको छ। तथापि, उहाँले स्थापना गर्नुभएको संस्था, उहाँबाट कोरिएका शैक्षिक मानकहरू र उहाँले सिर्जना गर्नुभएको रोजगारीको अवसरले नेपाली समाजलाई अनवरत सेवा दिइरहनेछ। विश्वविद्यालयहरूलाई दलीय राजनीतिबाट मुक्त राख्दै गुणस्तरीय शिक्षा र रोजगारीको केन्द्र बनाउन सक्नु नै उहाँप्रतिको सच्चा स्नेह हुनेछ। शिक्षाका यी महान् सादक ऋषि प्रति भावपूर्ण श्रद्धाञ्जली!

 

 

Degrees offered in nepal
Counseling