जुम्लाको पातारासी गाउँपालिकाले चिकित्सक बनाउन लगानी गर्ने

जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । यहाँका आठवटा स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो । 

गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिनुभयो । चालू आवमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । 

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ । 

उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम शुरु गरेको जनाएको छ । सातवटामा विभाजित पातारासी गाउँपालिकामा समुन्द्र सतहदेखि करीब तीन हजार २०० मिटरसम्मको उचाइमा रहेको छ । 

यहाँको कूल घरधुरी तीन हजार १७४ मा १७ हजार १३५ जनसङ्ख्या रहेको छ । भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि पातारासी गाउँपालिकाको पर्यटकीय, व्यावसायिक, वातावरणीयलगायत विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको सूचना अधिकारी प्रेमबहादुर शाहीले बताउनुभयो । 

Thuprai - Books and E-books